Logo

पार्टी प्रवेश गर्नेहरुको लर्को, नयाँ शक्तिका जिल्ला इन्चार्जसहित १६ जना वाम गठबन्धनमा पसे

स्तावेज संवाददाता कार्तिक २८ गते मंगलवार २०७४ ,रसुवा – नयाँ शक्ति पार्टी रसुवाका जिल्ला इन्चार्ज तेम्ब्रेल तामाङसहित नयाँ शक्तिका १६ जना नेता तथा कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका छन् । नयाँ शक्तिका केन्द्रिय सचिवालय सदस्य रहेका तामाङ लोकतान्त्रिक गठबन्धनका समानुपातिक बन्दसूचिका उम्मेदवार समेत रहेको बताइएको छ । पार्टी गठबन्धनमा जानुभन्दा पहिले जिल्लामा उठ्ने तीन जना उम्मेदवारको सूचिमा उहाँको नाम परेको थियो । 

प्रदेश ‘ख’ का लागि प्रत्यक्ष उम्मेदवारको सूचिमा परेका तामाङले गठबन्धनपछि टिकट खोसिएकोमा सामाजिक सञ्जाल फेसबुक मार्फत असन्तुष्ट व्यक्त गर्दै आउनुभएको थियो । २०७० सालको चुनावमा ताम्सालिङ् राष्ट्रिय दलबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका तामाङ माओवादीबाट नयाँ शक्ति अलग भएपछि उक्त पार्टीमा प्रवेश गर्नुभएको थियो । 

नयाँ शक्ति पार्टी र नेपाली कांग्रेसबिच भएको गठबन्धनप्रति असन्तुष्ट बनेका नयाँ शक्तिका नेता तथा कार्यकर्ताले पार्टी छाड्ने क्रम बढेपछि पार्टी कमजोर बन्दै गएको छ । स्थानीय तहको चुनावमा पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्ष जितेको क्षेत्रमा नेता तथा कार्यकर्ताले धमाधम पार्टी छाड्न थालेपछि चुनाव जित्नका लागि निकै कसरत गर्नुपर्ने देखिएको छ । 

राजनीतिक स्थायित्वसहितको आर्थिक सम्बृद्धि वाम गठबन्धनबाट सम्भव हुने देखेपछि आफूहरु गठबन्धनमा प्रवेश गरेको अपिलपत्रमार्फत जिल्ला इन्चार्ज तामाङले जानकारी दिनुभयो । 

तामाङको नेतृत्वमा नयाँ शक्ति महिला केन्द्रिय सचिवालय सदस्य तथा रसुवा जिल्ला सचिवालय सदस्य चमेली विक शिला, नयाँ शक्ति शिक्षक समाज नेपालका केन्द्रिय परिषद् सदस्य शिशिर न्यौपाने, नयाँ शक्ति रसुवा-काठमाण्डौ सम्पर्क संयन्त्रका कार्यवाहक अध्यक्ष उदय घिमिरे, नयाँ शक्ति जिल्ला कार्यकारिणी सदस्य भिम तामाङ, जीवन सुनुवार, रसुवा–काठमाडौ सम्पर्क समितिका सहसचिव चेनजेन तामाङ लगायतका नेता तथा कार्यकर्ता गठबन्धनमा प्रबेश गरेका हुन् । भक्तपुरमा मंगलबार आयोजित कार्यक्रममा उनीहरु वाममा प्रवेश गरेका हुन् । 

 

प्रतिक्रिया दिनुहोस्