Logo

लास भेगस गोलीकाण्ड – को थिए आक्रमणकारी?

स्तावेज, आश्विन १७ गते मंगलबार २०७४ – अमेरिकाको लास भेगसमा भयानक आक्रमण गर्ने स्टिभन प्याडक एक अवकाश प्राप्त लेखापाल थिए।अधिकारीहरुका अनुसार ६४ वर्षीय स्टिभनले विमान चलाउने र शिकार गर्ने अनुमति पनि पाएका थिए।स्टिभनका एक पूर्व छिमेकीका अनुसार उनलले जुवाको खेल्ने गर्थे र उनी अनौठो स्वभावका थिए । स्टिभनलाई पहिल्यैदेखि कुनै मानसिक समस्या हुनसक्ने एकजना स्थानीय अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन्।

स्टिभनका भाइ एरिक प्याडकले बताए अनुसार एफबीआइको खोजी सूचीमा परेका उनीहरुका बुवा ब्यांक लुटेरा थिए र एक पटक जेलबाट भागेका थिए।आफ्ना दाइ गोलीकाण्डमा संलग्न भएको सुनेर आफूहरु स्तब्ध भएको एरिकले पत्रकारहरुलाई बताए । दाइले त्यसो गर्नुको कारण आफूहरुलाई थाहा हुन नसकेको एरिकले उल्लेख गरे।

एरिकले भने, “उनले भिडिओ पोकर खेल्थे र डुंगाबाट शयर गर्न रुचाउंथे।”यद्धपि उनी बन्दुकको शौकिन नभएको र कुनै सैन्य पृष्ठभूमिको पनि नभएको एरिकले बताए। एनबीबीसी न्यूजका अनुसार स्टिभनले हालै जुवा खेल्नका लागि आफ्नो ब्यांक खाताबाट हजारौं डलर झिकेका थिए।

जुवामा उनले जिते वा हारेको स्पष्ट भइसकेको छैन।स्टिभनका अर्का भाइ ब्रुसका अनुसार उनले आवास भवनबाट पैसा कमाएका थिए।खानतलासी गर्दा स्टिभनको घरबाट १८ वटा बन्दुक, विस्फोटक पदार्थ र हजारौं राउण्ड गोली फेला पारिएको अधिकारीहरुले बताएका छन् ।

प्याडकले लास भेगस शहरस्थित एउटा होटलको ३२ औं तल्लामा रहेको कोठाबाट त्यहाँ नजिकै आयोजित एक सांगीतिक कार्यक्रम हेर्न भेला भएका भीडमाथि गोली चलाएका थिए । आधुनिक अमेरिकी इतिहासमै सबैभन्दा खराब गोलीकाण्ड भनिएको उक्त घटनामा मारिनेको संख्या ५९ पुगेको प्रहरीले जनाएको छ। घटनामा अन्य ५०० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीले घटनास्थललाई घेरा हालेपछि प्याडकले आफैंलाई मारेका थिए।

घटनास्थलबाट थप १० वटा राइफल फेला पारिएको थियो । अधिकारीहरुका अनुसार बन्दुकधारी र अन्तर्राष्ट्रिय लडाकु समूहबीच कुनै सम्बन्ध देखिएको छैन । प्याडकले हत्या गर्नुको उद्देश्य थाहा हुन नसकेको र विगतमा उनी कुनै आपराधिक क्रियाकलापमा संलग्न नरहेको अधिकारीहरुले बताएका छन् । घटनापछि राष्ट्रपति डोनल्ड ट्रम्पले एकता र शान्तिका लागि अपील गर्दै उक्त गोलीकाण्डलाई ‘दुष्टताले भरिपूर्ण क्रियाकलाप’ भनेका छन्।

खानतलासी गरेका अधिकारीहरुका अनुसार स्टिभनको घर चिटिक्क परेको र सफासुग्घर पाइएको छ । उनी आफ्नी महिला साथीसँग घरमा बस्दै आएका थिए र हाल ती महिला अमेरिका बाहिर रहेको बताइएको छ । उनकी अर्की पूर्व छिमेकीले वाशिङटन पोस्ट पत्रिकालाई बताए अनुसार आफ्नी महिला साथीसँग बस्दै आएका स्टिभन प्रायः शान्त देखिन्थे ।

   बीबीसी 

प्रतिक्रिया दिनुहोस्