Logo

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दशैँअघि नै ८० शय्या थपिने

स्तावेज भाद्र ३० गते शुक्रवार २०७४ ,चितवन- बिरामीको चाप अत्यधिक बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दशैँअघि नै ८० शय्या थप गरिने भएको छ। वि.सं २०५७ मा क्यान्सर उपचारमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना भएको यस अस्पतालमा हाल १ सय ९४ शय्या सञ्चालनमा छ । 

अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार अस्पतालमा भर्ना गर्नुपर्ने आधा बिरामी श्ययाको अभावमा फर्कनुपरेको छ । शुरुमा चीन सरकारको सहयोगमा अस्पताल स्थापना भएको हो । हाल श्यया थपका लागि नेपाल सरकारको रु ६० करोडको लागतमा आधुनिक अस्पताल भवन बन्दैछ । सोही भवनमा थप २०० शय्या अस्पताल सञ्चालन गर्ने लक्ष्य राखिएको छ। 

सो भवनको निर्माण सम्पन्न भएको भागमा यही असोज १० गतेदेखि थप ८० श्यया सञ्चालनमा ल्याउन लागिएको कार्यकारी निर्देशक आचार्यले बताए। सोही दिन अस्पतालको १८ औँ वार्षिकोत्सव पर्दछ भने १३ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस पनि पर्दछ । यही अवसरमा पहिलो चरणको श्यया थप गरिन लागेको हो । सरकारले भवन निर्माण गरिदिएको भए पनि जनशक्ति भने आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न लागिएको आचार्यले बताए। 

यस अस्पतालमा वर्षेनी उपचारका लागि आउने बिरामीको संख्या बढ्दो छ । सन् २०१६ मा एकलाख २१ हजार १३५ जनाले अस्पतालबाट बहिरंग सेवा लिएका थिए, जसमध्ये चार हजार ७७५ क्यान्सरका बिरामी रहेको अस्पतालले जनाएको छ। 

सन् २०१५ मा चार हजार ५ सय ८१ क्यान्सरकासहित एकलाख १३ हजार ७ सय ९९ र सन् २०१४ मा चार हजार ४ सय एक क्यान्सरकासहित एक लाख १२ हजार ४ सय ७६ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए। सन् २०१६ को तथ्यांक अनुसार नयाँ थपिएका क्यान्सरका बिरामीमा सबैभन्दा बढी पाठेघरका ६०५, दोस्रोमा फोक्सोका ५९२ र तेस्रोमा स्तनका ४६८ जना रहेका छन् । 

अस्पतालले एक वर्षपछि मात्र तथ्यांक संकलन गरी अन्तिम रुप दिने भएकाले सन २०१६ को तथ्याँक हाल सार्वजनिक गरिएको हो । यो अस्पतालमा नेपालका ७५ जिल्ला र भारतबाट पनि उपचारका लागि आउने गर्दछन् । सन् २०१६ को तथ्यांक अनुसार सबैभन्दा कम रसुवाका एक जनाले उपचार सेवा लिएका छन् भने सबैभन्दा बढी चितवनका चार हजार ६६१ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । त्यस वर्ष भारतबाट आएका ५४८ जनाले उपचार सेवा लिएका थिए ।

      रासस 

प्रतिक्रिया दिनुहोस्