Logo

बिनाअनुमति जताततै सीसीटीभी राख्नेको बिगबिगी

स्तावेज भाद्र ३० गते शुक्रवार २०७४ – राजधानीमा अधिकांश कार्यालय, सपिङ मल, बिजनेस कम्पप्लेक्स, रेस्टुरेन्ट, पसलदेखि चोक–चोकमा सीसीटिभी देख्न सकिन्छ । काठमाडौं मात्र होइन, उपत्यकाका अन्य दुई जिल्ला ललितपुर र भक्तपुरमा पनि सीसीटीभी जडान धेरैतिर छ । तर यसको प्रयोगका लागि कानुनी रूपमा अनुमति लिने भने निकै कम छन् । बिना अनुमति सीसीटिभी जडान गर्नु गैरकाननी त हो नै,बिध्युतीय कारोबार ऐनअनुसार कारबाही पनि हुन्छ । तर पनि सम्बन्धित निकायले गैरकानुनी रूपमा सीसीटीभी प्रयोग गर्नेमाथि कारबाही गर्नेतर्फ कुनै चासो दिएको छैन । 

काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा डेढ दर्जनभन्दा कमले मात्रै अनुमति लिएका छन् । काठमाडौं प्रशासनका अनुसार सीसीटीभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७३ मंसिर अन्तिममा जारी भएदेखि अहिलेसम्म १२ संस्थाले मात्र जडान अनुमति लिएका छन् । ‘एनएमबी, एनआईसी, एसबीआईजस्ता बैंक छन्,’ प्रशासकीय अधिकृत अरुण सापकोटाले भने, ‘बोटलर्स नेपाल लगायत केही व्यावसायिक संगठनले पनि अनुमति लिइसकेका छन् ।’

सीसीटीभी जडान गर्न जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने गरी जारी भएको कार्यविधि पालना निकै कम देखिएको छ । अनुमति बाध्यकारी बनाए पनि कारबाहीको व्यवस्था नभएको कर्मचारी बताउँछन् । अब बजार अनुगमनकै क्रममा सीसीटीभी अनुमति पनि हेरिने र नलिएको खण्डमा बिध्युतीय कारोबार ऐन/२०६३ बमोजिम कारबाही गरिने अधिकृत सापकोटाले बताए । 

भक्तपुरमा पनि जडान अनुमति लिने कम छन् । जिल्ला प्रशासन भक्तपुरको तथ्यांकमा जम्मा ४ संस्थाले जडान अनुमति लिएको देखिन्छ । ‘अनुमति लिने दुइ सरकारी कार्यालय, एउटा सहकारी र एउटा बैंक छन्,’ कर्मचारी रामकुमार लम्सालले बताए । ललितपुरमा भने भैंसेपाटीको एक व्यापारिक प्रतिष्ठानले मात्र अनुमति लिएको छ । ‘सोध्न आउँछन्, जानकारी लिएर जान्छन्,’ कर्मचारी विष्णु थापाले भने, ‘अहिले २/३ वटाले निवेदन दिएका छन् ।

उनीहरूको अनुमति दिने प्रक्रियामा छ ।’ ललितपुरका प्रत्येक मल, पसल तथा अन्य स्थानमा पनि सीसीटीभीको प्रयोग भइरहे पनि अनुमति लिने निकै कम भएको र अब अनुगमन गरिने थापाले बताए । पहिलेदेखि नै सीसीटीभी जडान गरिएको भए पनि अनुमति लिनुपर्ने कार्यविधिमा उल्लेख छ । अनुगमनको जिम्मा पनि जिल्ला प्रशासनलाई दिइएको छ । तर जानकारी अभावले निकै कमले अनुमति लिएको कर्मचारीको भनाइ छ ।

बैंक, वित्तीय संस्था, सुनचाँदी तथा बहुमूल्य सामानको कारोबार हुने स्थानमा अनिवार्य रूपमा सीसीटीभी जडान गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । होटेलको सुत्ने कोठा, शौचालय, मल तथा पसलको चेन्जिङ रुमजस्ता स्थानमा सीसीटीभी लगाउन प्रतिबन्ध छ । 

 कान्तिपुर

प्रतिक्रिया दिनुहोस्