Logo

सुन तस्करीको आम्दानीले होटलदेखि बैंकसम्म लगानी गरेको खुलासा

स्तावेज भाद्र २८ गते बुधवार २०७४ काठमाडौं/सिन्धुपाल्चोक – भोटेकोशी गाउँपालिकामा चुनाव जितेपछि अन्य उम्मेदवार खुशी थिए तर अध्यक्षमा विजयी राजकुमार पौडेल त्यति खुशी भएनन्। उनलाई व्यवसाय बिग्रिने चिन्ता थियो। उनी समकक्षी व्यापारीसँग गुनासो गर्थे, ‘चुनाव त जितियो, व्यवसाय भने चौपट हुने भयो।’ उनी निकट स्रोतका अनुसार उनी दैनिक आठदेखि १० लाख रुपैयाँ आम्दानी हुने दाबी गर्थे।

जनप्रतिनिधि भएपछि व्यवसायमा समय दिन नसक्दा आम्दानी घटेको गुनासो गर्थे उनी। २०६० सालमा एउटा कन्टेनर किनेर तातोपानीबाट सामान आयात निर्यातको व्यवसाय गर्ने उनको आर्थिक हैसियत एकाएक बढेको देखेर स्थानीय व्यवसायी छक्क पर्थे। उनी २०६६ सालतिर ट्रक कन्टेनर व्यवसायी संघको अध्यक्ष बने। त्यतिबेला सुन तस्करीका लागि तातोपानी नाका चल्तीमा थियो। लगत्तै उनको आर्थिक हैसियत नाटकीय रूपमा चुलिँदै गयो। सात वर्षको अवधिमा उनी करोडौं लगानी गरेर बैंक, होटल, सहकारी, हाइड्रो र क्रसर उध्योगको मालिक बने।

भदौ १५ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १५ किलो सुनसहित सात जना पक्राउ गरेपछि उनको आम्दानीको स्रोत कन्टेनर व्यवसायमात्र देखिएन। उनी लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको पत्ता लाग्यो। काठमाडौंका ठँहिटीका रमेश खड्कासँग मिलेर तातोपानी र रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरी भारत पुर्‍याउन सक्रिय रहेको अनुसन्धानबाट खुल्यो। अहिले दुवै फरार छन्। १५ किलो सुनसहित पक्राउ परेका सात जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइरहेको सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले बताए। सुन तस्करीमा संलग्न सबैको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको उनको भनाइ छ।

  श्रोत ,नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्