Logo

प्रहरीले समातेको ८८ किलो सुन कसको ?

स्तावेज,भाद्र १९ गते सोमवार, २०७४ – काठमाडौंमा अवैधरुपमा ८८ केजी सुन आउँदै गरेको सूचना तीन दिनअघि नै थाहा पाएको प्रहरीले जानकारी दिएको छ ।रसुवाको केरुङ नाकाबाट ठूलो परिणाममा सुन आउँदै गरेको सुराकी थाहा पाएपछि प्रहरीको अपराध अनुसन्धान महाशाखाले डीएसपी नगेन्द्रप्रसाद उप्रेतीको नेतृत्वमा टोली परिचालन गरेको थियो । महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले संगठित गिरोहले सुन भित्र्याएको बताए ।

लोहनीले प्रारम्भिक अनुसन्धानमा चिनियाँ नागरिकको संलग्नता रहेको खुलेको पनि उल्लेख गरे । ‘हामी प्रारम्भिक अनुसन्धानमा नै छौं, सबै विवरण आएको छैन,’ उनले भने, ‘संगठित अपराधीहरु संलग्न छन् ।’पक्राउ परेको सुनको मुल्य ४३ करोड रुपैयाँभन्दा बढीको रहेको छ । प्रहरीले मकवानपुरका २४ वर्षीय चालक मनोज अधिकारीलाई मात्रै पक्राउ गरेको छ ।

राति २ बजे काठमाडौंको क्षेत्रपाटीमा पार्किङ गरेर राखेको बा १७ च ६४२७ नम्बरको टाटा सफारीबाट ८८ केजी सुन बरामद भएको थियो । स साना बिस्कुट आधारका सुनलाई प्लास्टिकले र्‍याप गरिएको थियो ।

प्रहरीले सुनसहित गाडि चालक मकवानपुरका मनोज अधिकारीलाई पक्राउ गरेको छ । सोमवारसम्ममा तस्करीको सुन काठमाडौंमा आउने सूचना प्रहरीले पहिल्यै पाएको थियो । महानगरीय प्रहरी आयुक्तको कार्यालय र प्रहरीको अपराध अनुसन्धान महाशाखामा उक्त सुनको जानकारी आएको प्रहरीले जनाएको छ ।

महाशाखाका एसएसपी विवेश लोहनीले उक्त विषयमा थप अनुसन्धान हुन बाँकी रहेको बताए । प्रहरी उच्च स्रोतका अनुसार यति ठूलो परिमाणको सुन थुप्रै कनेक्सनहरुबाट काठमाडौं आएको हाे । ‘सुन तस्करीमा एक जना चिनियाँ नागरिक पनि संलग्न रहेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘एक दुईजना मात्रै मिलेर यति धेरै सुन ल्याउन सकिँदैन । नेपालकै पनि हाइप्रोफालहरुको संलग्नता रहेको पनि हुनसक्छ ।

सुन चीनबाट काठमाडौं आएको हो । तल्लो तहका प्रहरी कर्मचारी र ट्राफिकबाट सजिलै छलिनका लागि गाडिमा ‘भिआइपी संकेत’ समेत राखिएको थियो । सुनले चीनबाट नेपाल छिर्ने मुख्य नाका केरुङ मात्रै होइन अरु थुप्रै चेकपोष्टहरु पनि पार गर्दै आएको छ । त्यसैले सुन तस्करीमा ‘पावरवाला’ सरकारी अड्डाकै अधिकारीहरुको पनि मिलेमतो देखिन्छ । प्रहरीका अनुसार प्रक्राउ परेका चालकले अहिले प्रहरीलाई अनुसन्धानमा पूर्ण रुपमा असहयोग गरेका छन् । उनले कुनै पनि कुराहरु खोल्न चाहेका छैनन् । ‘उसले हामीहरुलाई अनुसन्धानमा सहयोग गरेको छैन,’ अपराध महाशाखाका एसएसपी लोहोनीले भने, ‘अब हामी लामो अनुसन्धान गरेर उनीहरुलाई संगठित अपराधकै मुद्दा चलाउँछौं ।’

प्रतिक्रिया दिनुहोस्