Logo

ट्रम्पले किन दिए सरकार ठप्प पार्ने चेतावनी ?

स्तावेज ,भाद्र ८ गते बिहीबार, २०७४,काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिको सीमामा पर्खाल ठड्याउनका लागि अमेरिकी सरकार ठप्प पार्ने चेतावनी दिएका छन् । एरिजोनाको फिनिक्समा मेक अमेरिका ग्रेट अगेन र्यालीमा समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले विपक्षी डेमोक्रेट सांसदले अवरोध खडा गरिरहेको बताए । असी मिनेट लामो आफ्नो भाषणमा उनले मिडियामाथि पनि आक्रमण गर्दै मिडियाले उग्रदक्षिणपन्थी समूहहरूलाई मञ्च प्रदान गरेको आरोप लगाए ।

तर हालै भर्जिनियाको चार्लोट्सभिलमा भएको हिंसामाथि आफूले गरेको विवादास्पद टिप्पणीलाई उनले दोहोर्याएनन् । उक्त हिंसामा एक महिलाको मृत्यु भएको थियो । त्यतिखेर उनले भाषणमा हिंसाका लागि सबै पक्ष जिम्मेवार रहेको बताएका थिए र त्यसको खुबै आलोचना भएको थियो ।

ट्रम्प अवैध रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिहरूलाई रोक्नका लागि मेक्सिको सीमामा विशाल एवं सुन्दर पर्खाल बनाउन चाहन्छन् र संसदले त्यसलाई साथ देओस् भन्ने चाहन्छन् । तर सरकारको खर्च विधेयकमा यो पर्खालको लागतका लागि बजेट मञ्जूर गर्न डेमोक्रेट सांसदहरूको समर्थनको पनि आवश्यक पर्छ । त्यसको सम्भावना न्यून छ र डेमोक्रेटहरूले यो योजनालाई विफल तुल्याउने कसम खाइसकेका छन् ।

आफ्नो भाषणमा ट्रम्पले भने, ‘डेमोक्रेट सदस्यहरू पर्खालको योजनालाई विरोध गरेर अमेरिकाको सुरक्षालाई खतरामा पार्दैछन् ।’

उनले थपे, ‘आवश्यकता भयो भने सरकार ठप्प बनाइदिने खतरा पनि उठाउँछु ।’

संघीय सरकारको आर्थिक मामिलासँग जोडिएको कुनै विधेयक कांग्रेसबाट पास भएन भने ठप्पको स्थिति आउँछ । अत्यावश्यक श्रेणीमा नआउने सबै सेवा यस्तो स्थितिमा ठप्प हुन्छन् । संसदमा नयाँ बजेटमाथि छिट्टै बहस हुँदैछ । यो विधेयक पारित नभएका अक्टोबर महिनाको १ तारिखबाट सबै कामकाज ठप्प हुनेछन् ।

बीबीसी 

प्रतिक्रिया दिनुहोस्