Logo

प्रधानमन्त्री बुधबार भारत जाँदै, तय भयो तीन एजेण्डा

स्तावेज ,भाद्र,६ गते मंगलबार,२०७४, काठमाडौँ  – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको एजेण्डा तय भएको छ। भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्री देउवाले तराई क्षेत्रको बाढी र डुबान नियन्त्रण, द्दिपक्षीय व्यापार र विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने परराष्ट्रमन्त्री कृष्णबहादुर महराले जानकारी दिए। सरकारले प्रधानमन्त्री देउवाको भारत भ्रमणमा भूकम्पपछिको पुनःनिर्माणमा सहयोग सहित भारतले गरेको प्रतिबद्धता, पुराना सन्धिसम्झौता, लक्ष्मणपुर बाँध, कोशी बाँध र त्यसबाट भएको नोक्सानीका बारेमा छलफल गरिने कार्यसूची तय गरिसकेको छ ।

 प्रधानमन्त्री देउवाका साथमा उहाँकी पत्नी डा आरजु राणा, उपप्रधानमन्त्री महरा, मन्त्री, सांसद, सचिव तथा उच्चसरकारी अधिकारी रहनेछन्। भ्रमणका बेला प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति  वेंकैया नायडुसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुका साथै आफ्ना भारतीय समकक्षी मोदीसँग औपचारिक बैठक गर्ने पराष्ट्र मन्त्रालयले जनाएको छ । ‘भूकम्पपछिको पुनःनिर्माणमा सहयोग प्याकेज, घर टहरा निर्माण, तराईमा सडक निर्माण सञ्जाल विस्तार, मेची पुलको स्तरोन्नति तथा निर्माण, लागुऔषध कारोवार नियन्त्रण र व्यापारिक वस्तुको गुणस्तर मापनसम्बन्धी विषयमा सम्झौता हुनेछ,’ परराष्ट्रमन्त्री महराले भने। केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई टेलिफोन गरी बाढीपहिराबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै भारु २५ करोड अनुदान सहयोगको घोषणा गरेका थिए।

 भ्रमणका क्रममा अनुदान सहयोग अन्तर्गत  १० करोड भारतीय रुपैयाँ र घरटहरा निर्माणका लागि  ५ करोड पुरातात्विक सम्पदा निर्माण, ५ करोड शिक्षा  स्वास्थ्यमा सहयोग पुग्ने गरी ५ करोड रुपैयाँ बराबरको सम्झौता हुने मन्त्रालयले जनाएको छ। ‘अरुण तेस्रो जलबिध्युत परियोजनाका सम्बन्धमा भने दुई पक्षबीच छलफल टुंगिएपछि मात्र त्यसमा सम्झौता हुन सक्छ,’ उनले भने।  दुवै मुलुकका पुराना सन्धिसम्झौता कार्यान्वयनको विषय छलफलका रुपमा मात्र उठ्ने बताउँदै उपप्रधानमन्त्री महराले त्यसबाहेक सिमानामा रहेका बाँध तथा चुरे संरक्षणसँग सम्बन्धित विषयमा पनि छलफल हुने बताए।

दोक्लम विवादका विषयमा भने भारतमा कुनै पनि छलफल नहुने परराष्ट्रमन्त्री महराले बताए।  उपप्रधानमन्त्री महराले द्विपक्षीय समस्या शान्तिपूर्ण वार्ता र संवादका माध्यमबाट समाधान हुनुपर्छ भन्ने नेपालको स्पष्ट धारणा रहेको बताए उपप्रधानमन्त्री महराले भने,’द्दिपक्षीय वार्ता र संवादका माध्यमबाट समस्याको निकास खोज्नुपर्छ भन्ने नेपालको स्पष्ट धारणा छ, जुन कुराको दुवै देशले सम्मान गरेका छन् र यो कुरा दुवै देशले बुझेका पनि छन् ।’

 बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि केही प्राविधिक पक्षका बारेमा दुवै मुलुकबीच काम भइरहेको उहाँको भनाइ थियो। फरक प्रसंगमा उहाँले नेपाल भारतबीच विगतमा भएका सन्धिसम्झौताको पुनरवलोकनका सम्बन्धमा दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहले काम गरिरहेको र उक्त काम सकारात्मक रुपमा अघि बढिरहेको बताए। गत जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका नेपाली काँग्रेसका सभापति देउवाको पछिल्लो पटक प्रधानमन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हो। उनले प्रधानमन्त्रीकै रुपमा तीन पटक भारतको औपचारिक भ्रमण गरिसक्नुभएको छ ।

      रासस 

प्रतिक्रिया दिनुहोस्