Logo

विध्युत प्राधिकरणमा कुलमानसिंहको प्रभाव – साढे दुई अर्बको सञ्चालन नाफा

स्तावेज संवादादाता,श्रावण २५ गते बुधवार २०७४ काठमाडौं –  घाटामा रहेको सरकारी स्वामित्वको नेपाल विध्युत प्राधिरकणमा कुलमान घिसिङले व्यवस्थापनमा गरेको सुधारका कारण प्राधिकरणले एकै वर्षमा साढे दुई अर्ब सञ्चालन मुनाफा गरेको छ । आर्थिक वर्ष २०७३/०७४ मा साढे दुई अर्बको सञ्चालन मुनाफासँग प्राधिकरणको घाटा अब ९५ करोड रूपैयाँमा झरेको छ । 

 काठमाडौँ लगायतका शहरहरूमा लोडसेडिङ अन्त्य र उध्योग क्षेत्रमा लोडसेडिङ घटाएपछि विध्युत प्राधिरकणको महशुल एक वर्षमा ५१ प्रतिशतले वृद्धि भएको छ । प्राधिकरण अर्थ शाखाका अधिकृत लक्ष्मीप्रसाद भट्टराईका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा विभिन्न वितरण केन्द्रहरू मार्फत ४७ अर्ब रूपैयाँ बराबरको महशुल बझाएका छन् । गत वर्षको भन्दा आर्थिक वर्ष २०७३/०७४ मा १६ अर्ब रूपैयाँ बढी महशुल उठेको छ।

 आर्थिक वर्ष २०७२/०७३ मा ३१ अर्ब रूपैयाँ महशुल उठेको थियो । चालु आर्थिक वर्षमा मात्रै प्राधिकरणको सञ्चालन नाफा दुई अर्ब ५० करोड रूपैयाँ रहेको छ। पुष्पकमल दाहल प्रचण्ड नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका जनार्दन शर्माले विध्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा घिसिङलाई नियुक्त गरेपछि उनले लोडसेडिङ अन्त्यको लागि पहल गरेका थिए ।

 २०७३ कात्तिक महिनाबाट काठमाडौँ लगायतका ठूला शहरमा लोडसेडिङ अन्त्य गरिएको थियो । परिणाम स्वरूप प्राधिकरणको सञ्चालन नाफा र महशुल रकम बढेको छ। बढी महशुल बुझाउनेमा सिमेन्ट उध्योग यो वर्ष पनि विध्युत प्राधिकरणमा बढी महशुल बुझाउनेमा सिमेन्ट उध्योग रहेका छन् । सबैभन्दा धेरै महशुल बुझाउने तीन उध्योगमा सिमेन्ट उध्योग नै छन् ।

  आर्थिक वर्ष २०७३/०७४ मा सबैभन्दा बढी जगदम्बा सिमेन्टले १० करोड रूपैयाँ महशुल बुझाएको छ । धेरै महशुल बुझाउने दोस्रो स्थानमा शिवम सिमेन्ट र तेस्रो स्थानमा रिलायन्स सिमेन्ट रहेका छन्। यस अनुसार शिवम सिमेन्टले छ करोड ५० लाख रूपैयाँ र रिलायन्स सिमेन्टले चार करोड २० लाख रूपैयाँ बुझाएको विध्युत प्राधिकरण अर्थ शाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्