Logo

झापामा स्वाइन फ्लूबाट दुई महिलाको मृत्यु

स्तावेज, श्रावण १९,बिहिबार २०७४,सुरुङ्गा (झापा)- स्वाइनफ्लू रोगको संक्रमणबाट झापा बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ । दुई साताको अवधिमा बिर्तामोड नगरपालिका–१ र ४ का दुई महिलाको मृत्यु भएको हो । उनीहरूको भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा बिर्तामोड–४ की अनितादेवी मित्तल र बिर्तामोड–१ की मनिषा अग्रवाल छिन् । उनीहरूको स्वाइनफ्लू रोगको संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । योसँगै झापामा स्वाइनफ्लू रोग फैलने त्रास बढेको छ । श्वासप्रश्वासमा सामान्य समस्या र खोकी लागेपछि अनितालाई उपचारका लागि असार २१ गते भारतको सिलगढीस्थित नवदिता नर्सिङ होममा भर्ना गरिएको उनका श्रीमान् राजु मित्तलले बताए ।  

सात दिनसम्म अस्पतालमा राखेर उपचार गरेपनि बिरामी झन् सिथिल बन्दै गएपछि थप उपचारका लागि एयर एम्बुलेन्स मार्फत अनितालाई दिल्लीस्थित एपोलो हस्पिटल पुर्याईएको थियो । अस्पताल पुर्याए लगत्तै अनितालाई चिकित्सकले स्वाइनफ्लू भएको आशंका गरेका थिए । उक्त अस्पतालका डा एमएस कनवर तथा डा अन्सारीसहितको १८ जनाको टोलीले अनिताको उपचार गरेपनि अस्पताल पुर्याएको ७२ घण्टा बित्न नपाउँदै मृत्यु भएको श्रीमान् राजुले बताए ।  

अनिताको यही साउन १ गते अस्पतालमा निधन भएको थियो। सोही अस्पतालमा स्वाइनफ्लूका कारण साउन १५ गते राति मनिषाको पनि निधन भएपछि बिर्तामोडमा स्वाइनफ्लू रोगको संक्रमण फैलिएको आशंकाले यहाँका सर्वसाधारण त्रसित बनेका छन् । 

स्वाइनफ्लूको लक्षण रुघाखोकीसँग मिल्दोजुल्दो नै हुन्छ । लगातार नाकबाट पानी बगिरहने हुन्छ । लगातार जसो हाछ्युँ आउँछ । शरीरमा कमजोरी, आलस्यता, औषधि सेवन गरेपनि बिरामीमा खोकी बढ्नु, घाँटी चिलाउनु, दुख्नु, गम्भीर अवस्थामा भने चलिरहेको शरीरको कुनै कुनै अंगले काम नगर्नु र अन्त्यमा बिरामीको मृत्युसमेत हुनसक्ने मेची अञ्चल अस्पताल भद्रपुरका प्रमुख पिताम्वर ठाकुरले बताए ।  

स्वाइनफ्लू रोग सुँगुरबाट मानिसमा सर्ने हुनाले घरपालुवा जनावर र सुँगुरको सम्पर्कमा रहनेमा यो रोगको भाइरस सर्ने सम्भावना बढी हुन्छ ।

रासस

 

प्रतिक्रिया दिनुहोस्