Logo

मानव स्वास्थ्य – काठमाण्डौं उपत्यकामा दैनिक औसतमा पाँच सय सङ्क्रमित

काठमाण्डौं – विगत केही महिनादेखि उच्चस्तरमा कोरोनाभाइरस सङ्क्रमित पाइँदै आएको काठमाण्डौं उपत्यकामा गएको एक सातामा औसतमा दैनिक पाँच सय जनाको हाराहारीमा सङ्क्रमित भेटिइरहेको पाइएको छ ।अघिल्लो साताको आइतवारदेखि यो आइतवारसम्मको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरण अनुसार उपत्यकाका तीन जिल्लाको स्थिति त्यस्तो देखिएको हो।

पछिल्ला केही महिनादेखि काठमाण्डू उपत्यका र केही ठूला सहरी क्षेत्रहरू सङ्क्रमण तीव्र भएका स्थानका रूपमा रहेको मन्त्रालयको विवरणले देखाउँछ। सरकारी विवरणले उपत्यकासहित अन्य क्षेत्रमा सङ्क्रमण कम भएको देखाए पनि कतिपय विज्ञहरूले पछिल्ला दिनहरूमा कोरोनाभाइरसको परीक्षण कम सङ्ख्यामा भइरहेकाले यस्तो देखिएको भन्ने गरेका छन्।

उपत्यकामा सङ्क्रमणको अवस्था कस्तो छ ?

स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो आइतवार उपत्यकाभित्र ४८४ सङ्क्रमित भेटिएका थिए। त्यस्तै सोमवार ४४२ मङ्गलवार ५९४ बुधवार ४९६ बिहीवार ४०४ शुक्रवार ५४१ शनिवार ४८२ र आइतवार ३४८ सङ्क्रमित पाइएका छन्।आइतवार पाइएका सङ्क्रमितमध्ये १५० महिला र १९८ पुरुष रहेका छन्। काठमण्डू उपत्यकामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ४,२४५ रहेको छ।

अन्य पछिल्लो विवरण

पछिल्लो २४ घण्टामा नेपालमा थप ८३० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।कुल ५१८१ नमुनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका मन्त्रालयको तथ्याङ्क छ।गत २४ घण्टाको अवधिमा नेपालमा ९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।यो सँगै नेपालमा हालसम्म पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या २,४८,४२३ पुगेको छ। अहिलेसम्म देशभरि १,६९८ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कतिजना निको भए ?

मन्त्रालयद्दारा प्रकाशित विवरण अनुसार विगत २४ घण्टाको अवधिमा थप १,५०० जना सङ्क्रमणमुक्त भएको उल्लेख छ। अहिलेसम्म कुल २,३५,७३१ जना सङ्क्रमित निको भएको मन्त्रालयको तथ्याङ्क छ। स्वास्थ्य मन्त्रालयको विवरण अनुसार हाल देशभर ५१६ जना क्वारेन्टाईनमा रहेका छन् भने १०,९९४ आइसोलेशनमा बसिरहेका छन्। गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित एकै दिन फेला परेका थिए।

प्रतिक्रिया दिनुहोस्