Logo

विश्वमै पहिलो पटक मर्यादित महिनावारी दिवस सफलता पूर्वक सम्पन्न

                   -सुधा गुरुङ 

विश्वमै पहिलो पल्ट नेपालमा नेपाल सरकार, महिला तथा बालबालिका एवं ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग र दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालद्दारा आयोजित ३ दिने अन्तर्राष्ट्रिय मर्यादित महिनावारी बृहत् कार्यशाला गोष्ठी काठमाण्डौंमा सम्पन्न भएको छ। कार्यक्रम भर्चुअल र सहभागिता दुवै माध्यमबाट सम्पन्न भएको थियो। “महिनावारीका कुरा मर्यादा केन्द्रित भए मात्रै हुन्छ पुरा” मूल नाराका साथ डिसेम्बर ८ मा शुरु भई १० मा सम्पन्न भयो।

गोष्ठीमा ३० राष्ट्रका अनुसन्धानकर्मी, अभियानकर्मी, सामाजिक अभियन्ता, सरकारका प्रतिनिधि, नीति निर्माताहरू लगायत विश्व भरीबाट बिद्दुतीय तंरगको माध्यमबाट जोडिएका करिब एक हजार जतिको सहभागिता रहेको थियो। महिनावारीका विभिन्न पक्षहरू जस्तो भान्सा घर देखी संसद् सम्म महिनावारी निषेधको अन्त, यौनिक र प्रजनन स्वास्थ्य अधिकार, पहिलो महिनावारी देखी महिनावारी रोकिने सम्मका लाज र विभेद, युवाहरूको भूमिका, धर्म, संस्कार, व्यवसाय, खाने पानी, सरसफाइ, नीति नियम, बहिस्कारमा परेका र पारिएकाहरूको अवस्था र अधिकार, अनुसन्धान, अनुदान र कार्यान्वयनको अवस्था लगायतका विषयमा प्यानल छलफल, प्रस्तुति, लघु वृत्तचित्र प्रदर्शन आदी प्रस्तुति गरिएको थियो।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले विश्वमै पहिलो पटक नेपालमा मर्यादित महिनावारी गोष्ठी को सफल आयोजना भएकोमा खुशी व्यक्त गर्नुभयो। दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालकी प्रमुख तथा सामाजिक अभियन्ता राधा पौडेलले हाम्रो समाजमा महिनावारीलाई विभेद र छुवाछुतको दृष्टिकोणले हेरिनु, बुझिनु अत्यन्त दुखद कुरा भएकोले महिनावारीलाई मर्यादित बनाई मानव अधिकार र राजनीतिक दृष्टिकोणले हेर्नुपर्ने कुरामा जोड दिनुभयो। गोष्ठीको पहिलो दिन मर्यादित महिनावारी सम्बन्धी हाते पुस्तक “मर्यादित महिनावारी एउटा प्रयोगात्मक हाते किताब” को विमोचन गरिएको थियो।

जुन किताब २० राष्ट्रका ४४ लेखकहरूले लेखेका छन् भने दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालकी प्रमुख राधा पौडेलले सम्पादन गर्नुभएको छ। काठमाण्डौं पब्लीकेशनले प्रकाशित गरेको सो पुस्तक प्रकाशित मर्यादित महिनावारी बारे संसारकै पहिलो अनुसन्धानात्मक पुस्तक रहेको कुरा पनि पौडेलले बताउनुभयो। सो पुस्तक अन लाइन पनि उपलब्ध गरिएको छ। यस अघि नेपालीमा पौडेलको “मर्यादित महिनावारी सबैको जिम्मेवारी” हाते पुस्तक र “अपवित्र रगत” पनि काठमाण्डौं पब्लीकेशनले नै प्रकाशित गरिसकेको छ। गोष्ठी समापनको अन्तिम दिन १२ बूँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरिएको छ। जसमा महिनावारी सम्बन्धीका कथाहरूलाई पुनः परिभाषित गर्ने, मानव मर्यादा र मौलिक अधिकारको रक्षा गर्ने, उनीहरूलाई बदनाम नगर्ने लगायतका कुराहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्