Logo

कस्तो रहने छ त नेपाली सेनाको नयाँ संरचना ?

स्तावेज संवाददाता,श्रावण १८ , बुधबार २०७४ काठमाडौं – नेपाली सेनाले मुलुकको संघीय ढाँचालाई मान्य हुने गरी संगठन तथा कमाण्ड परिचालन गर्न चुस्त संरचना निर्माण प्रक्रिया अघि बढाएको छ।  पहिलो चरणको स्थानीय निर्वाचनअघि भएको मन्त्रिपरिषदको निर्णय अनुसार नेपाली सेनाले आफ्नो संरचना परिवर्तन गर्न लागेको हो।  सरकारको निर्णयअनुरूप हरेक प्रदेशमा नेपाली सेनाको पृतनालाई मुख्यालयका रूपमा राखेर त्यस अनुसारको कमाण्ड संरचना तथा संख्या तय गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको सम्बद्ध स्रोतले जानकारी दियो ।

 जस अनुसार संख्या नबढाई संरचना चुस्त बनाउँदै दुई पृतना थप्ने तयारी छ। सेनामा संख्या पनि बढाउने बहस भए पनि हाललाई यही संख्याबाट पद मिलान गर्दै पृतना थप्न लागिएको हो ।  नवनियुक्त रक्षामन्त्री भीमसेनदास प्रधानले सेनाको संगठन पुन संरचनालाई प्राथमिकतासाथ अघि बढाउन लागेको बताए । २०७२ फागुनमा गठित ‘रक्षा मन्त्रालय र नेपाली सेनाको सांगठनिक  ढाँचासम्बन्धी अध्ययन कार्यदल’ ले दिएको सुझावका आधारमा काम अघि बढाएको उनले बताए। सेनाको वर्तमान संरचना विकास क्षेत्र, अञ्चल र जिल्लामा आधारित छ । देशको राजनीतिक तथा प्रशासनिक विभाजन अनुसार बनाइएको यो किसिमको सैनिक संरचनालाई अब प्रादेशिक तहमा लगिनेछ। उपत्यका र हरेक प्रदेशमा पृतना मुख्यालय राख्ने गृहकार्य अन्तिम चरणमा पुगेको सेनाका प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतले जानकारी दिए । नयाँ संरचना अनुसार पृतनाहरूको संख्या ८ हुने भएकाले दुई पृतनापतिको व्यवस्थापनका लागि दरबन्दी समायोजन तयारी समेत अन्तिम चरणमा पुगेको सैन्य स्रोतले जनायो ।

 अहिले पाँच विकास क्षेत्र र राजधानीमा गरी सेनाका ६ वटा पृतना छन् ।  पूर्वाञ्चलको इटहरी, मध्यमाञ्चलको हेटौंडा, पश्चिमाञ्चलको पोखरा, मध्यपश्चिमाञ्चलको सुर्खेत र सुदूरपश्चिमाञ्चलको धनगढी तथा उपत्यकामा एउटा पृतना मुख्यालय छ । अब दुई नम्बर र पाँच नम्बर प्रदेशमा पृतना थपिनेछन्। हरेक प्रदेशमा पृतना रहने र त्यो क्षेत्रको कमाण्ड त्यही पृतनाबाट रहने भए पनि मुख्य कमाण्ड भने केन्द्रीय प्रणालीबाट हुनेछ। सुरक्षाको नेतृत्व पनि केन्द्रमै रहनेछ। पृतनाले आफ्नो प्रदेशअन्तर्गतका सबै बाहिनी, गण, गुल्म तथा अन्य युनिटहरूको समन्वय गर्ने गरी नयाँ संरचना तय गर्न लागिएको स्रोत बताउँछ। सेनाको कमाण्ड संरचनामा तीन टुकडी बराबर एक गुल्म, तीन गुल्म बराबर एक गण, तीन गण बराबर एक बाहिनी र तीन बाहिनी बराबर एक पृतना रहनेछन् । 

श्रोत कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्