Logo

नेपालको लिपुलेक क्षेत्रको सीमा मिच्दै भारतले बनायो नेपाली भूमिमा पदमार्ग

स्तावेज संवाददाता,श्रावण १७, मंगलबार २०७४ दार्चुला –  नेपालको लिपुलेक क्षेत्रमा भारतीय सरकारले पद मार्ग बनाएको छ। भारतको लोक निर्माण विभागले लिपुलेकदेखि उत्तरतिर दुई किलोमिटरसम्म पर्यटकीय पदमार्ग निर्माण गरेको हो। लिपुलेक क्षेत्रमा दुई किलोमिटरसम्म पदमार्ग बनाएपछि कैलास पर्वतको दर्शन गर्न सजिलो भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दुई वर्ष लगाएर निर्माण गरिएको पदमार्ग निर्माण गर्न भारत सरकारले लोक निर्माण विभागबाट १५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको २८ जुलाइमा प्रकाशित हिन्दुस्तान दैनिकमा उल्लेख छ ।

         उक्त पदमार्गबाट सजिलै कैलाश पर्वतको दृष्यावलोकन गर्न सकिने छ। भारत सरकारले निर्माण गरेको लिपुलेक भू–भाग नेपालको रहेको स्थानीयले बताएका छन् । लिपुलेक क्षेत्रबाट आफूहरुले तिब्बतसँग व्यापार गरेको महाकाली नगरपालिका वडा नम्बर १ का ८८ वर्षीय धनसिंह धामीले जानकारी दिएका छन् । भेडा च्याङ्ग्रा र घोडा खच्चरमा समान लिएर तिब्बतसँग व्यापार गर्ने उक्त बाटोमै भारतीय पक्षले पदमार्ग बनाएको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले जानकारी दिए । सिता पुलबाट उत्तरतिर नेपालीहरुलाई भरिया बाहेक अन्य रुपमा प्रवेश गर्न भारतीय पक्षले रोक लगाएको छ । अहिले सितापुल तरेर नेपालको छाङ्रुतिंकर हुँदै ताक्लाकोटसम्म भारतीयहरु निर्वाध आवतजावत गर्ने गरेको महासंघ दार्चुलाका अध्यक्ष धामीले बताए। भारतले सुरक्षाको दृष्टीकोणले संवेदनशिल मानिएको यस क्षेत्र कब्जा गर्दै यस क्षेत्रमा पर्यटकीय संभावना बिस्तार गर्न खोजेको धामीले बताए । 

प्रतिक्रिया दिनुहोस्