Logo

भाइरल ज्वरोले मोरङको फोकलेन्ड गाउँमा दुई बालबालिकाको मृत्यु

स्तावेज १० श्रावण,सोमबार २०७४ इटहरी सुनसरी जिल्लाका इटहरी उपमहानगरपालिका–३ बुढीखापको पूर्वपट्टि रहेको मोरङको सुन्दरहरैचा नगरपालिका–५ को फोकलेन्ड टापुमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट दुई बालबालिकाको मृत्यु भएको छ।

अत्यधिक ज्वरो आउने, शरीर दुख्ने र टाउको दुख्ने लक्षण देखिएका बिरामीमध्ये १४ वर्षीय अजय राई र रङमाया तामाङको ४ वर्षीया छोरी सुस्मिताको मृत्यु भएको हो। भाइरल ज्वरोका कारण अन्य दुई दर्जनभन्दा बढी बिरामी भएको बताइएको छ।

बस्तीका अधिकांश घरका मानिस केही दिनदेखि अधिक ज्वरोको संक्रमणका कारण थलिएपछि सोमबारदेखि सुन्दरहरैचाको स्वास्थ्य चौकी र जिल्ला जनस्वास्थ्य कार्यालयको चिकित्सक टोलीले गाउँमै गई उपचार थालेको छ। 

भाइरल ज्वरोले दुई बालबालिकाको ज्यान गएपछि फोकलेन्ड टापुवासी अरुको पनि ज्यान जान सक्ने जोखिमका कारण त्रास फैलिएको वडाध्यक्ष राम रिजालले बताए।

भाइरल ज्वरोबाट दुई बालबालिकाले अकालमा ज्यान गुमाउनु परेको समाचार थाहा पाउना साथ सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिव ढकाल, उपप्रमुख धनमाया तामाङ र सांसद चन्द्र गुरुङ समेतको टोलीले मंगलबार गाउँको स्थलगत अवलोकन गरी तत्काल उपचारमा विशेष ध्यान दिन जनस्वास्थ्य कार्यालयसँग छलफल गरेको छ।

उच्च गर्मीसँगै तातो हावा आउने र शरीरले थाम्नै नसक्ने गरी ज्वरो आउने गरेकाले साना उमेरका बालबालिकाका लागि भाइरल ज्यादै जोखिमपूर्ण बन्न पुगेको चिकित्सकको भनाइ छ। गाउँघरको सफाइमा ख्याल नगर्दा अन्य कारणले पनि मानिसको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको पाइएकाले चिकित्सकले सरसफाइमा ध्यान दिन सुझाएका छन्।

आदिवासी समुदायको ३५ घर परिवारको बसोबास रहेको टापुका १० भन्दाबढी परिवारका प्रायः सबैजसोमा उच्च ज्वरोको संक्रमण फैलिएको वडाध्यक्ष रिजालले जानकारी दिए ।

  रासस

प्रतिक्रिया दिनुहोस्