तीन महिनादेखि साउदीमा १७ नेपाली अलपत्र परेको पुष्टी
दस्तावेज संवाददाता साउन १, २०७४ – काठमाण्डौं रोजगारीको लागि साउदी अरव पुगेका १७ जना नेपालीले तीन महिनादेखि तलव नपाएको बताएका छन्। साउदीको यनवुमा शहरका विभिन्न कम्पनीमा कार्यरत नेपालीले तीन महिनादेखि मासिक तलब नपाउँदा अलपत्र परेका छन्। काम गर्ने कम्पनीले सेवा सुविधा सहितको तलब नदिएको भन्दै उनीहरूले आफन्तसँग र सामाजिक सञ्जालमा दुःख व्यक्त गर्न थालेका छन्। इमास्को नेपाल प्रालि सामखुसी र नाइल ओभरसिज प्रालि सिनामंगल काठमाडौँ मार्फत रोजगारको सिलसिलामा साउदी पुगेका कामदार समस्यामा परेका उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं – १ का बाबुराम रेग्मीले बताए । ‘काम गर्न गएको कम्पनीले नेपालमा भनेजस्तो सेवा सुविधा दिएन’, रेग्मीले भने, ‘समयमा तलब पनि दिएको छैन र सम्झौता अनुसारको सुविधा पनि दिएको छैन।’ सेवा सुविधाको कुरा गर्दा उल्टै कम्पनीले निकालिदिएपछि अहिले आफूहरू अलपत्र परेको उनले बताए ।
०७२ साल चैतमा साउदी अरबको यनवुमा सादत अल अमिद कम्पनी लगायतका विभिन्न कम्पनीमा काम गर्न पुगेका नेपाली समस्यामा परेका हुन्। क्लिनिङ वर्करका लागि भनेर त्यहाँ पुगेका उदयपुर, सिरहा, सप्तरी, मोरङ, सुनसरी, लमजुङ, कास्की र धादिङका १७ युवक अलपत्र परेको साउदीबाट रेग्मीले बताए। उनका अनुसार नेपालबाट जाँदा साउदी रियाल एक हजार दिने भनिएको थियो। इमास्को नेपाल प्रालिसँग भएको सम्झौतामै साउदी रियाल एक् हजार दिने भनिएको अर्का पीडित प्रेमकुमार वाइवाले बताए। ‘खाने, बस्ने व्यावस्थासहित एक हजार साउदी रियाल दिने भन्थ्योे’, वाइवाले भने, ‘तर साउदी पुगेपछि आठ सय रियल मात्र पाइयो, त्यो पनि तीन महिनादेखि पाइएको छैन।’
उनका अनुसार चैतदेखि बैशाखसम्मको पाए पनि बैशाखबाट यताको तलब दिईएको छैन । १७ युवक एउटा सानो कोठामा बसेर गुजारा गरिरहेका उनले बताए । ‘साँघुरो कोठमा, खाना पानीको पनि समस्या छ’, पीडित वाइवाले भने, ‘किनेर खाने पैसासमेत नहुँदा सहयोगीले दिएको खानाले गुजारा गरिरहेका छौँ।’ कामका लागि साउदी पठाउने इमास्को र नाइललाई पटक पटक अनुरोध गर्दासमेत बेवास्ता गरेको उनीहरूको भनाइ छ। ‘घर परिवारले सम्पर्क गर्दासमेत ती कम्पनीले तलब सुविधा लिइरहेको र राम्रै रहेको बताउँदा रहेछन्’, पीडित दामोदर पन्थीले भने, ‘यहाँ भने भोकभोकै बस्नुपरेको छ।’ छोराले अलपत्र परेको जानकारी फोनबाट बारम्बार गरेकाले उद्धारका लागि पटक पटक मेनपावर जाँदा पनि बेवास्ता गरेको पीडित बाबुरामका बुबा सिद्धराज रेग्मीले बताए। ‘ऋण गरेर विदेश पठाएको छोराले ऋण तिर्नु त परै जाओस्’, रेग्मीले भने, ‘ज्युँदो छोरो नेपाल नआउने हो कि भन्ने डर छ।’