Logo

नजिक स्वास्थ्य संस्था नभएको कारण सुत्केरी ब्यथाले थलिएकी लामाको उद्धार हुन सकेन

सार १७, २०७४ शनिवार,गोरखा- शुक्रबारदेखि सुत्केरी ब्यथाले थलिएकी गोरखाको चुमनुब्री गाउँपालिका– ६ चुम्चेतकी ३५ वर्षीया छोर्तेङ लामाको उद्धार हुनसकेको छैन । घर नजिक स्वास्थ्य संस्था नभएको र प्रसूति सेवाका लागि गोरखा सदरमुकाम वा काठमाडौँका अस्पताल पुर्याउनुपर्ने अवस्था रहेपनि हेलिकप्टरको खर्च तिर्नसक्ने परिवारको अवस्था नभएकाले लामाको उद्धार नभएको हो।

चुम्चेत घर भई काठमाडौँ रहेका धावा ग्याल्जेन लामाले भने, ‘गर्भवती महिलाको अवस्था चिन्ताजनक छ । म हेलिकप्टरको खोजीमा लागिपरेको छु, सुत्केरी बेथा लागेपनि छोर्तेङले बच्चा जन्माउन सकेकी छैनन्’, लामाले भने, ‘बच्चा आधा मात्रै जन्मिएको छ भन्ने खबर छ । बच्चा बचाउन नसकिए पनि आमा बचाउन पाए हुन्थ्यो ।’

सुत्केरी ब्यथाले थलिएकी लामाको परिवारसँग जम्मा रु ३० हजार रुपैयाँ मात्रै छ । तर, हेलिकप्टर चार्टर गर्न कम्तीमा दुई लाख लाग्छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले सुत्केरी ब्यथाले थलिएकी लामाको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी गरिएको भन्दै हेलिकप्टर खर्च कार्यालयबाट व्यवस्था गरिने जानकारी दिए।

 रासस 

प्रतिक्रिया दिनुहोस्