Logo

साउदी अरेबियाले आतंकवादलाई प्रश्रय दिएको कतारी राजदूतको दाबी

सार १७, २०७४,शनिवार,काठमाण्डौं –  नेपालका लागि कतारी राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले साउदी अरेबियाले नै आतंकवादलाई प्रश्रय दिइरहेको दाबी गरेका छन्  । साउदी लगायत मुलुकले आतंकवादलाई प्रश्रय दिएको आरोपमा कतारसंग कुटनीतिक सम्ंबन्ध बिच्छेद गरी १५ दिन यता उसमाथि आर्थिक नाकाबन्दी गरिरहेको पृष्ठभूमिमा नेपालस्थित कतारी राजदूतको यस्तो भनाई आएको हो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा राजदूत हमरले भने ‘बरु साउदी अरेबिया नै संदिग्ध आतंकवादी घटनामा मुछिएका घटना छन् । जस्तै सेप्टेम्बर २००१ मा आतंकवादी संगठन अलकायदाले अमेरिकामा गरेको आक्रमणमा साउदीका नागरिक संलग्न भएको सार्वजनिक भइसकेको छ । तर कतार कहिल्यै पनि यसखाले घटनामा मुछिएको छैन । कतारमाथि अहिले लगाइएका आरोप निराधार हुन् ।’
 कतारी राजदूतले इरानसंगको संबन्ध तोड्न अरु खाडी मुलुकले दिएको दबाब नाजायज रहेको पनि जानकारी गराएका छन् । ‘इरानसंगको हाम्रो सीमा चार किलोमिटर भन्दा बढी छैन । हामी उससंग सम्वन्ध तोड्न सक्दैनौँ । साउदी लगायत मुलुकले हामीमाथि थोपरेका सर्त मान्य छैनन्’ उनले थपेका छन्  ।

युएई, बहराइन, साउदी अरब, इजिप्ट लगायत मुलुकले कतारमाथि आर्थिक नाकाबन्दी गरी कुटनीतिक संम्बन्ध बिच्छेद गरेको १५ दिन बितेको छ । साउदी अरेबिया लगायत खाडी मुलुकले सो नाकाबन्दी हटाउन कतारसामु १३ बुंदे शर्त अगाडि सारेका छन् ।

कतारी टेलिभिजन च्यानल अलजजिरा बन्द गर्नुपर्ने, इरानसंगको सम्वन्ध दुर गर्नुपर्ने, कतारी भूमिबाट टर्कीको फौज हटाइनुपर्ने र मुस्लीम ब्रदरहुड लगायतका समूहसंगको सम्वन्ध १० दिन भित्र अन्त्य गर्नुपर्ने माग कतार समक्ष साउदी लगायतका खाडी मुलुकले राखेका छन् । यी शर्तका कारण कतार र अन्य खाडी मुलुकबीच वार्ता हुन सकिरहेको छैन ।

राजदूत हमरले कतारमाथि लागेका आरोप गलत रहेको र आफ्नो मुलुकले कहिल्यै आतंकवादलाई प्रश्रय नदिएको उनले बताएका थिए । कतारी राजदूतले गृहमन्त्री जनार्दन शर्मासंग पनि शुक्रबारै भेटेका थिए । भेट वार्तामा कतारमा रहेका नेपालीको सुरक्षा तथा रोजगारीमा कुनै समस्या नरहेको उनले बताएका थिए । हाल कतारमा चार लाख नेपाली रहेका छन् । 

 अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्