Logo

दार्जिलिङको आन्दोलनले सीमावर्ती बजार ठप्प

स्तावेज संवाददाता,जेष्ठ ३१,२०७४,दार्जिलिङ – बंगाली भाषा अनिवार्य गराएपछि भारतको पश्चिम बंगालको दार्जिलिङमा  चर्किएको आमहडताल बाट इलामका सीमावर्ती बजार ठप्प भएका छन् । दार्जिलिङका पाँच दलले संयुक्त रूपमा गरेको आम हडतालले गर्दा सीमा क्षेत्रका माने भञ्ज्याङ र पशुपतिनगर व्यापारिक केन्द्र ठप्प भएका हुन् । भारतीय पर्यटक र उपभोक्ताको भीड लाग्ने गरेका यी बजारमा हडतालका कारण पूर्ण रूपमा असर पर्नुका साथै पशुपतिनगर भन्सार कार्यालयमा राजस्व संकलनमा समेत असर परेको भन्सार प्रमुख प्रकाश पोखरेलले जानकारी दिए।

भारतीय गाडी नेपाली राजमार्गमा गुड्नका लागि दैनिक २५ वटा अस्थायी पैठारीका लागि राजस्व काट्ने गरे पनि आम हडताल भएपछि सो संख्या एक/दुईमा झरेको भन्सार कार्यालयले जनाएको छ। दैनिक १५० भारतीय गाडी मार्फत पशुपतिनगरमा पर्यटक र उपभोक्ता बजार भर्न आउने गरेका थिए।

पशुपतिनगरमा दैनिक २० लाख भारतीय रूपैयाँ बराबरको कारोबार हुने गरे पनि अहिले २० हजार रुपैयाँको पनि कारोबार नभएको व्यापारीहरू भनाइ छ। दार्जिलिङ क्षेत्रको बन्दले सीमा क्षेत्रका कृषकहरू समेत मारमा परेका छन्। सीमा क्षेत्रमा उत्पादन भएको तरकारी दार्जिलिङका बजारमा जाने गरे पनि अहिले बन्द भएपछि किसान समस्यामा परेको पोखरेलले बताए। सीमा क्षेत्रका बासिन्दाले भारतीय बजारमा तरकारी निर्यात गरी आर्थिक उपार्जन गर्ने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्