Logo

मुलुककै सर्वोत्कृष्ठ राष्ट्रपति किसान पुरस्कार चार जनालाई

जेष्ठ ३०, २०७४- सर्लाही पिडारीका अफजल हुसेनलाई कृषि विकास मन्त्रालयले कृषि क्षेत्रकैं सबैभन्दा ठूलो राशी २ लाख रुपैयाँ भएको सर्वोत्कृष्ठ राष्ट्रपति कृषक पुरस्कार प्रदान गरेको छ । उनलाई किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठ, कृषि सचिव सरोज पोखरेल र पशुसचिव युवकध्वज जि.सी.ले मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा नगद सहित प्रशंसापत्र प्रदान गर्नुभएको थियो । हुसेन माछापालनमा उत्कृष्ट भए बापत सर्वोत्कृष्ट कृषकको पुरस्कार हात पारेका हुन् । उनको फार्ममा रहेको श्रोत साधन, स्थानीय समुदायमा योगदान, उत्पादन स्थिती, रोजगारी सृजनाको स्थिती, आर्थिक लगानी, व्यवसायको दिगोपना लगायतका १० वटा मापदण्डका आधारमा हुसेन छनौट भएका थिए  । 

   हाल सर्लाहीमा उनको ६ दशमलव ५ हेक्टर क्षेत्रफलमा पंगासियस जातका माछा पालन छ । यिनले वार्षिक २ सय टन माछा उत्पादन गर्ने गरेको बताएका छन् । माछा पालनबाट मात्रै वार्षिक ३ करोड आम्दानी गर्ने हुसेनले प्रति हेक्टरमा बढीमा ९० टनसम्म माछा उत्पादन गर्दै आइरहेका छन् । बरफमा आउने भारतीय बासी माछालाई प्रतिस्थापन गर्दै आएका यी व्यवसायी किसानले यस क्षेत्रमा २ करोड २५ लाख लगानी गरिसकेका छन् । 

   यसैबीच १ लाख रुपैयाँ राशी भएको उत्कृष्ट राष्ट्रपति किसानको पुरस्कार चार जनालाई प्रदान गरिएको छ । जसमा नवलपरासीको हुप्सेकोट, ३ बेलहानीका थम बहादुर रजाली मगरले तरकारी खेती बिधामा पाएका छन् । त्यस्तै बाख्रा पालनमा डडेल्धुरा चिपुरका खडक सिह बिष्ट, सुन्तला खेतीमा कुरुम्बा पाचथरकी इन्द्र कुमारी लावती र मत्स्य प्रजननमा नेपालगञ्जका सुमेर समशेर जबरालाई १ लाख राशिको सम्मानबाट पुरस्कृत गरिएको छ । 

  ०६८ बाट स्वदेशमै केही गर्ने इच्छा राखेर तरकारी खेती थालेका मगरको वार्षिक आम्दानी २० लाख छ । उनले अढाई विगाह जमिनमा थोपा सिचाई प्रविधिको प्रयोगबाट खेती गर्दै आएका छन् । त्यसैगरी सदरमुकामबाट चार घन्टा दुरीमा रहेको चीपुर डडेल्धुराका बिष्टले २० रोपनीमा घाँसे खेती र १ सय ८० बाख्रा पालेका छन् । ०५३ सालदेखि व्यवसायिक सुन्तला खेती गर्दै आएकी इन्द्र कुमारीले यस खेतीबाट गत वर्ष २२ लाख ५५ हजार रुपैयाको कारोबार गरेकी थिइन् । ६० रोपनीमा सुन्तला खेती गरेकी उनी तरकारी, पशुपंक्षी र अलैची खेती पनि गर्दै आएकी छन् । नेपालगञ्जका सुमेरको परिवार ०३६ सालदेखि माछा व्यवसायमा लागेको थियो । वार्षिक २० लाख आम्दानी गर्दै आएका उनले वर्षमा ४ करोड ५० लाख गोटा ह्याच्लिङ उत्पादन गर्छन् । 

     मन्त्रालयले प्रदान गरेको यो पुरस्कार तेस्रो हो । कृषकहरुको योगदानको राज्यले सम्मान गर्ने उद्देश्यका साथ ७०/७१ को बजेट मार्फत शुरू गरिएको यो पुरस्कार किसानको मनोबल बढाउने उदेश्यले प्रदान गरिदै आएको छ । केन्द्रमा पुरस्कृत हुनुअघि जिल्लामा रहेका कृषि विकास कार्यालयहरुले जिल्ला भरबाट छनौट गरी उत्कृष्ट तीन जनालाई पुरस्कृत गर्छ । ती तीन जनालाई जिल्लाहरुले क्षेत्रीय कार्यालयमा प्रतिस्पर्धाका लागी पठाउँछन् । प्रत्येक ५ विकास क्षेत्रमा जिल्लाबाट छानिएका किसान बीच प्रतिस्पर्धा हुन्छ । त्यहाँबाट विकास क्षेत्रमा आउने किसानबाट ५ जना छानिन्छन् । यसरी ५ विकास क्षेत्रबाट छानिएका २५ जनाबाट कृषि सचिवको संयोजकत्वमा रहेको ७ सदस्यीय निर्णायक समितिले एक जना सर्वोत्कृष्ट र ४ जना उत्कृष्ट किसान छनौट गर्छ । जस अन्तर्गत यस वर्ष २५ व्यवसायिक किसान मध्येबाट सर्लाहीका अफजल हुसेन, नवलपरासीका थम बहादुर रजाली मगर, डडेल्धुराका खडक सिह बिष्ट, पाँच थरकी इन्द्र कुमारी लावती र नेपालगन्जका सुमेर समशेर पुरस्कृत गरिएका हुन् । 

       यसअघि पहिलो वर्षको सर्वोत्कृष्ट कृषक पुरस्कारको पहिलो संस्करण कैलालीको टिकापुरमा १० विगाहा क्षेत्रफलमा केरा खेती गर्दै आएका कालु हमाललाई प्रदान गरिएको थियो भने दोस्रो कास्की लाहाचोकमा ६ करोड लगानीमा भैंसी पालन गर्दै आएका किसान इमान बहादुर गुरूङलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्