Logo

पक्राउ परेका राजपा कार्यकर्ता छुटे ५५ मतदान अधिकृत, निर्वाचन तालिम स्थगित

जेष्ठ ३१, २०७४,सप्तरी- सप्तरीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताहरुको नियन्त्रणमा परेका ५५ जना सहायक मतदान अधिकृतहरु छुटेका छन् । उनीहरुलाई तालिममा सहभागी नहुन चेतावनी सहित छाडिएको छ । राजपा कार्यकर्ताले क्याम्पस परिसरमा नाराबाजी र धर्ना जारी राखेका छन् । स्थानीय प्रशासनले बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । तालिममा सहभागी हुन जम्मा भएकाहरु बीचबाटोबाटै फर्कनु परेको छ ।   

     बिहान ११ बजे राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा आयोजना हुने तालिममा सहभागी हुन पुगेका सहायक मतदान अधिकृतहरुलाई राजपा कार्यकर्ताहरुले नियन्त्रणमा लिएर राखेका थिए । आगामी असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि मतदान अधिकृतहरुलाई निर्वाचन सम्बन्धी तालिम राखिएको थियो । राजपा कार्यकर्ताहरुले करिब सात सय जनाको लागि आयोजना गरिएको तालिममा कसैलाई पनि प्रवेश गर्न नदिएपछि तालिम समेत स्थगित भएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरी प्रमुख महेशकुमार ठाकुरका अनुसार आज हुने भनिएको सहायक मतदान अधिकृतहरुको तालिम राजपाको अवरोधका कारण अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जानकारी दिए । 

     राजपा कार्यकर्ताले कपिलदेव यादव, केजुलाल चौधरी, रविन्द्र साह, अरुणकुमार दास र वैद्यनाथ साह, विन्दु खंगलगायत ५५ जनालाई महेन्द्र क्याम्पस परिसरमै नाराबाजीका बीच घेरा हालेर राखेका थिए ।  स‌ंविधान संशोधन, जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या निर्धारण, मधेस आन्दोलनका क्रममा मारिएकाहरुलाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार व्यवस्था सरकारले नगरेको भन्दै राजपा निर्वाचन विरोधी आन्दोलनमा छ ।  

 

प्रतिक्रिया दिनुहोस्