Logo

कुमार सानुले नेपालमा कन्सर्ट गर्ने

जेष्ठ २९, २०७४- बलिउड प्रख्यात पार्श्व गायक कुमार सानुले नेपालमा कन्सर्ट गर्ने भएका छन् । असार ३१ मा हुने भनिएको ‘कुमार सानु लाइभ इन कन्सर्ट’ बारे आयोजक मुन्टेज इन्टरनेसनल तथा संसारा यूकेले आइतबार जानकारी गराए । कन्सर्टमा गायक आफ्नो ब्यान्डका साथ उपस्थित हुनेछन् ।

नेपाली फिल्म र विभिन्न कलेक्सन एल्बममा गरेर सानुले दर्जनौँ नेपाली गीत गाएको मुन्टेजका रोशन पराजुलीले अवगत गराए । उनका ‘म त अब रिसाउँछु…’, ‘यो कथा हो तृष्णा मेरो…’, ‘यो दुई थोपा आँसु…’, ‘भरे आउँछु सपनीमा…’ जस्ता गीत चर्चित छन् । २७ वर्षे गायन करिअरमा उनले १७ हजारभन्दा बढी गीत गाइसकेको बताइन्छ ।

होटल याक एन्ड यतीमा हुने कन्सर्टमा नेपाली गायक/गायिकाहरूले पनि प्रस्तुति दिनेछन् । रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका वन्दना, स्मिता घिमिरेले गाउनेछन् भने कार्यक्रमको सञ्चालन कलाकार जितु नेपाल र अभिनेत्री निशा अधिकारीले गर्ने तय भएको छ । अभिनेत्री श्वेता खडकाको संस्था श्वेताश्री फाउन्डेसनको सहयोगार्थ कार्यक्रम गर्न लागेको आयोजकको दाबी छ ।

‘दुई छिमेकी मुलुक नेपाल र भारतको सम्बन्ध सुमधुर बनाउनुका साथै नेपालको पर्यटन विस्तारका लागि कार्यक्रम गर्न खोजेका हौं,’ संसारा यूकेका राजाराम गिरीले भने, ‘यूके र युरोपमा पनि उहाँको कन्सर्ट गर्ने प्लान छ । अन्तर्राष्ट्रिय ब्रान्डका कलाकारको कन्सर्टले नेपालको पनि प्रचार गर्ने अपेक्षा छ ।’

 

http://kantipur.ekantipur.com/news/2017-06-12/20170612091835.html

प्रतिक्रिया दिनुहोस्