नेपाली बन्धक बनाउने भारतीय प्रहरीका डिएसपी सहितको समुह पक्राउ
फाईल फोटो
पवन महरा, डोटी १८ जेठ भारतबाट आएर नेपालीलाई अपहरण गर्न खोज्ने भारतीय प्रहरीको एक समुहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । बुधबार राती दिपायल सिलगढी नगरपालीका ८ लडागडा निवासी लाल बहादुर नेपालीको अपहरण गरी भारत तर्फ लैजाने क्रममा जिल्ला प्रहरी कार्यालय डोटीले गोप्य स्रोतका आधारमा सिलढीबाट पक्राउ गरेको हो । पक्राउ परेका ५ जना भारतीय प्रहरी भारतमा काम गर्ने क्रममा एक बर्ष पहिला नेपालीले बैंकमा चोरी गरेको आरोपमा पक्राउ गर्न आएको स्रोतले जनाएको छ ।
भारतीय प्रहरीका डिएसपी नागराजको कमाण्डमा आएको उक्त प्रहरी टोलीले आउजीलाई मध्यराति उनकै घरमा कुटपिट गर्नुको साथै हात तथा मुखमा पट्टी बाँधी आफूले ल्याएको गाडीमा लैजान खोजेको स्थानीयले बताए । गत बर्ष बैशाख ११ गते हातहतियार सहित पाँच जना भारतीय प्रहरी पञ्जाबको डाक्टर हत्या प्रकरणका आरोपितलाई खोज्न भन्दै अछाम जान लागेका बेला डोटी र अछामको सिमाना चौखुट्टेबाट पक्राउ परेका थिए । समातिएकाहरुलाई नेपाल प्रहरीका उच्च पदस्थ कर्मचारीहरुले भारत समक्ष बुझाएका थिए । स्रोतका अनुसार पक्राउ परेका भारतीय प्रहरी माथि थप अनुसन्धान भैरहेको छ ।
प्रहरीले घटनामा संलग्न गाडी त्रिपालले छोपेर राखेका छन् । पत्रकारहरुलाई फोटो खिच्न पनि दिइएको छैन । डोटीमै घर भएका दुई नेपालीहरुको सहयोगमा उनीहरु धनगढीस्थित पीएस टुर्स एण्ड ट्राभल्सबाट गाडी रिजर्भ गरी डोटी आएका थिए । ‘मलाई डोटीको शैलेश्वरी घुम्न जाने भनेर गाडी मागे, त्यहाँ पुग्दा राति हुन्छ अहिले नजानुस् भन्दा मानेनन्,’ पिएस टुर्स एण्ड ट्राभल्सका संचालक पदम सिंहले भने, ‘दुईजना नेपाली थिए, बाँकी ५ भारतीय थिए । उनीहरुले गाडी मिलाइदिन बारम्बार दबाब दिएपछि पर्यटकका हिसाबले जीप खोजी दिएको हुँ ।’
पक्राउ गरिएका आउजीका छिमेकीका अनुसार राति करिव २ बजे भारतमा मजदूरी गर्दै आएका लडागडाकै प्रसाद कार्कीलाई उतैबाट समातेर लालबहादुर आउजीको घर देखाउन लगाएका थिए । भारतीय प्रहरीले लालबहादुरलाई घरमा सुतीरहेको अवस्थामा पक्राउ गरेका हुन् । प्रसादले मध्यरातमा ढोका खोल्न भनेपछि लालबहादुरकी श्रीमतिले ढोका खोलेकी थिइन् । एक्कासी भारतीय प्रहरी घरभित्र पसेर कुटपीट गर्नुका साथ जबरजस्ती गाडीमा बन्धक बनाएर ल्याएका थिए ।’
घटना लगत्तै स्थानीयले लडागडा प्रहरी कार्यालयलाई जानकारी गराएका थिए । लडागडा प्रहरी कार्यालयले गाडी समात्न नसकेपछि जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएका थिए । प्रहरी कार्यालयले कार्यालय बन्धक बनाइएका आउजीसहितलाई पक्राउ गरेको थियो । लालबहादुर आउजी चार महिना अघि भारतबाट चोरी गरेर नेपाल आएको स्रोतले बताएको छ । लालबहादुरका आफन्तका अनुसार उनलाई हिरासतमा राखिएको छ र कसैलाई भेट्न दिइएको छैन । लालबहादुरका आफन्तले अवैध रुपमा आएका भारतीय प्रहरीलाई नेपाल प्रहरीले प्रहरी प्रमुखको कक्षमा राखेको छ भने लालबहादुरलाई थुनामा राखेको आरोप लगाएका छन् ।
घटनाबारे जिल्ला प्रशासन कार्यालय डोटी पनि बेखबर छ । जिल्ला सुरक्षा समितिका प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी एक कार्यक्रमका लागि कार्यालय बाहिर छन् । कार्यालयका प्रशासकीय अधिकृत केशव लामिछानेले आफूलाई यस बारेमा कुनै जानकारी नभएको बताए । नेपालको सीमाभित्र भारतीय आएर राति दुई बजे अपहरण गर्ने हिम्मत गर्नु सामान्य कुरा नभएको स्थानीय कानून व्यवसायीको बुझाइ छ । उनी भन्छन्, ‘यस घटनाले नेपालको सुरक्षा अवस्था प्रष्ट देखियो, नेपाल प्रहरीको सक्षमतामाथि पनि प्रश्न उठेको छ ।’