Logo

लाहानकाे यातायात कार्यालयकाे शाैचालयमा बम विष्फोट

वैशाख २८, २०७४,अज्ञात समूहले सिरहाको लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयको शौचालयमा बिहीबार बम विष्फोट गराएको छ । सेवाग्राहीको घुइँचो रहने कार्यालयमा १२ बजेतिर ठूलो आवाजसहित भएको बम विष्फोटमा कुनै मानवीय क्षति भएको छैन ।
         विष्फोटबाट शौचालयको भित्ता र झ्यालका सिसा फुटेको छ भने भित्ताहरु चर्किएका छन् । कार्यालय प्रमुखको कार्यकक्ष नजिकैको माथिल्लो तल्लामा अवस्थित सेवाग्राहीले प्रयोग गर्ने शौचालयमा कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ । बम विष्फोट हुँदा सेवाग्राही र कर्मचारीमा भागदौड मच्चिएको थियो । विष्फोटनपछि कार्यालयको कामकाज बिहीबार दिनभर ठप्प रह्यो ।
      कार्यालय प्रमुख ओमकार प्रसाद न्यौपानेले आफ्नै कार्यकक्षमा कर्मचारीहरुसँग छलफल गरिरहेको बेला एक्कासी ठूलो आवाजले बम विष्फोट भएको जानकारी दिए । कुनै पनि समूहबाट चन्दा लगायत आफूलाई धम्की नआएकाले घटनाबारे उनले अनभिज्ञता जनाए ।
 घटनास्थलबाट हरियो झोलाको फित्ता, प्रेसर कुकरको सिठी र कन्टेनर फेला परेकाले प्रेसर कुकर बम हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनायो ।

               साभार कान्तिपुर
    

प्रतिक्रिया दिनुहोस्