१० कित्ता आईपीओ बेच्दा फाइदा कि होल्ड गर्दा?
हामी सबैलाई थाहा छ, कुनै पनि पब्लिक कम्पनीले आफ्नो पुँजी विस्तार गर्न इनिसियल पब्लिक अफरिङ (आईपीओ) जारी गर्छ। जसलाई साधारण सेयर पनि भनिन्छ। कम्पनीले जारी गर्ने सेयर कित्ता संख्याभन्दा आवेदन दिने सर्वसाधारणको संख्या धेरै हुँदा सबैको हातमा आईपीओ पर्दैन। परे पनि १० कित्ता पर्छ, त्यो पनि चिठ्ठामा। त्यसरी चिठ्ठामा परेको १० कित्ता सेयर बिक्री गर्ने कि होल्ड गर्ने त?
भर्खर पुँजीबजार प्रवेश गर्ने नयाँ लगानीकर्ताहरु १० कित्ता आईपीओ बेच्ने कि होल्ड गर्ने भन्ने अलमलमा परेकाे देखिन्छ। बेच्ने हो भने कतिखेर बेच्ने र होल्ड गर्ने हो भने कहिलेसम्म होल्ड गर्ने? द्विविधा छ। भर्खर सुरु भएको नेपालको पुँजीबजारमा सानो लगानीकर्ताले पनि सहभागी हुन पाउनुपर्छ भनेर केही समयअघिदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १० कित्तासम्म सेयर वितरण गर्नुपर्ने निर्णय गर्यो। सबैसँग ठूलो लगानी गर्ने क्षमता नहुने भएकाले सबैलाई पुँजीबजारको आम्दानीमा सहभागी हुन पाउनुपर्छ भन्ने यसको उद्देश्य हो।
बैंकमा निक्षेप राख्ने हो भने बैंकको नाफामा निक्षेपकर्ता अर्थात् सर्वसाधारणको सहभागिता हुँदैन तर पुँजीबजारमा राख्ने हो भने त्यसको नाफा र ‘क्यापिटल एप्रिसियसन’मा भाग लिन पाउँछ। यदि घाटामा गएमा घाटा पनि व्यहोर्नुपर्छ। अहिले १० कित्ता सेयरबाट आउने प्रतिफल र संख्याको व्यवस्थापन गर्न चुनौती खडा भएको छ।
एकातिर सेयर जारी गर्ने कम्पनीलाई चुनौती छ। किनभने सेयर संख्याभन्दा कयौँ गुणा बढी आवेदन पर्छ। गोलाप्रथाद्वारा सेयर जारी गर्नुपर्ने अवस्था छ। हुन त अहिले पहिलेभन्दा धेरै सहज छ। पहिला कागजमा फर्म भरेर काम हुन्थ्यो भने अहिले सबै डिजिटल भइरहेको छ। प्रक्रिया सजिलो भएको छ । अर्कोतिर लगानीकर्तालाई १० कित्ताले धेरै प्रतिफल दिन पनि सक्दैन। यो सेयर बजारमा लगानी गर्नेको लागि ठूलो गणना पनि होइन। त्यही भएर १० कित्ता सेयर राख्दा फाइदा कि बेच्दा भन्ने अलमल हुन्छ। तर नयाँ लगानीकर्तालाई भने यसले लगानी गर्ने बानी बढाउँछ।
कतिपय सय रुपैयाँको सेयर १९ हजारसम्म पुगेको अवस्था पनि छ। त्यस्तो अवस्थामा १० कित्ता सेयर किन्न पनि गाह्रो हुन्छ। कतिपय देशमा आईपीओलाई एक डलरमा वितरण गरिन्छ। त्यो ग्राहकको क्षमता, लगानीकर्ता कस्ता छन्, कम्पनी, पुँजीबजारको अवस्था लगायतमा भर पर्ने कुरा हो। हाम्रो पुँजीबजार भर्खर विस्तार हुन लागेकाले सबैले यसमा सरिक हुन पाऊन् भनेर १० कित्तामा झारिएको हो। मेरो हिसाबले हेर्ने हो भने आईपीओलाई दुई तरिकाबाट हेर्नुपर्छ। पहिलो कम्पनी विश्लेषणका आधारमा उपयुक्त समयमा बेच्ने। अर्को लामो समय होल्ड गर्ने अर्थात् नबेचिहाल्ने। म भने लामो समय होल्ड गर्नुपर्छ भन्ने पक्षमा छु।
कम्पनी विश्लेषण गरेर मात्र आईपीओ बिक्री गर्ने
आईपीओ कतिखेर बेच्ने भन्ने कुरा विभिन्न पक्षसँग जोडिएको हुन्छ। पहिलो पक्ष हो कम्पनी। कम्पनीले कस्तो प्रतिफल दिने क्षमता राख्छ, त्यो विश्लेषण गर्नुपर्छ। अझ सकिन्छ भने कस्ता सेयर होल्डर छन् भनेर जान्नुपर्छ। उसको वार्षिक विवरणमा टपटेन सेयर होल्डर वा पाँच प्रतिशतभन्दा माथिका सेयर होल्डरको सूची राखेको हुन्छ।
प्रत्येक वर्ष सेयर होल्डर परिवर्तन भइरहेका छन् कि? पाँच प्रतिशत वा त्योभन्दा धेरै सेयर राखेकाहरु परिवर्तन भइरहेका छन् कि? त्यो सबै चिज हेर्नुपर्छ। यदि ठूलो सेयर लगानीकर्ता परिवर्तन भइरहेका छन् भने नाफा कमाएर छोड्ने खालका रहेछन् भन्ने देखाउँछ। यो मूल्यांकन गरेर राख्ने कि नराख्ने भन्ने निर्णय लिन सक्नुपर्छ।
त्यस्तै, अर्को पक्ष हो सेयर कित्ता संख्या। उसले कति कित्ता सेयर जारी गरेको छ भन्नेमा पनि भर पर्छ। यदि राम्रो कम्पनीको सेयर कम परिमाणमा आएको छ भने त्यसको मूल्य बढिरहन्छ। जस्तो कि अहिले माइक्रोफाइनान्स, बीमा कम्पनीहरुको सेयर मूल्य बढी देखिएको छ किनभने उनीहरुको सेयर वितरण नै कम छ। कम कित्ता जारी भएकोले सेयरबजारमा पनि कम वितरण हुन्छ। त्यस्तो सेयरमा धेरैको आँखा गइरहेको हुन्छ। बजारमा कम कित्ता छ भने मूल्य बढ्ने सम्भावना हुन्छ।
लामो समय होल्ड गर्ने
मेरो हिसाबले १० कित्ता सेयर बिक्री गरेर तुरुन्तै तात्विक भिन्नता आउँदैन। तर, त्यसलाई राखिरहने हो भने १०–१२ वर्षमा राम्रो प्रतिफल दिनसक्छ। १५ वर्षअघि ३ करोडमा खुलेका बैंक अहिले ३ अर्ब पुगेका छन्। उनीहरुले बोनस पनि दिइरहेका छन्। अर्कोतिर, हाइड्रोपावरको सय रुपैयाँको सेयर ५० रुपैयाँसम्म पनि आएको थियो। अहिले त्यो २ सय रुपैयाँ प्रतिकित्ता मूल्य पुगेको छ। त्यो बेला आत्तिएर बेच्नेले अहिले घाटा व्यहोरे।
यिनै उदाहरण हेर्दा सानो मूल्यको आईपीओमा परेको सेयरलाई होल्ड गर्दा नै उत्तम हुन्छ। सानो सेयरलाई हतार गरेर बिक्री गर्नुहुँदैन।कहिलेसम्म होल्ड गर्ने भन्ने कुरा लगानीकर्ताको आफ्नो क्षमताको कुरा हो। यो बजारको सामान्य ट्रेन्ड र लगानीकर्ताको आवश्यकता, सेन्टिमेन्टलगायतका विभिन्न पक्षसँग जोडिएको हुन्छ तर सानो रकमको सेयर राख्दा घाटा हुँदैन।
आईपीओमा परेको सेयर १०–१२ वर्षसम्म ‘होल्ड’ गर्दा ‘फ्रिज’ हुने पैसा भनेको एक हजार रुपैयाँ मात्र हो। बैंकमा राखे पनि धेरै ब्याज आउने पनि होइन। यसलाई कसरी बुझ्न सकिन्छ भने कहिलेकाहीँ कुनै पुरानो कपडाको खल्तीमा राखेको वा घरको कुनै कुनामा खसेको एक हजार रुपैयाँ दुई वर्षपछि भेट्दा दंग भइन्छ। हो, त्यसैगरी आईपीओलाई पनि केही वर्ष बिर्सिनुपर्छ। धेरै वर्षपछि त्यसको महत्व बढ्छ। तर, यो बीचमा कम्पनीको अवस्थाबारे भने ज्ञान राखिराख्नुपर्छ।
आम्दानी र घाटाको सीमा राख्ने
आईपीओ बिक्री गर्ने कि होल्ड गर्ने कुरा होस् वा दोस्रो बजारको सेयर होस्, दुवैमा कतिसम्म होल्ड गर्ने भन्ने कुरा आफूलाई कति समयभित्र कति प्रतिफल चाहिने हो भन्ने योजनामा भरपर्छ। सेयरबजार भनेको अन्य व्यवसाय गर्दा जस्तो झन्झट व्यहोर्नुपर्ने होइन। लगानी गरेपछि बसेर नाफा लिने हो। यस्तो अवस्थामा आफूले पुँजीबजारमा गरेको लगानीको प्रतिफल खोज्ने निश्चित सीमा र समय बनाउनुपर्छ।
त्यसबाट आउने प्रतिफल बैंकको ब्याजभन्दा बढी आउने हिसाबले गर्नुपर्छ। बैंकमा राख्दा १० प्रतिशत ब्याज पाइन्थ्यो भने पुँजीबजारमा ‘रिस्क’ लिएर राखेकोले कम्तीमा वार्षिक २० प्रतिशत प्रतिफल ल्याउने लक्ष्य राख्नुपर्छ। पोर्टफोलियोलाई ‘मेन्टेन’ गर्नुपर्छ। कुनैबाट नाफा लिनुपर्छ भने कुनैबाट लाभांश लिएर राख्नुपर्छ। कुनैमा घाटा पनि हुनसक्छ। यी कुरामा आ–आफ्नो सोचाइ र योजना स्पष्ट हुनुपर्छ।
तर, सेयरबजारमा धेरै लोभ गर्नुहुँदैन। सेयर भनेको यस्तो चिज हो, आज बेच्यो भने भोलि फेरि पाइन्छ। त्यसकारण आफूलाई यति प्रतिफल भए पुग्छ भन्ने बेन्चमार्क हुनुपर्छ। घाटामा गए पनि योभन्दा बढी घाटा हुनुहुँदैन भन्ने सीमा राख्नुपर्छ। यसलाई बजारकै परिभाषामा ‘स्टप लस’ भन्ने गरिन्छ।
कतियप लगानीकर्तामा धेरै घाटा व्यहोर्ने क्षमता पनि हुन्छ। त्यसैले कहिले बेच्ने, कतिसम्म होल्ड गर्ने भन्ने व्यक्तिपिच्छे फरक हुन्छ। यसको लागि आफ्नै योजना बनाउनुपर्छ। सबैले मेरो नाफा यति हो र घाटा भएमा यतिभन्दा बढी लिन्न भन्ने हिसाबले जानुपर्छ। तर, कहिलेकाहीँ ‘विन फर गेन’ पनि हुन्छ।
सेयर बजारमा नयाँ पुस्ता
अहिले खुसीको कुरा के छ भने नयाँ पुस्ता पनि सेयर बजारबाट स्वरोजगार भएका छन्। कतिपय सरकारी निकायले कर्मचारीले सेयरबजारमा लगानी गरे, उत्पादनमूलक भएन भन्ने कुरा पनि गर्छन्। तर, उनीहरुले पनि सेयरबजारबाट आएको पैसाले कहीँ न कहीँ त लगानी गरेका छन्। उनीहरुले पनि पुँजी उत्पादन गरिरहेका छन्।
अहिले आईपीओ भर्नेको संख्या ह्वात्तै बढेको छ। ६ वर्षअघिसम्म ८ लाख लगानीकर्ता रहेकोमा अहिले २३ लाख त डिम्याट अकाउन्ट खुलिसकेको छ। अहिले बैंक खाता २ करोडभन्दा धेरैको भएजस्तै पछि डिम्याट खाता पनि सबैको हुन्छ। त्यही भएर नेपालको पुँजीबजार एकदमै बढ्ने अवस्थामा छ। अहिले नेपालको वयष्क जनसंख्या करिब ३० प्रतिशत हाराहारीमा छ। सक्रिय जनसंख्या नै ७० लाखभन्दा धेरै छन्। उनीहरु सबै लगानी गर्नसक्ने समूह हो। तिनीहरुमध्ये २२ लाखले खाता खोलेका छन्। अझै ७५ प्रतिशत लगानीकर्ता थपिनसक्ने अवस्था छ। यो बजार विस्तारै बढ्दै जाने देखिन्छ। त्यही भएर आईपीओ पर्ने सम्भावना कम हुँदै गएको हो।
कति आईपीओ मात्र भनेर बसिरहेका छन्। त्यो रणनीति पनि राम्रो हो। पहिला लामो समय लाग्थ्यो, लामो समयसम्म पैसा होल्ड हुन्थ्यो। अहिले सिस्टममा धेरै सुधार भएको छ। बाहिर पनि धेरै व्यक्तिको चाहना आईपीओमा देखिन्छ। लिष्टिङ (सूचीकृत) हुँदाबित्तिकै नाफामा बेच्न सकिन्छ। आईपीओमा सहभागी हुन अब अन्य कम्पनीहरुलाई पनि पुँजीबजारमा ल्याउनुपर्छ। अहिले पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाहरुको मात्र बाहुल्य छ।
अरुलाई पनि स्टक मार्केटमा आउँदा बढी सुविधा दिने बनाउनुपर्छ। सबै आउनुपर्छ भन्ने मेरो धारणा हो। यसले व्यापार बढ्छ र कुनै पनि व्यापार व्यवसायले ऋण लिन बैंकमा मात्र जाने जुन एकाधिकार छ त्यो कम पनि हुन्छ। स्टक मार्केटबाट पनि लगानी उठाउन सकिन्छ भन्ने स्थापित हुन्छ।
साभार – नेपाल खबर