Logo

सेयरबजार आकाशियो बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण

सेयरबजार आकाशिएको छ। साताको अन्तिम कारोबार दिन झण्डै १७ अर्ब रुपैयाँको शेयर कारोबार हुँदा नेप्से सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ। यस दिन नेप्से सूचक २९.६४ अंकले बढेर २८५६.७७ विन्दुमा पुगेको छ। जुन हालसम्मकै उच्च विन्दु हो। यस्तै सेन्सेटिभ इन्डेक्स पनि ७.९६ अंकले बढेर ५१३.१२ विन्दुमा पुगेको छ।

कारोबार रकम पनि झण्डै १७ अर्ब नजिक पुगेको छ। बिहीबार २१८ वटा कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रुपैयाँमा खरिदबिक्री भएको छ। बिहीबार बजारमा बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। यस दिन बैंक, विकास बेंक र फाइनान्स उपसमूहको सूचक सबैभन्दा उच्च रुपले बढेको छ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने ४ उपसमूहको सूचक नकारात्मक देखिएका छन्। बैंकिग उपसमूहको सूचक २.७१ प्रतिशतले बढ्दा बिकास बेंक र फाइनान्स उपसमूहको सूचक पनि क्रमशः ३.७२ प्रतिशत र ३.३४ प्रतिशतले बढेकाे छ। हाइड्रोपावर उपसमूहको सूचक भने सबैभन्दा धेरै २.०४ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्