ठेक्का भएको २२ महिना बित्दापनि फास्ट ट्रयाकमा १.३३ किलोमिटर मात्रै सुरुङ खनियो
काठमाडौँ – काठमाडौं/तराई–/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) मा ठेक्का भएको २२ महिनामा १.३३८ किलोमिटर मात्र सुरुङ खनिएको छ । पहिलो खण्डअन्तर्गत छोक्रेडाँडादेखि धेद्रेसम्म ३.३५५ किलोमिट सुरुङमध्ये ६७६ मिटर सुरुङ खनिएको छ ।
दोस्रो खण्ड अन्तर्गत ३.०३ किलोमिटर दूरी रहेको धेद्रेदेखि लेनडाँडासम्म ६६२ मिटर सुरुङ खनिएको नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता एवम् सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार फागुनसम्म पहिलो खण्डमा ६६० मिटर सुरुङ खन्ने लक्ष्य थियो । ‘यो खण्डमा लक्ष्य भन्दा बढी नै सुरुङ खन्ने काम भएको छ,’
भण्डारीले भने, ‘समग्रमा सुरुङ निर्माणको कामले गति लिँदै गएको छ ।’ यो आयोजनाकै सबैभन्दा लामो सुरुङ रहेको उनको भनाइ छ । ‘दोस्रो खण्डमा फागुनसम्म ८ सय मिटर सुरुङ खन्ने लक्ष्य थियो, तर पोर्टल (भित्र पस्ने द्वार) बनाउन समय लागेकाले प्रगति कम भएको हो,’ प्रवक्ता भण्डारीले भने, ‘यसमा पनि विस्तारै प्रगति देखिँदै जाने छ ।’
दुवै प्याकेजका निर्माणको ठेक्का चाइनिज कम्पनीले लिएका छन् । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले छोक्रेडाँडादेखि धेद्रेसम्म सुरुङ निर्माणको ठेक्का पाएको हो । जसको ठेक्का रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ ।
चाइनिज निर्माण कम्पनी पोली च्याङ्दाले धेद्रेदेखि लेनडाँडासम्म सुरुङ निर्माण गर्ने ठेक्का पाएको हो । जुन खण्डको ठेक्का रकम २८ अर्ब ५३ करोड रुपैयाँ छ । दुवैको ठेक्का २०७८ वैशाख ३१ गते तीन वर्षभित्र सक्नेगरी भएको हो । अबको १४ महिना भित्रमा ठेक्का लिने कम्पनीले सुरुङ निर्माणको काम सकिसक्नुपर्नेछ ।
सुरुङ खन्नु अघि तयारी गर्नुपर्ने भएकाले केही ढिलाइ भएको प्रवक्ता भण्डारीको भनाइ छ । ‘समग्र आयोजनाको भौतिक प्रगति २१.१८ प्रतिशत छ, तर सुरुङ निर्माणमा २०.३८ प्रतिशत प्रगति छ,’ उनले भने, ‘अहिले ठेक्का सम्झौता भएको खण्डहरुमा रफ्तारमा काम भइरहेको छ ।’
समग्र आयोजनाको निर्माण समयावधि २०८१ मंसिर मसान्तसम्म मात्र छ । अझै केही खण्डमा ठेक्का व्यवस्थापन हुन नसकेकाले उक्त समय भित्र निर्माणको काम सकिने अवस्था देखिँदैन ।