Logo

नेप्सेको गिरावट निरन्तर

साताको पहिलो दिन २६.८७ अंकले घटेर १९ सयको बिन्दु मुनि, १ अर्ब २८ करोडको कारोबार

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आज आइतबार पनि गिरावट जारी रहेको छ । निरन्तर गिरावट भइरहेको शेयर बजार आज १९ सयको बिन्दु भन्दा तल पुगेको छ । आज नेप्से २६.८७ अंकले घटेर १ हजार ८ सय ८८ दशमलब २७ विन्दुमा पुगेको छ । बिहिबार नेप्से १८.१५ अंकले घटेर १ हजार ९ सय १५ दशमलब १४ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, नेप्सेमा उच्च गिरावट भएसँगै कारोबार रकममा पनि गिरावट भएको छ । आज नेप्सेमा १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीहरु मध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीको शेयरमूल्य घटेको छ, २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज मायाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३५३.३० रुपैयाँ पुगेको छ भने एशियन हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६१.४० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज जिवन विकास लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त र युनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यि कम्पनीहरुको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ८ करोड ६२ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्