Logo

माघे सङ्क्रान्तिको परिचय र महत्व

नेपालीहरूले परम्परागत रूपमा मनाउँदै आइरहेको अर्को प्रचलित चाडको नाम हो माघे सङ्क्रान्ति, यसलाई विभिन्न नामले पुकार्ने गरिन्छ, जस्तै मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि आदि, जुन माघ महिनाको पहिलो दिनमा पर्दछ । उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ । माघे सङ्क्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको पाइन्छ । माघे सङ्क्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै “मकर सङ्क्रान्ति” भनिएको हो भन्ने भनाइ रहँदै आएको । सोही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने विश्वास गरिन्छ ।

माघे सङ्क्रान्ति दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भन्दो र मकलसहितको सिधा दाङ गरेमा विशेष प्राप्त हुने र उक्त फल आफूले खाएमा शरीर पोषिलो हुनुका साथै रोगब्याधी नलाग्ने कुराको उल्लेख भविष्य पुराण, बिष्णुबचन तथा धर्म सिन्धुमा उल्लेख गरेको पाइन्छ । विविध जाति र समुदायको बाहुल्यता रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ । तराईका जिल्लाहरूमा मैथिलीले तिल सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । माघीलाई थारुहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठुलो पर्वको रूपमा लिइन्छ । मगर जातिहरूले यस पर्वलाई ३ दिनसम्म विशेष धूमधामका साथ मनाउने गर्दछन् ।

पहिलो दिन स्नान गरेर पुर्खा तथा कुलायनको पूजा गर्ने र दिदीबहिनीलाई “निशो” ले पुज्ने प्रचलन छ । दोस्रो दिन माघ खान वनभोजको रूपमा टाढा जाने गर्दछन् भने अन्तिम दिन गाउँभरिका पुरुषहरू मिलेर तारो हान्ने चलन छ । हिजोआज भने माघे सङ्क्रान्ति देश विदेश जतासुकै मनाउने प्रचलन बढ्दै गएको छ । तिलका लड्डु, चाकु, तरुल र सेल रोटी जस्ता विभिन्न परिकारको साथमा माघे सङ्क्रान्तिको रमझम गर्ने गरेको पाइन्छ । जाडो याममा पर्ने यो चाडमा शरीरलाई न्यानो राख्न सहयोग पुर्याउने खाध्य सामाग्रीहरूको प्रयोग गरिनु स्वास्थ्यको हिसाबले पनि लाभदायक देखिन्छ । शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

      -अनिता बिस्ट (झापा ️)

प्रतिक्रिया दिनुहोस्