कोभिड-१९ विषाणुको नयाँ प्रकार कति घातक?
काठमाण्डौं – कोरोनाभाइरसको “नयाँ भेरीअन्ट” वा “नयाँ स्ट्रेन” बारे आउने समाचार राम्ररी बुझ्न मेरो एउटा साधारण तरिका छ।”के यो परिवर्तनले भाइरसको व्यवहार बदलिएको छ?” यो प्रश्न सोध्ने। भाइरसको आनुवंशिक परिवर्तन वा म्यूटेशन सुन्दा डरलाग्दो लाग्छ। तर भाइरसको सामान्य प्रवृत्ति नै यसरी म्यूटेशन (उत्परिवर्तन) भएर फेरिइरहनु हो।
अधिकांश यस्ता परिवर्तन अर्थहीन हुने गर्छन् वा भाइरसले आफूलाई बदल्दा त्यो संक्रामक हुन छाड्छ र आफैँ हराएर जान्छ। कहिलेकाहीँ भने उसको परिवर्तनले उसलाई थप संक्रामक वा घातक बनाउन सक्छ।
इङ्ग्ल्यान्डमा देखा परेको प्रकार कस्तो हो?
हालै इङ्ग्ल्यान्डको दक्षिणपूर्वी भागमा देखा परेको कोरोनाभाइरसको नयाँ स्ट्रेन अर्थात् प्रकार पुरानोभन्दा धेरै संक्रामक भएको वा थप घातक भएको वा खोपप्रतिरोधी भएको कुनै स्पष्ट प्रमाण फेला परेको छैन।
तर दुईवटा कारणले वैज्ञानिकहरूले यसमाथि ध्यान केन्द्रित गरिरहेका छन्। पहिलो त यो नयाँ स्वरूपको भाइरस धेरै सङ्क्रमण भइरहेका स्थानमा फेला परेका छन्।यो चेतावनीको एउटा सूचक हो जबकि यसलाई दुवै किसिमले अर्थ्याउन सकिन्छ। भाइरस म्यूटेशन भएर चाँडो र धेरै फैलिएको हुनसक्छ।
तर कहिलेकाहीँ सही मानिसमा संक्रमण फैलाएर पनि भाइरस धेरै फैलिएको देखिन सक्छ। उदाहरणका लागि गर्मी याममा यूकेमा ‘स्पेनी स्ट्रेन’को कोरोनाभाइरस फैलियो। धेरै मानिसहरूले स्पेनमा घुमफिर गरेर फर्किँदा त्यो बोकेर आएकाले त्यसो भएको थियो। प्रयोगशालामा सूक्ष्म अध्ययन गरेपछि मात्रै यो अहिलेको नयाँ स्ट्रेन थप संक्रामक हो कि होइन भन्ने थाहा हुन्छ।
कोरोनाभाइरसका दुई उल्लेखनीय म्युटेशन
अनि यो भाइरसको म्यूटेशन कसरी भइरहेको छ भन्ने दोस्रो विषयले पनि वैज्ञानिकहरूको ध्यानाकृष्ट भएको छ। “यसमा एकदमै धेरै म्यूटेशन भइरहेका छन्। हामीले अपेक्षा गरेकोभन्दा धेरै। अनि केही परिवर्तन रोचक देखिन्छन्,” कोभिड-१९ जिनोमिक्स यूके (सीओजी-यूके) कन्सोर्सियमका प्राध्यापक निक लोम्यानले बताए।
दुईवटा उल्लेखनीय म्यूटेशन भएका देखिन्छन् , तिनका नाम भने अलि जटिल छन्।दुवै परिवर्तन कोरोनाभाइरसको सतहमा देखिने तीखा ‘स्पाईक’ प्रोटीनमा भएका देखिन्छन्। यिनै स्पाईकको सहयोगले यो भाइरस हाम्रो शरीरको कोषमा टाँसिएर भित्र छिर्छन् र रोग लगाइदिन्छन्।
पहिलो म्यूटेशन N501 भनिएको छ र यसले स्पाईकको सबभन्दा महत्त्वपूर्ण भागमा परिवर्तन ल्याएको छ।यही भाग मार्फत् स्पाईकले हाम्रो शरीरको कोषमा पहिलो स्पर्श गर्छ। कोषभित्र छिर्न थप सजिलो बनाउने कुनै पनि यस्ता परिवर्तनले भाइरसलाई मद्दत पुग्छ।
अर्को म्यूटेशनको नाम “H69/V70 डिलिशन” छ जुन यसअघि धेरै पटक देखा परेको थियो। यही म्यूटेशन भएको भाइरस मिङ्क जनावरमा पनि देखिएको थियो।यो म्यूटेशन भएको भाइरसबाट सङ्क्रमित भएका बिरामीहरूमा कोभिडबाट निको भएका बिरामीको एन्टिबडी प्रयोग गर्दा प्रभावकारी नभएको चिन्ता व्यक्त भएका थिए।तर यसको पनि स्पष्ट पुष्टि गर्न थप प्रयोगशाला अध्ययन आवश्यक हुन्छ।
खोपमा के असर?
भाइरसको स्पाईक प्रोटीनमा भएका म्युटेशनहरूले कोभिडविरुद्धका तीन अग्रणी खोपबारे पनि प्रश्न उठेका छन्। फाइजर, मोडर्ना र अक्सफर्ड तीनै वटाको खोपले भाइरसको यही स्पाईक प्रोटीनमा आक्रमण गर्छन्। तर मानिसको शरीरले स्पाईकको विभिन्न भागमा प्रतिरोध गर्न सिक्छ। त्यसैले यी खोपले नयाँ स्वरूपका भाइरसविरुद्ध पनि काम गर्नेमा स्वास्थ्य अधिकारीहरू ढुक्क छन्। यो भाइरस जनावरहरूमा विकसित भएर एक वर्षअगाडि मानिसमा सरेको हो।
त्यसयता यसले प्रत्येक महिना दुईवटाका दरले म्यूटेशन गरिरहेको छ। वूहानमा देखा परेको सुरुको स्वरूपसँग अहिलेको भाइरसको स्वरूप तुलना गर्ने हो भने २५ थरी परिवर्तन भइसकेको देखिन्छ। कोरोनाभाइरसले मानिसलाई सही तरिकाले सङ्क्रमित पार्ने शैली विकास गर्ने क्रममा थुप्रै म्यूटेशन गरिरहेको छ। यस्तो हामीले पहिले पनि देखेका थियौँ: G614 नामक अर्को स्वरूपको भाइरसको उत्पत्ति र विश्वव्यापी विस्तारलाई कैयौँले भाइरसले थप सङ्क्रामक बन्न सफल प्रयास गरेको रूपमा अर्थ्याए।
तर अब छिट्टै खोपको आम अभियान सुरु भएपछि त्यसले भाइरसमाथि भिन्न प्रकारको दबाव सिर्जना गर्नेछ किनकि त्यसपछि उसले प्रतिरोधी मानिसलाई सङ्क्रमण गर्न आफू परिवर्तित हुनैपर्छ। यदि त्यस्तो भयो भने कोरोनाभाइरसको खोप पनि, फ्लूको खोपजस्तै, नियमित रूपमा अद्यावधिक वा परिष्कृत गर्दै जानुपर्छ।