Logo

तिहारलगत्तै त्रिविका परीक्षा सञ्चालन गरिने

विध्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने तयारी

काठमाण्डौं –  त्रिभुवन विश्वविध्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविध्यालयले दिएको छ । त्रिभुवन विश्वविध्यालयका रजिस्ट्रार प्रा. पेशल दाहालले स्थगित परीक्षाका बारेमा तिहारअघि नै सूचना आउने र तिहारपछि परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो ।

अन्तिम तहको परीक्षा प्राथमिकतामा

विश्वविध्यालयले स्थगित गरिएकामध्ये अन्तिम तह या सेमेस्टरमा अध्ययन गर्ने विध्यार्थीलाई प्राथमिकता दिने योजना बनाएको छ । यस क्रममा स्नातक तह चौथो वर्ष या स्नातकोत्तर तहको अन्तिम सेमेस्टरका विध्यार्थीको परीक्षा पहिलो प्राथमिकतामा राखिएको छ । विध्यार्थीको शैक्षिक सत्र सदुपयोग हुन सकोस् भन्ने हिसाबले विश्वविध्यालयले अन्तिम तहका विध्यार्थीलाई प्राथमिकतामा राखिएको हो ।

सेमेस्टरको मङ्सिर १५ पछि

विश्वविध्यालयले स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिर १५ पछि सञ्चालन गर्ने भएको छ । यस वर्ष मङ्सिर १ गते तिहार परेको छ । विध्यार्थीलाई दुई साताको समय दिएर परीक्षा सञ्चालन गर्न लागिएको हो । सेमेस्टरमा अध्ययन गर्ने विध्यार्थीको परीक्षा सञ्चालन गर्ने अधिकारको विश्वविद्यालयको डिन कार्यालयलाई दिइएको छ । डिन कार्यालयले मङ्सिरमा परीक्षा लिने भने पनि कार्य तालिका भने सार्वजनिक गरेका छैनन् । अब डिन कार्यालयले सेमेस्टरमा अध्ययन गर्ने विध्यार्थीको स्वतन्त्र तरिकाले परीक्षा सञ्चालन गर्न सक्नेछन् ।

वार्षिकको परीक्षा अन्तिम साता

यसैबिच विश्वविध्यालयले वार्षिक परीक्षा प्रणाली अनुसार अध्ययन गर्ने विध्यार्थीको परीक्षा मङ्सिर अन्तिमबाट सञ्चालन गर्ने भएको छ । विश्वविध्यालयले परीक्षा सञ्चालन गर्न आवश्यक तयारी र गृहकार्य गरिरहेको जानकारी रजिस्ट्रार दाहालले दिनुभयो । मानविकी, शिक्षा शास्त्र, व्यवस्थापन विषयमा वार्षिक परीक्षा प्रणालीमा हजारौँ विध्यार्थी अध्ययन गर्ने भएकाले ती विध्यार्थीको परीक्षा केही सातापछि हुने गरी लिन लागिएको हो । यस विषयमा विश्वविध्यालयले छिट्टै विध्यार्थीलाई सूचित गर्ने भएको छ ।

भौतिक उपस्थितिमै परीक्षा

विश्वविध्यालयले भौतिक उपस्थितिमै विध्यार्थीको परीक्षा लिने कुरा आफ्नो पहिलो प्राथमिकतामा भएको जनाएको छ । पूर्वाञ्चल विश्वविध्यालय, लुम्बिनी बौद्ध विश्वविध्यालय लगायतका विश्वविध्यालयले स्नातक तथा स्नातकोत्तर तहको परीक्षा अनलाइन माध्यमबाट लिएपनि उच्च शिक्षामा धेरै विध्यार्थीको चाप रहेको त्रिविले भने भौतिक उपस्थितिमै परीक्षा लिने योजना बनाएको हो । रजिस्ट्रार दाहालले विध्यार्थीलाई भौतिक रूपमा नै परीक्षा लिने आफूहरूको तयारी रहेको बताउनुभयो ।

तर कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको अवस्थामा भने विकल्पका बारेमा सोच्न सकिने जनाइएको छ । विश्वविध्यालयले काठमाडौँमा आउन सक्ने अवस्थाका विध्यार्थीलाई यहीँ परीक्षा लिने र आउन नसक्ने अवस्थाका विध्यार्थीलाई काठमाडौँ बाहिरका केन्द्रबाट पनि परीक्षा दिन सक्ने सुविधा उपलब्ध गराएको जानकारी उहाँले दिनुभयो । विध्यार्थीलाई परीक्षामा सहभागी हुन सहज होस् भनेर परीक्षा केन्द्र छनोट गर्न दिइएको हो । धेरै विध्यार्थी भएका कारण परीक्षाको निर्णय लिनमा केही समय लिए पनि अब परीक्षा निर्बाध रूपमा सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्