Logo

मिंकको उत्परिवर्तन (म्युटेसन) ले कोरोना संक्रमण

युरोपिएन मुलुकमा खरबौंको घाटा

कोपेनहेगन डेनमार्क – मिंकमा कोरोना संक्रमण देखिएपछि डेनमार्कका प्र.म. मेटे फ्रेड़ेरिक्सनले देशका केहि भूभागमा सोमबारबाट लागू हुने गरि लकडाउन घोषणा गरेकी छिन् ।उनले लकडाउन गरिएका ठाउँका नागरिकहरुलाई फेसबुकबाट आग्रह मात्र गरिनन् कि बन्द अवधिभरको क्षतिपूर्ति समेत सरकारले उपलब्ध गराउने बाचा गरिन् । अपबाद बाहेक हजारौंले सरकारको निर्णयलाई समर्थन गरेका छन् । केहिले किन निश्चित भूभागमा मात्र बन्द गर्ने, सबै गर्नुपर्छ भनेर समेत प्रश्न उठाएका छन् । बन्द गर्नुको प्रमुख कारण मिंकमा कोरोना संक्रमण र उत्परिवर्तन (म्युटेशन) हो ।

उत्तरी जुटल्याण्डका सात वटा कम्युन र करिब ९ कि.मी. क्षेत्र भित्रका बासिन्दालाई त्यहिँ निश्चित घेरामा बस्न प्र.म. ले अनुरोध गरेकी छन् । लामो तथा छोटो दुरीका सबै निजि तथा सार्वजनिक सवारीका साधन बन्द गरिएका छन् । मिंक प्रजनन् तथा उत्पादन केन्द्रहरुमा मानिसबाट मिंक र पुन : उत्परिवर्तन भई १२ जनामा कोरोना भाइरस संक्रमण भएको प्रयोगशालाको रिपोर्ट पछि स्थिति भयावह हुन सक्ने  आँकलन गरिएको छ । झन्डै १२०० फार्म हाउसमा पालिएका एक करोड ५० लाख मिंक नस्ट गर्नु अपरिहार्य रहेको स्वास्थ्य अधिकारीहरुको रिपोर्टमा उल्लेख छ ।

स्थानिय जनताको स्वास्थ्यलाई ध्यान दिनु सरकारको पहिलो दायित्व भएको र मिंकमा उत्परिवर्तन भएको भाइरस संक्रमण बिस्तृत भएमा विश्वमा यसले नचिताएको परिणाम ल्याउन सक्ने बताइएको छ । साथै हाल तयार भइरहेको कोरोना बिरुद्धको खोप समेत अप्रभावकारी हुन सक्ने चिन्ता ब्यक्त गरिएको छ ।

अमेरिका पछि सम्भवत: डेनिस मिंक उध्योग संसारको ठूलो भुवा उध्योग मानिन्छ । यतिको ठूलो संख्यामा मिंक नष्ट गर्दा यो उद्योगमा ब्यापक नोक्सानी पर्नाले किसानहरु निकै चिन्तित छन् । यस्तो अप्रिय निर्णय गर्नुपर्दा मुटुमा गाँठो परेको यहाँकी प्र. म. मेटेले उल्लेख गरेकी छन् । यस घटनाको प्रत्यक्ष प्रभाव युरोपका अन्य देशहरुमा पनि पर्ने देखिन्छ । स्मरण रहोस, नेदरल्याण्ड सरकारले कोरोना महामारी शुरु हुनुभन्दा पहिलानै सन् २०२४ सम्ममा आफ्ना उध्योगहरुमा मिंकको संख्या घटाउँदै लैजाने योजना अगाडि सारेको थियो ।

डेनमार्कको पछिल्लो घटना सार्वजनिक भएपछि उसले मिंकमा आधारित सबै उध्योगहरु बन्द गर्ने निर्णय गरिसकेको छ । जून महिनाको शुरुमै डेनिस मिंक फार्म हाउसमा ११,००० बिरामी जनावरहरु नष्ट गरिएका थिए । पछिल्लो घटनापछि डेनमार्क, नेदरल्याण्ड र स्पेनमा दशौँ लाख मिंक नष्ट गरिसकिएका छन् । अझै लाखौँको संख्यामा नस्ट गरिने योजना अगाडि सारिएका छन् ।

वंशाणुगत तथा वातावरणीय कारणले कोरोना भाइरस मानिसबाट सजिलै यो प्रजातिमा सर्ने पछिल्लो अनुसन्धानले देखाएको छ । मिंक प्रजातिको जनावरको ठूलो बथान एउटै ठाउँमा राखेर पालिने हुँदा उनीहरुमा कोरोना भाइरस छिटो संक्रमण हुने सिडिसी रिसर्च सन् २०२० को अध्ययनले पुष्टि गरेको छ । पुस्तौं पुस्तादेखि मिंक फार्मिङमा आफ्नो व्यवसाय धान्दै आएका र देशको कुल राष्ट्रिय आम्दानीमा महत्वपूर्ण योगदान दिँदै आएका किसानहरु अहिले शोकमा डुबेका छन् । त्यसैले सरकारले सम्पूर्ण क्षतिपूर्ति उपलब्ध गराउने बाचा गरेको छ ।

बेल्जियमको राजधानी ब्रसेल्समा मुख्य कार्यालय रहेको मिंक व्यवसायीहरुको छाता संगठन फुर युरोप जसले २८ युरोपियन देशहरुको प्रतिनिधित्व गर्दछ, उसले डेनिस अनुसन्धानको पछिल्लो नतिजा र सरकारको निर्णयमा शंका ब्यक्त गरेको छ । उसले मिंक फ़ार्मिङको कोरोना भाइरससँग हालसम्म कुनै सम्बन्ध जोडिएको प्रमाण फेला नपरेको भन्दै डेनिस अनुसन्धानको पछिल्लो नतिजा उपलब्ध गराउन माग गरेको छ । केहि अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता र स्वास्थ्य अधिकारीहरुले मिंक र कोरोना भाइरसबिच खास सम्बन्ध नरहेको जिकिर गरेका छन् । यद्दपी अध्ययन जारी छ ।

डेनमार्कले वार्षिक एक करोड ६६ लाख मिंक उत्पादन गर्दछ भने विश्वको सबैभन्दा बढी मिंकको छाला निर्यात गर्दछ । विश्व बजारमा यहाँको मिंकको छाला महँगो मूल्यमा बिक्रि हुने गर्दछ । कोपनहेगन फुरले वार्षिक एक करोड ९० लाख मिंक छाला अक्शनमा बिक्रि गर्ने गर्दछ भने ७० लाख अन्य देशका छालाहरु बिक्रि गर्दछ । यसको मुख्य बजार भने चीन रहेको छ ।

मिंक डेनमार्कको पशुपालनमा आधारित तेश्रो ठूलो उध्योग हो । वार्षिक एक अरब १० करोड आम्दानी गर्ने यो उध्योग अब  करिब धरासायी हुने निश्चित भइसकेको छ । मिंक उध्योगमा विश्व बजारको ४० प्रतिशत माग धान्ने डेनिस क्षमता अब केहि दिनमा शुन्यमा झर्ने अवस्था छ।कार्निभोरस प्रजातिको स्तनधारी जीव मिंकको भाले १ किलो लम्बाइमा २४ इन्च जति र पोथी करिब ६०० ग्रामको र लम्बाई ५१ इन्चको हुन्छ । यो जीव करिब दश वर्ष बाँच्ने गर्छ । चरा, अण्डा, माछा मासु यसका आहारा हुन् । यसको छालाबाट ज्याकेट, कोट स्विटर तथा अन्य बिलासी पहिरन बन्छन् ।

प्रतिक्रिया दिनुहोस्