Logo

गम्भीर लक्षण देखिएका सङ्क्रमित होम आइसोलेशनमा बस्दा ज्यान जाने जोखिम बढ्दै

काठमाण्डाै – लक्षण देखिएका सङ्क्रमित होम आइसोलेशनमा बस्दा गम्भीर समस्या हुनसक्ने भन्दै डाक्टरले लक्षण नभएमा मात्रै घरमै बस्न सुझाव दिएका छन् । अहिले कोरोनाको गम्भीर लक्षण देखिएकाहरु पनि घरमै आइसोलेशनमा बस्दा ज्यान जाने जोखिम बढेको सरुवा रोग विषेशज्ञ डाक्टर अनुप बाँस्तोलाले बताउनुभयो ।

उहाँका अनुसार लक्षण नदेखिएका, हल्का रुघाखोकी र सामान्य लक्षण भएका सङ्क्रमित मात्रै होम आइसोलेशनमा बस्नुपर्छ । तर उच्च ज्वरो आए, श्वास फेर्न गाह्राे भए, गन्ध तथा स्वाद थाहा नभए, खोकी लागिरहे, टाउको दुखिरहे र पखाला लागिरहे अस्पताल जानुपर्ने डाक्टर अनुप बाँस्तोलाले बताउनुभयो । खोकी र ज्वरो बढिरहेको भए तुरुन्त अस्पताल जान उहाँको सुझाव छ ।

उहाँका अनुसार लक्षण सहितको कोरोना सङ्क्रमितमा निमोनियाको लक्षण देखिन झण्डै ५ देखि १० दिन लाग्छ । रातिको समयमा श्वासप्रश्वासको समस्या बढ्ने उहाँले बताउनुभयो । यस्तै, अक्सिजन कम भएमा कतिपयले घरमा नै अक्सिजन लिएर बस्दा निमोनियाको समस्या बढेर जाने गरेको पाइएको छ ।

निमोनिया भएर पनि घरमै बस्यो भने थप स्वास्थ्य जटिलता बढ्ने उपचारपछि पनि सुधार हुन मुस्किल पर्ने डाक्टर बाँस्तोलाले बताउनुभयो । पछिल्लो समय एक्कासी स्वास्थ्य समस्या देखिएर बिरामीलाई अस्पतालमा पुर्याउँदा शैय्या नपाउने समस्या बढेको छ । यही कारण कतिपयको अस्पतालमा शैय्या खोज्दाखोज्दै, अस्पतालसम्म जान गाडी खोज्दाखोज्दै पनि ज्यान जाने गरको पाइएको  छ ।

यस्तै, कतिपय बिरामीहरु भने कोरोनाको लक्षण देखिँदा पनि १४,१५ दिन आइसोलेशनमा बस्नुपर्छ भनेर पीसीआर परीक्षण नै नगराइ घरमै बसिरहँदा पनि समस्या भएको डाक्टरले बताएका छन् । अहिले काठमाण्डौ उपत्यकाको अस्पतालमा भर्ना हुनेमा धेरैजसो अक्सिजन चाहिने र गम्भीर खालका सङ्क्रमितहरु मात्र रहेका पनि डाक्टर बाँस्तोलाले बताउनुभयो । अस्पतालको आईसीयू अहिलेपनि भरिभराउ नै रहेको उहाँले बताउनुभयो । तर आइसोलेशन वार्डहरु भने खाली हुँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्