Logo

हत्यारालाई कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद नेपालले बुझायो ज्ञापनपत्र

कार्तिक १०, काठमाण्डौ – नवलपरासीमा हत्या गरिएका सन्तको हत्यारालाई कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद नेपालले प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीमार्फत ज्ञापनपत्र बुझाएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू
प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार काठमाण्डौ
नेपाल सरकार (मार्फत– प्रमुख जिल्ला अधिकारी, नवलपरासी पश्चिम)

विषय – ज्ञापन पत्र ।

सम्माननीय प्रधानमन्त्री महोदय,

मिति २०७७ कार्तिक ९ गते नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं।४ नर्सही, पश्चिम डाडी स्थिति हनुमान मन्दिरका पूज्य सन्त श्री महगु केवटको हत्या गरिएको घटनाप्रति विश्व हिन्दू परिषद, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा साधुसन्त समेत सुरक्षित नरहनु दुर्भाग्यपूर्ण हो । सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थासँग जोडिएको साधु–सन्तहरुको सृंखलाबद्ध हत्या एवं साधु–सन्तमाथि सांघातिक आक्रमणले सम्पूर्ण सनातनी समाज मर्माहीत तथा आक्रोशित भएको छ । उक्त अमानवीय घटनाको विहिप नेपाल कडा शब्दमा निन्दा गर्दछ । हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र कानुनी दायरामा ल्याई सार्वजनिक गरी कारवाही गरियोस् साथै मृतक सन्तलाई सहिद घोषणा गर्दै सन्तसमाजको सुरक्षा–व्यवस्था मिलाउन सरकार समक्ष विश्व हिन्दू  परिषद नेपाल माग गर्दछ ।

बारम्बार हिन्दू आस्थामाथि आँच आउने गरी हत्या, हिंसा आक्रमणको घटना बढ्नुले नेपालको फितलो सुरक्षा व्यवस्थालाई प्रदर्शित गरेको छ । यस किसिमको हत्या–हिंसाविरुद्ध सरकारले विशेष पहल गरी समयमै आपराधिक तत्वलाई निरुत्साहित गर्न अपिल समेत गर्दछौँ ।
बारम्बार हिन्दू आस्थामाथि प्रहार भैरहे हिन्दू समाज तथा हिन्दू संगठनहरु कडारूपमा प्रस्तुत हुन बाध्य हुनेछ र तत्पश्चात् सिर्जना हुने परिस्थितिको जिम्मेवार सरकार स्वंय हुनुपर्नेछ ।
जय श्री राम । नेपाल आमाको जय ।

-राजेश गुप्ता (जिल्ला संयोजक, नवलपरासी पश्चिम)

प्रतिक्रिया दिनुहोस्