Logo

कोरोना भाइरस: ‘एङ्जाइटी’ भनेको के हो र सहयोग कसरी पाइन्छ ?

काठमाण्डौं – गएको ६ महिनामा हाम्रो जीवनमा धेरै नाटकीय परिवर्तन भएका छन् र त्यसले हामीमा चिन्ता र एङ्जाइटी बढाएको एउटा नयाँ अध्ययनले देखाएको छ। अध्ययनले आमाबुवाहरू खासगरी आफ्ना छोराछोरीको स्वास्थ्यप्रति चिन्तित रहेको देखाएको छ।

एङ्जाइटी हुँदा के हुन्छ र कसरी त्यसबाट मुक्त हुन सकिन्छ ?

एङ्जाइटी भनेको तनावग्रस्त हुनु वा चिन्तित हुनुभन्दा फरक हो। साधारण अवस्थामा हामीलाई कहिलेकहीँ यी सबै हुने गर्छ र त्यस्तो कहिलेकहीँ हुनु राम्रो कुरा पनि हुन सक्छ। तर निरन्तरको एङ्जाइटी त्रासको रूपमा बस्छ र मनबाट त्यस्तो भाव लामो समय गएन र झन् गाढा भयो भने त्यसले तपाईँको जीवनलाई असर पार्न थाल्छ। तपाईँ दैनिक गर्नुपर्ने कामबाट टाढिनुहुन्छ, काम रोक्नुहुन्छ।

एङ्जाइटी हुँदा तपाईँ जतिखेर पनि चिन्तित हुनुहुन्छ, थाक्नुहुन्छ र कुनै कुरामा केन्द्रित हुन सक्नुहुन्न। यसले तपाईँको निद्रामा समस्या ल्याइदिन्छ र तपाईँलाई मानसिक अवसादको स्थितिमा पुर्‍याइदिन सक्छ। तपाईँको शरीरमा असर पार्ने अरू लक्षणहरू पनि हुन सक्छन्। जस्तो कि मुटुको अति तीव्रचाल वा सास फेराइ, पसिना आउने, रिङटा लाग्ने पखाला लाग्ने वा बिरामी महसुस गर्ने आदि। एङ्जाइटी विभिन्न प्रकारका हुन सक्छन् र मध्यमदेखि गम्भीर लक्षण देखाउने हुन सक्छ।दश जनामा एकजनालाई कुनै समयमा एङ्जाइटी या कुनै कुरादेखि डरलाग्ने समस्या हुन सक्छ तर धेरैजसोले त्यसको उपचार खोज्दैनन्।

सहयोगका लागि कहाँ जाने ?

द रोयल कलेज अफ साइकियाट्रिष्ट यूकेले आफैँले आफूलाई सहयोग गर्न यस्ता उपाय सुझाएको छ,

  • साथी वा नातेदारसँग कुराकानी गर्ने
  • सेल्फ हेल्प अथवा अनलाइन सहयोग समूहमा सदस्य बन्ने
  • तनाव कम गर्ने उपायहरू सिक्ने

योग वा कसरत गर्दा, किताब पढ्दा र सङ्गीत सुन्दा मद्दत मिल्न सक्छ। मदिरा सेवन कम गर्दा वा चुरोट खान छोड्दा पनि एङ्जाइटी कम गर्न सहयोग पुग्न सक्छ। यस्ता समस्याबाट मुक्तिका लागि आफैले पढ्न सकिने किताबहरू पनि पाइन्छन्। कग्निटिभ बिहेभियरल थेरापी (सीबीटी) एउटा त्यस्तै किताब हो। यसमा आफूसँग भएका धेरै समस्यालाई पहिला खण्डित गर्न सिकाइन्छ।

यो व्यग्रताका गम्भीर लक्षण भएका बच्चाहरूलाई पनि सहयोगी हुन सक्छ र आमाबुवालाई त्यस्तो थेरापी कसरी गराउने भन्ने सिकाउन सकिन्छ। एङ्जाइटी यूकेकी निकी लीडबेटर भन्छिन्, “चुपचाप बसेर त्यसबाट पीडित हुनु हुँदैन।”उनले डाक्टरकहाँ जाने र आफ्ना लक्षण भन्न सुझाव दिइन्।उनी भन्छिन्, “तर सबैका लागि एउटै उपाय काम नगर्न पनि सक्छ।”

 बिबिसी

प्रतिक्रिया दिनुहोस्