Logo

मानव स्वास्थ्य – अमूल्य जीवनमा बढ्दो कुलतको दुस्प्रभाव

              -डा.उत्तम खनाल (विष्लेषक)

जीवन अमूल्य छ । जीवनलाई हाँसेर जिउने रहर सबैलाई हुन्छ तर जीवमा खुसी पाउनका लागि मानिसले के पो नगर्ला र । तर मानिसले सधैँ खुसी पाउने नाउँमा गरेका कामहरू सही नहुन पनि सक्दछ । आवेग र हतारमा गरेको कर्मको फलले पछि गएर आफ्नै लागि बोझ नबनोस् सच्चा दिलको कामना यही हो । के सही के गलत यकिन नगरी गरिएको कर्मले भविष्यको श्राप भइदियो भने जीवनमा पछुताउनु बाहेक अरू केही हात पर्दैन । हो यही जीवन, हाँसेर बाँच्नका लागि, खुसी पाउनका लागि, जीवनदेखि निराश भएका केही मानिसले गलत बाटोको सहारा लिन पुगेका छन् । त्यो बाटोले क्षणिक खुसी पनि दिन्छ, जीवनमा आनन्दपनि मिल्ला तर आफूले आफैलाई भित्रभित्रै सखाप पारिरहेको कुरा स्वयं पनि थाहा हुँदैन । यो एउटा यस्तो बाटो हो जहाँ खुट्टा राखेपछि जो कोही बाहिरिन नसक्ने हालतमा पुग्छ । अनि जीवनको महत्व के कति छ भनेर उसले यतिवेला अवगत गर्छ जब जीवनले उसलाई छोड्ने तयारी गर्दै हुन्छ । यही घडी उ सुध्रिएर बाँच्न चाहन्छ तर समयले साथ दिन सक्दैन । कुलतले खोक्राएको त्यो क्षण कसैको बहसमा हुँदैन र धर्तीबाट सदाको लागि बिदा हुनुको विकल्प रहँदैन ।

१. के हो लागु पदार्थ ?

विश्व स्वास्थ्य संगठनका अनुसार “कुनै पदार्थ जसको सेवनबाट प्राणीको क्रियाकलापमा एक वा सो भन्दा बढी परिवर्तन ल्याउँछ”। यसलाई सरल भाषामा भन्दा मानिसको मस्तिष्क वा स्नायुलाई प्रत्यक्ष रूपमा प्रभाव पारी शरीरका अंगहरु ज्यादै शिथिल एवं उत्तेजित बनाउने खालको वस्तुको सेवनलाई लागु पदार्थ भनिन्छ । अर्थात् लागू पदार्थ वा लागू औषधी भन्नाले त्यस्ता वस्तुलाई जनाउँछ जसको प्रयोगले मानिसको स्नायु एवं मस्तिष्कमा प्रत्यक्ष प्रभाव पार्दै शरीरका अंगहरुलाई ज्यादै शिथिल तथा उत्तेजित बनाउँदछ । यो एउटा यस्तो लत हो जसमा फसेपछि न छुटकारा पाउन न उन्मुक्ति नै ।

२. कसरी गर्छन् त सेवन ?

सेवनका आधारमा तुलना गर्ने हो भने लागू पदार्थ उपयोग कर्ताले मूलतः तीन प्रकारले यसको प्रयोग गरेका छन् भनेर भन्न सकिन्छ । प्रयोगको प्रकृति,स्वरूप र अवस्थालाई मनन गर्ने हो भने सम्पन्न तथा विपन्न वर्ग बिचमा विभेद देखिएको छ । उनीहरूको आर्थिक अवस्था अनुसार प्रयोग गरिने वस्तुको छनोट, गुण र मात्रामा फरक फरक वातावरण र परिवेशका अवस्थाहरू रहेको अनुसन्धानबाट खुल्न आएका छन् । कुल घराना परिवारले बढी महंगा वस्तुको प्रयोग गरेका हुन्छन् भने साधारण परिवारका व्यक्तिले प्रयोग गर्ने वस्तुको मात्रा तथा मूल्यमा अलि कम मूल्यका वस्तुहरू प्रयोग गरेका हुन्छन् ।

प्रयोगको निम्न प्रकृति हुने गरेको छ ,

क) पेयजन्य – जुन लागू पदार्थ धुवाँको रूपमा पिउने गरिन्छ साथै जसको सेवनबाट नसा नसामा तरंगित बनाउँछ भने त्यस प्रकारको वस्तुलाई पेयजन्य लागू पदार्थ भनिन्छ । जस्तै : गाँजा, चरेस, हिरोइन, कोकिन, स्म्याक आदि । यी वस्तुलाई सेवन कर्ताले धुवाँको रूपमा सर्को मारेर पिउने तत्पश्चात् लट्टिने गर्दछन् ।

ख) सुग्ने (डेन्ड्राइट) –  नाकको सहायताले सुँघेर गन्धद्दारा लट्ठिने खालको लागू पदार्थलाई डेन्ड्राइट भनिन्छ । यस्ता पदार्थहरू सुँघ्नेको संख्या शहर बजारमा प्रशस्त भेटिन्छ जसलाई हामी सडक छाप (खाते) को नामबाट चिन्ने गरेका छौँ । लागू औषधको लतमा परेका कारण उनीहरूले जुत्ताको पोलिस, गम आदिलाई प्रयोग गरिरहेका हुन्छन् । त्यसैगरी सम्पन्न परिवारका ब्यक्तिहहरुले भने ब्राउनसुगर, ह्वाईट सुगर सुँघेर पुरै लट्ठिने गर्दछन् ।

ग) सिरिन्जद्दारा लिइने नसा – कतिपय लागूपदार्थ नसाको माध्यमबाट लिने गरिएको हुन्छ जहाँ उक्त पदार्थलाई प्रयोगकर्ताले सिरिन्जद्दारा शरीरको नसा मार्फत कोष कोषमा सञ्चार गराई झुमहुने वा लट्ठिने गर्दछन् । जस्तै– डाइजेपाम, स्टागन,फेनार्गन आदि । यी औषधी अस्पतालमा बिरामी उपचारका लागि प्रयोग गरिने हुँदा इजाजत प्राप्त फार्मेसीहरुमा पाइने र बिक्री वितरण हुने गरेका छन् ।

३.सेवनका कारणहरू

लागू पदार्थ कसैले पनि जानेर सेवन गरिरहेको हुँदैन । खास गरी साथीभाइको सङ्गत, व्यस्त पारिवारिक जीवन शैली, एकान्तपनको शिकार, प्रेममा लगातारको असफलता, घरायसी कच्कच् तथा कलह, काममा निरन्तर असफल, सामाजिक अपमान, आर्थिक संकट वा बेरोजगारी, लामो समयसम्मको तिरस्कार जस्ता कारणबाट हार मानी स्वतन्त्र जीवन जिउने बहानामा यसलाई प्रयोगको कारण बनाइन्छ । सँधैको हारबाट जीवन बाँच्ने सहाराको रूपमा समेत लागू पदार्थलाई प्रयोग गर्ने गरेका हुन्छन् । नेपालका कैयौँ युवा वर्ग यसको चपेटा भित्र रुमलिँदै आफू र आफ्नो भविष्य अन्धकारमा डुबाइरहेका छन् । अतः निम्न कारणबाट मानिसहरू लागू पदार्थको कुलतमा फस्ने गरेका छन् ।

  • पारिवारिक बेमेल वा आफ्ना सन्तानलाई समय दिन नसक्नु।
  • गरेको काममा लगातारको असफलता, प्रेममा धोका।
  • अनावश्यक चिन्ता, पिर एवं कलहयुक्त तनावबाट मुक्त हुन।
  • आत्मसम्मान र पारिवारिक ममताबाट विक्षिप्तता हुँदाको बखत त्यसबाट छुटकारा पाउन।
  • दुर्व्यसनीको सङ्गत तथा लहलहैमा पर्नाले।
  • लागूपदार्थ तस्करी गिरोहको आर्थिक प्रलोभन एवं सो सञ्जालको फन्दामा परेर।

४. परिणाम तथा असरहरू

लागू पदार्थले शारीरिक, मानसिक र संवेगात्मक पक्षमा नकरात्मक प्रभाव परिरहेको हुन्छ । कुनै असरहरू तत्काल देखिने (अल्पकालीन) हुन्छन् भने कुनै लामो समयपछि मात्र देखिने (दीर्घकालीन) हुन्छन् । असरहरू अल्पकालीन हुन या दीर्घकालीन तिनीहरूले मानिसलाई हानी बाहेक अरू कुनै लाभ पुर्याई रहेको हुँदैन ।

क) अल्पकालीन असर उपयोग कर्तामा प्रयोग पश्चात् छिटै देखिने खालका स्वभावहरूलाई अल्पकालीन असर भनिन्छ । यी असरहरू सेवन गरेको केही समय पछिबाटै देखिन थाल्दछ । जस्तै झनक्क रिसाउनु, दुब्लाउँदै जानु, स्मरण शक्ति घट्दै जानु, एकोहोरो हुनु, भनेको कुरा नसुनेझैँ गर्नु वा झस्कनु, सोचाई र काम गराइमा समन्वय नहुनु, भोक कम लाग्नु, शरीर झुम्म भएर लट्ठिँदै जानु, वाक् वाक् लाग्नु वा वान्ता हुनु, परिवारबाट टाढा टाढा हुँदै जानु आदि ।

ख) दीर्घकालीन असर यस्ता असरहरू प्रयोग गर्ने मानिसमा समयको केही अन्तरालपछि मात्र देखिन थाल्दछ । लागू पदार्थको लतमा पुरै डुबेपछि यी असरहरू देखिने हुनाले यति वेला प्रयोगकर्तामा गम्भीर समस्या उत्पन्न भैसकेको हुन्छ । जस्तै अरूको धनराशि लुट्ने, चोर्ने जस्ता सामाजिक अपराध र विकृतिहरू बढ्दै जानु, बाँझोपन भई निःसन्तान हुनु, मुटु, फोक्सो र रक्तचाप जस्ता समस्याहरू देखा पर्नु, एच.आई.भि एवं हेपाटाइटिस वि र सी समेत हुनु, मानसिक सन्तुलन गुमाउँदै जानु, परिवारका सदस्य तथा अन्य व्यक्तिमा विभेद नगर्नु, समाजको अपहेलित पात्र हुनु र सामाजिक समस्याका रूपमा खडा हुनु आदि ।

५.कसरी बस्छ लत ?

लागू पदार्थलाई कानुनले ओसारपसार, विक्रि वितरण, उत्पादन एवं उपभोग गर्न निषेधित गरेको छ । यति हुँदाहुँदै पनि यसको सञ्जाल व्यापक र विस्तार हुँदै विश्वव्यापी समस्याको भयावह रूप बनेको छ । यसको उत्पादन कसले र कहाँ गर्छ ? कसरी गरेको छ ? विक्रि वितरण र ओसारपसारमा कस्ता कस्ता व्यक्तिको संलग्नता रहेको छ ? यसको निरन्तर अनुसन्धान भइरहेको छ तर कानुनको आँखा छल्दै आपूर्ति गर्ने र सेवन गर्नेको संख्यामा कुनै कमी आएको छैन । त्यसोभए यसको लतले नै हरेक प्रयोग कर्तालाई अन्तिम विन्दुसम्म जानका लागि सहयोग गरिरहँदो रहेछ ।

लागू पदार्थको प्रयोग गर्छु, कुलतमा फस्छु भनेर जानाजानी कसैले आफूलाई होमिदिएको हुँदैन । यी क्रियाकलापमा सामाजिक, पारिवारिक, मानसिक, आर्थिक र मनोवैज्ञानिक घटनाक्रमहरूले भूमिका खेलिरहेका हुन्छन् । अभिभावकले पनि उसको सङ्गत कस्तो छ, कहाँ जान्छ ? को को साथी छन् ? तिनीहरूको स्वभाव र आचरण कस्ता प्रकारका छन् भनेर निगरानी कमै राख्दछन् । समय दिँदैनन् र ठानेका हुन्छन् सबै पुरा गरिदिएकै छ, राम्रै होला तर यतिले मात्र अभिभावकको दायित्व पूरा भएको मानिँदैन । जब मानिस एकोहोरिन थाल्छ तब विचार गर्नु पर्छ कि उसमा केही कुरा खेलिरहेको छ, चाहे त्यो राम्रो या नराम्रो पनि हुनसक्छ । बराबर सोधपुछ, छलफल, परामर्श र भावनाहरू आदान प्रदान गरिदिने हो भने गहिरो तल नबस्नपनि सक्छ ।

हो, मानिसको यही रुमलिरहेको भावनात्मक संवेदनशीलता माथि कुलतमा फसेका व्यक्ति वा सञ्जालको गिरोहले खेल्ने स्थान पैदा हुन गएमा आज, भोलि र पर्सि गर्दै उसलाई त्यसको तल बस्छ । त्यही वस्तुको सम्झना आउन थाल्छ अनि हरेक दिन खाउँखाउँ लाग्छ । खान नपाउँदा औडाहा हुने, भित्र भित्रै पोल्ने, पागलपना देखिने, सन्तुलन गुमेझैँ हुने, शिथिल हुने, लखतरान भएर ढल्ने जस्ता परिणामबाट मुक्ति पाउनका लागि यसको सेवनलाई निरन्तरता दिनुको अरू कुनै विकल्प ठानेको हुँदैन । यसको रसायनले एकपटक प्रयोग गर्नेलाई दोस्रो पटक खाउँखाउँ लाग्ने तल्तल पैदा गराई दिन्छ । उसले बिर्सने प्रयास गरेको हुन्छ सुरुसुरुमा तर एक पटक प्रयोग गरौँ गरौँ भएपछि उसले पुन: सेवन गर्छ । भोलि लतको मात्रा झन् दोब्बर भएर आउँछ र नपाउँदासम्म बिरामी नै हुन्छ ।

यसरी बस्छ लत,

एकपटक खाएपछि, आर्थिक प्रलोभनमा परेर, खराब साथीको सङ्गत गरेर, दुखबाट उन्मुक्ति पाउँछु भनेर, बदलाको भावना लिएर, तिरस्कार पैदा गराएर, परिवारको माया पाउने अभिलाषा राखेर वा घृणा स्वरूप बदला लिने विचार सिर्जना गरेर ।

६. कसरी बच्ने या बचाउने त ?

भविष्य वर्बाद होस्, जीवन खेर जाओस् कसैको चाहना हुन्न । मानिसले गरेको काम सुख पाउनकै लागि हो तर सबै काममा सुख हुँदैन । आनन्दका लागि भनेरै गरिएको काम हो पत्रपत्रिका पढ्नु, सिनेमा हेर्नु, कथा कविता पढ्नु, साहित्य लेख्नु, भ्रमण गर्नु, खेलकुदमा भाग लिनु, बियर ह्विस्की पिउनु तर यी सब कुरामा मानिस जब गहिरिइँदै जान्छ तब त्यसैको लत बस्छ अनि साहित्य लेख्नेका लागि लेखनमै ध्यान जान्छ, पिउनेका लागि पिउनु, घुम्नेका लागि घुम्नु जति मज्जा आउँछ अरू काममा हुँदैन । हो, हरेक मानिसमा केही न केही लत बसेकै हुन्छ को तर नराम्रो चिजको लत बसाउनु भने अवश्य हुँदैन । “खाली समय शैतानको घर” भने झैँ जब मानिस फुर्सदिलो हुन्छ मनमा नानाभाँति विचारहरू सलबलाउने समय मिल्छ । आएका ती सबै बिचारहरू सही हुँदैनन् तर उसका लागि त्यो नै ठिक हुन्छ । त्यसकारण हरेक मानिसले आफूलाई कुनै न कुनै काममा संलग्न भई व्यस्त गराएकै राम्रो ।

  • पढ्ने वहानमा उनीहरू कहाँ जान्छन्, कस्ता साथीको सङ्गत छ, के के गर्छन् अभिभावकले अप्रत्यक्ष निगरानी गर्ने ।
  • घरमा बालबच्चालाई भरपुर समय दिने साथै दिनभरि भए गरेका कामको बारेमा मन्थन गर्ने गराउने ।
  • हरेक अभिभावकले पढ्नैका लागि मात्र दवाव नदिई अतिरिक्त क्रियाकलाप गर्न प्रोत्साहन गर्ने ।
  • नाच्यो, गायो, खेल्यो भनेर गाली नगरी समयको सीमा तोकी पढ्न उत्प्रेरित गर्ने गराउने ।
  • अभिभावकले आफ्ना बालबालिकाहरूको दैनिक क्रियाकलाप बारम्बार निगरानी राख्ने ।
  • कुलतमा लाग्ने आशंका भएका साथीको सङ्गत नगर्ने, गर्न नदिने र त्यसबाट टाढै बस्ने ।
  • लागूपदार्थ सम्बन्धी प्रचारात्मक शिक्षालाई व्यापक बनाउने ।
  • टोल टोलमा पुस्तकालय, वाचनालय, योग तथा व्यायामशालाको स्थापना गर्ने ।
  • समाजमा घुलमिल बढाउन सामाजिक कार्यमा संलग्न रहने वा संलग्न हुन प्रेरित गर्ने ।
  • लागू पदार्थ उत्पादन, ओसारपसार, बेचबिखन, तथा प्रयोगलाई कडाइका साथ नियन्त्रण गर्ने ।
  • पारिवारिक सम्बन्ध सुमधुर बनाउने वा बच्चाको अगाडी घरमा अनावश्यक झैझगडा नगर्ने ।
  • फुर्सदको समयलाई सदुपयोग गर्न खेलकुद, व्यायाम, गायन, नृत्य, कला, साहित्य लेखन एवं मनोरञ्जनका क्रियाकलापहरूमा सरिक हुने ।
  • दुर्व्यसनीलाई त्यस्ता क्रियाकलाप त्याग्न सल्लाह दिँदै पुनर्स्थापना केन्द्रमा लैजाने ।
  • हरेक टोल वा विध्यालयमा खबरदारीका लागि क्लब गठन गराई सक्रियता बढाउने ।

यसरी लागू पदार्थको दुष्प्रयोगबाट आफू पनि बच्ने र आफ्ना छरछिमेकलाई पनि उचित वातावरणमा बाँच्नका लागि सबै अग्रसर हुनुपर्ने बेला आएको छ । अनि हरेक विध्यालयमा बालक्लब मार्फत विध्यार्थी सचेतनामूलक कार्यक्रमको थालनी गराउनु आवश्यक छ । यो काम गर्नका लागि केही आर्थिक व्यवस्थापनको पाटो सहजीकरण बनाउन विध्यार्थीबाट दैनिक एक रुपैयाँ सङ्कलन गर्ने, शिक्षकबाट दैनिक तीन रुपैयाँ र स्थानीय गाउँपालिका वा नगरपालिकाले बार्षिक एकमुष्ट प्रति विध्यालय बालक्लबलाई दस हजार आर्थिक सहयोग गर्ने हो भने यसबाट स्वास्थ्य जागरणका कार्यहरू सम्पादन गर्न गराउन सकिने हुन्छ ।

हरेक मानिसले जीनको मूल्य वोध गरेर त्यसलाई कुन आकारमा लैजाने र भोलिको भविष्य कस्तो देख्ने भनेर विचार पुर्याउनु आवश्यक छ । हरेक घरका आमाबाबुले छोराछोरीको कृृयाकलापमा के कस्तो तरिकाले वितेकोछ भनी विचार गर्नु पर्ने हुन्छ । त्यसै गरी विध्यालयले भोलिको जोखिमलाई आजैदेखि मनन गर्नुपर्छ र सोहि बमोजिमका पूर्व तयारीका कार्यक्रम सञ्चालन गर्नुपर्छ । अभिभावकले पनि आफ्ना छोराछोरी बिग्रिएपछि सुधारका उपायतिर लाग्नु भन्दा बेलैमा सचेतना अपनाउँदै निराकरण तर्फ लागौँ । पछुताएर टाउकोमा हात लगाउनु भन्दा मेरो बच्चाले के के गर्दैछ ? किन बाटो बिराउँदै छ ? कस्ताको सङ्गतमा छ ? जस्ता विषयमा बारम्बार निगरानी गर्दै उसको समस्या समाधानका उपायहरू खोजीतर्फ लाग्नु आवश्यक छ । हरेक विध्यालयले कक्षामा पढाउने मात्र नभई प्रत्येक विध्यार्थीको आनीबानी नजिकबाट अवलोकन गर्दै उनीहरूको दैनिकीलाई रेकर्ड गर्दै शिक्षक, अभिभावक र विध्यार्थी बिच त्रिपक्षीय रूपमा सँगै बसेर छलफल गर्दै अप्रत्यक्ष निगरानीमा राखी अमूल्य जीवनको बोध सिकाउने गर्नुपर्छ नत्र कोभिड–१९ को कारण झन् बढी समस्या भावी दिनमा भोग्नुपर्ने हुन्छ ।

प्रकाशित मिति, २०७७ साल भाद्र २५ गते बिहीवार 

प्रतिक्रिया दिनुहोस्