Logo

शंकास्पद सुन प्रकरणमा नयाँ ट्विस्ट, प्रहरी नै तस्करका मतियार !

कारोबार आज,साउन २० गते, मंगलवार,२०७७,काठमाण्डौं-  नेपालमा सुन तस्करीको जालो विचित्रको छ । सुन तस्करीकै विषयमा वर्षौं अघिदेखि ठूल्ठूला घटना भइरहेका छन् । सुन प्रकरणसँगै जोडिएर प्रहरीका उच्च अधिकृतदेखि जवानसम्म हिरासत पुगिसकेका छन् । प्रतिष्ठित व्यापारी, नेता, उच्च घराना समेत विभिन्न घटनामा मुछिएका छन् ।

सुन तस्करीसँग जोडिएर आउने घटनाको शृंखला भने रोकिएको छैन । यही साउन गत १३ गते मंगलबार प्रहरीले बरामद गरेको साढे १४ किलो चाँदी र आधा किलो सुन अपरेशन अहिले विवादको घेरामा छ । तस्करी प्रकरणमा प्रहरीकै भूमिका शंकास्पद देखिएपछि अहिले यो विषयमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नेतृत्वको समितिले अनुसन्धान गरिरहेको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआइजी विश्वराज पोखरेल भन्छन्, ‘सुन बरामद प्रकरणमा अपरेसनमा संलग्न प्रहरीकै भूमिका शंकास्पद देखिएपछि अहिले एसएसपीको नेतृत्वमा छानविन समिति गठन गरेर अनुसन्धान गरिरहेका छौँ । प्रहरीको कमजोरी भेटिएको छ । अनुसन्धान सकिएपछि सत्य तथ्य बाहिर आउँछ ।

प्रहरीले नै भगाए तस्कर

गत १३ गते बरामद सुन प्रकरणमा घटनाको अपरेसनमा संलग्न प्रहरीकै भूमिका शंकास्पद देखिएको छ । छानविन समितिले गरेको अनुसन्धानमा एकपछि अर्को गर्दै नयाँ पाटो खुल्दै जाँदा प्रहरीकै भूमिकामाथि प्रश्न उठेको हो । छानविन समितिका एक सदस्यका अनुसार सुनचाँदी तस्करी समूहका व्यक्ति भगाउन प्रहरीकै हात रहेको खुलेको छ ।

ती सदस्यले भने, महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रहरी जवान बहादुरसिंह कडायत र प्रशन्न श्रेष्ठ अभियुक्त समात्न भन्दा भगाउन लागेको अनुसन्धानबाट पुष्टि भएको छ । उनका अनुसार उनीहरूले नै सामान बोकेको बा६च ५५१९ नम्बरको स्कोर्पियोलाई काठमाडौंको कमलादीबाट पिछा गर्दै सुन्धारामा पुगेर सामान लिए र स्कोर्पियोमा रहेका व्यक्तिलाई भगाए ।

छानविन समितिकै अर्का सदस्य भन्छन्, प्रहरीले नै सामान लिएर भगाएको देखिन्छ । प्रहरीले नै लुकाउन लगाएको एक किलो सुन पनि भेटिएको छ । यसबाट प्रहरीको भूमिका शंकास्पद भएको पुष्टि हुन्छ । घटनामा तस्करहरूले प्रहरीको दुरुपयोग गरेको पूर्वप्रहरी अधिकारीको विश्लेषण छ । नेपाल प्रहरीको विशेष ब्यूरोको कमाण्ड सम्हालिसकेका पूर्वडीआइजी हेमन्त मल्ल भन्छन्, ‘यो घटनामा संलग्नहरू बीचमै झगडाको अवस्था देखिन्छ, उनीहरूले नै एकले अर्कोलाई फसाउन प्रहरीको दुरुपयोग गरेको देखिन्छ ।’ घटना सुन र चाँदीसँग मात्र सम्बन्धित नभएर जाली नोट, हतियार लगायतमा पनि सम्बन्धित देखिएको छ ।

मल्लले भन्छन्, ‘यो समूह सुनचाँदीबाहेक जाली नोटको कारोबार र हतियारसँग पनि सम्बन्धित छ । घटना यतिमा मात्र सीमित नभएर योभन्दा माथि अरू गिरोह पनि संलग्न हुनसक्छन्, यसतर्फ पनि प्रहरी अनुसन्धान हुनुपर्छ ।’अहिले यो प्रकरणमा दुई प्रहरी जवानलाई ,संगठित अपराध मुद्दामा अनुसन्धान थालिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले दरबारमार्ग वृत्तमा कार्यरत प्रहरी जवान बहादुर सिंह कठायत र प्रशन्न श्रेष्ठलाई संगठित सुन तस्करी मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको बताए ।

उनले भने, ‘अदालतबाट संगठित अपराध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेका छौँ, अपराधमा जोडिएका अरूलाई पनि त्यही मुद्दामा अनुसन्धान हुन्छ ।’ उनीहरूले सुराकीसँग मिलेर कारोबारीलाई भगाएको आरोप छ । यही प्रकरणमा देवान पटेल, विजय पटेल, निलेश पटेल, कौशल पठेल, उमेश श्रेष्ठ, मनिष मल्लिक र सन्दीप गुरुङ नै पक्राउ परिसकेका थिए । घटनापछि महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहाल पनि प्रहरी प्रशिक्षण प्रतिष्ठानमा तानिएका छन् ।

मुख्य अभियुक्त फरार

सुन्धाराबाट गायब भएको बा६च ५५१९ स्कोर्पियो गाडी दुई दिनपछि ललितपुरको नखिपोटमा बरामद भएको छ । गाडी धनी भनिएका बाराका इल्ताफ हुसेन अन्सारी फरार छन् । छानविन समितिको प्रारम्भिक निष्कर्ष अनुसार सुन प्रकरणका मुख्य नाइके इल्ताफ हुसेन अन्सारी नै हुन् । संलग्न अन्य व्यक्ति भने पक्राउ परेका छन् ।

इल्ताफ यसअघि नक्कली भारतीय नोट कारोबारमा जेल परेका व्यक्ति हुन् । प्रहरी अनुसन्धान अनुसार उनी नक्कली नोट कारोबार गिरोहका नाइके भनिएका युनिस अन्सारी समूहका सदस्य पनि हुन् । उनलाई २०६७ जेठ २६ गते ललितपुर जिल्ला अदालतले नक्कली भारु कारोबारमा दोषी ठहर गर्दै कैद र जरिवाना सुनाएको थियो ।

उनी जेलबाट छुटेपछि सुन तस्करीलगायत अवैध धन्दामा लागेको प्रहरीको निष्कर्ष छ । उनी भारतीय प्रहरीको पनि ‘मोस्ट वान्डेट’ सूचीमा छन् ।भारतीय सञ्चारमाध्यममा बेला बेलामा आउने गरेको समाचारअनुसार भारतको राजस्थानमा नक्कली दिएर ठगी गर्ने प्रवृत्ति बढ्दै गएको छ । सोही अनुरूप नक्कली सुन बनाई भारततर्फ लैजाने तयारी रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

तस्करी गर्न अपार्टमेन्ट नै भाडामा

छानविन समितिका एक सदस्यका अनुसार इल्ताफ हुसेन अन्सारीको समूहले तस्करी गर्न ६ महिनायता काठमाडौंको कमलपोखरीमा एउटा अपर्टमेन्ट नै भाडामा लिएको खुलेको छ ।ती अधिकारी भन्छन्, ‘ठग समूहले कमलपोखरी अपार्टमेन्ट–२ बी, मासिक १ लाख रुपैयाँ भाडा तिर्ने गरी लिएको अनुसन्धानबाट देखिएको छ ।’ उनका अनुसार, अपार्टमेन्टको भाडा भारतीय सुन कारोबारी निलेश सखियाले ६० प्रतिशत र सञ्जयले ४० प्रतिशत तिर्दै आएका । ठग भारतीय समूह सुनको घटना बाहिरिनुभन्दा ठीक १२ दिनअघि मात्र नेपाल आएका थिए ।

जलपको ज्याला नपाउँदा बाहिरियो घटना

सुरुमा भारतीय ठग समूहले काठमाडौंको न्यूरोडमा सुन चाँदी व्यवसाय गर्ने देवान पटेलसँग ५६ लाख रुपैयाँमा साढे १४ किलो चाँदी किने । त्यसमा सुनको जलप लगाउन लगाए । भारतीय नागरिक नै रहेका देवानले पनि उनीहरूले भनेबमोजिम चाँदीमा सुनको जलप लगाएर ठ्याक्कै सुन जस्तै बनाइदिए ।

सुन प्रकरण छानविन समितिका एक सदस्यका अनुसार भारतको ठग समूहले देवानलाई जलप लगाएको पैसा दिएन । पैसा नपाएपछि देवान र उनका भाइ कैशल पटेलले, प्रहरी लगाएर त्यो सामान लुट्ने योजना बनाए ।सोही योजना अनुरूप उनीहरूले चिनेजानेका प्रहरी जवान बहादुरसिंह कडायतलाई भेटेर र योजनाबारे जानकारी गराए ।

ती सदस्य भन्छन्, ‘प्रहरी जवान कडायत पनि उनीहरूको योजनामा राजी हुन्छन् र घुमुवा प्रहरी प्रशन्न श्रेष्ठ सँग कुरा गर्छन् ।’ उनीहरूको योजना अनुसार श्रेष्ठले नक्कली सुनका बारेमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई सूचना दिए । सूचनाअनुरूप दाहालले अपरेशन गरे तर विफल भयो ।

ठग समूहले काठमाडौंको डीएसपी दाहालको अपरेसन छलेर सामान कटाउन सफल भए पनि प्रशन्न र बहादुरसिंहलाई भने छल्न सकेन । अन्ततः त्यो समूहले सुन्धारामा पुगेर उनीहरूलाई झोलामा रहेको सामान दिन्छन् र उनीहरू फरार हुन्छन् । छानविन समितिका एक सदस्य भन्छन्, ‘भारतीय समूहहरू बीच नै चाँदी किन्ने र सुनको जलप लगाउने विषयमा रकमको कुरा नमिल्दा घटना बाहिरिएको हो ।’ उनका अनुसार, केही दिनमै अनुसन्धान पूरा भई घटनाको वास्तविकता बाहिरिने छ ।

प्रतिक्रिया दिनुहोस्