Logo

रामपुरका ५४ जना भोज खाँदा बिरामी

कारोबार आज, २०७७ साल साउन १४ गते बुधवार,पाल्पा – पितृप्रसाद खाएर बिरामी परेका पाल्पाको रामपुर नगरपालिका–७, मोहटी गाउँका ५४ जनालाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास आएका छन् । मंगलबार राति उनीहरु थप उपचारका लागि ६५ किलोमिटर टाढा रामपुरबाट तानसेन आएका हुन् ।रामपुर अस्पतालमा उपचारका लागि पुगेका ३७ जनालाई रिफर गरेर पठाएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा अस्पताल प्रमुख डा. विजय परियारले बताए । ‘सबैको उस्तै प्रकृतिको लक्षण देखिएको थियो,’ उनले भने, ‘घरमै बसेका अरु १७ जना डरले गर्दा पनि अस्पतालमा थप उपचारका लागि गएका हुन् ।’

मोहटीमा साउन ११ गते १३ दिनको पितृप्रसाद खाएका व्यक्ति बिरामी परेका हुन् । डा. परियारका अनुसार उनीहरुलाई झाडापखाला, ज्वरो र दिसामा रगत देखिएको छ । भोज खान गएकाहरुमा मात्रै यस्तो समस्या देखिएकाले सबै जना थप उपचारका लागि तानसेन आएका हुन् । लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलका अनुसार ज्वरो आउने, पखाला लाग्नेलगायतका समस्या भएकाले उपचारमा जोखिम रहेको छ ।

अस्पतालका अनुसार दुई जनाको अवस्था गम्भीर छ । अन्यको अवस्था सामान्य रहेको छ । मोहटीका मानबहादुर सुनारको निधन भएको र परम्पराअनुसार उम्किने दिन पितृप्रसाद खाँदा उनीहरु बिरामी परेका हुन् । पितृप्रसादमा खीर, तरकारी र अचार खाएका थिए । उनीहरुले बजारबाट किनेको पोके दूधबाट बनेको खीर, मेवाको अचार र तरकारी खाएका थिए । बिरामीको अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, प्रहरी उपरीक्षक दीपक खरेलसहित सुरक्षा निकायका प्रमुखले मंगलबार राति नै लुम्बिनी मेडिकल कलेज पुगेर जानकारी लिएका छन् । बिरामीको उपचार अवस्था र स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएको प्रजिअ न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्