Logo

राजधानीमा एक युवतीमाथि एसिड प्रहार

 

कारोबार आज, साउन ९ गते शुक्रबार, २०७७,काठमाण्डौं -राजधानीको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको हो ।  युवतीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौँको डल्लु बस्ने मोहम्मद आलम र मुन्ना मोहम्मद हुन् । मुन्ना भारतीय नागरिक हुन् । उनीहरुलाई नार्गजुन–४ सिर्जनशील टोलबाट महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरी परिसरको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुलाई शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको हो । युवतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।

कसरी घट्यो घटना ? 

४७ बर्षिय मोहम्मद आलम गार्मेन्ट कारखानाको मालिक हुन्  । उनी आफ्नो गार्मेन्ट कारखानामा संयोगले करिब एक महिना काम गर्न आइपुगेकी २२ वर्षीया युवतीलाई असाध्यै मन पराउँथे । एक महिनापछि काठमाडौँको एक पाँचतारे होटलमा काम पाएपछि युवतीले गार्मेन्टको काम छाडिन् । तर आलमले उनलाई पछ्याइरहे । दिदीसँग बाफलमा बस्ने उनको कोठामा आलम आउनेजाने गर्थे । उनका दुई दिदीले लामो सयम आलमको गार्मेन्ट कारखानामा काम गरेका थिए ।

व्यवसायी आलमले फोन र एसएमएस गरेर हैरान गरेपछि युवतीले पछिल्लो एक महिनायता सम्पर्क बन्द गरिन् । फेसबुकमा समेत ब्लक गरिन्, फोन पनि ‘कालो सुची’मा राखिन् । विहीबार नयाँ नम्बरबाट युवतीको मोबाइलमा फोन आयो । २८ औँ पटक उनले ‘इग्नोर’ गरिन् । २९ औँ कल उठाउँदा उनै पुराना साहुजी बोले ।‘आज एकपटक भेटेर कफी खाउँ नँ’ आलमले आग्रह गरे । धेरै नै आग्रह गरेपछि युवती साँझ आलमलाई भेट्न सीतापाइला चोकमा गइन् ।

मोहम्मद आलम र  युवतीबीच बिहीबार साँझ डल्लुमा भेट भयो । चोकमा कफी पिएपछि आलमले मोटरसाइकलमा डेरासम्म छाडिदिन्छु भने । युवतीले भनिन्, ‘पर्दैैन दाई, हिँडेर जान्छु ।’ आलमले कर गरेपछि उनी मोटरसाइकलमा  चढिन् । घरनजिक करिब २० मिटरको दुरीमा युवतीलाई पुर्याएर आलम फर्किए । पूर्वपरिचित आलमले युवतीलाई मोटरसाइकलमा बाफल चोकमा लगेर छाडिदिए र उनी कोठातिर लागिन् । फेरि कोठाबाट निस्केर चोकमा दही चिउरा किनेर डेरातर्फ फर्किँदै गर्दा मकैबारीमा लुकेर बसेका अपरिचित युवाले  उनलाई एसिड फ्याँके । मुख, घाँटी र कपालमा एसिडले पोल्न थाल्यो, उनी चिच्याइन् । उनी रुँदै घर गईन् , दिदीले तत्कालै उनलाई अस्पताल लगिन् ।

युवतीलाई एसिड हानेपछि उनीहरु डल्लु फर्किए । योजना सफल भएपछि मुन्नाले बोकेको मोबाइलको सिमकार्ड निकाले । आलमले आफ्नो मोबाइलको ‘कल लग’ बाट मुन्नाको नम्बर मेटाए । एसिड लगेको बोतल विष्णुमतिमा फाली डल्लु फर्केर उनीहरुले मदिरा पार्टी समेत गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए ।

आफ्नो अनुचित हर्कत अस्विकार गरेपछि आलमले योजना बनाएर एसिड छ्यापेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना घटाईसकेपछि झोला तयार गरेर बिहीबार राती नै मुन्नालाई भारत भगाउने उनको योजना रहेछ, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘ट्वाइलेट सफा गर्दा बाँकी रहेको एसिड छ्यापेको खुलेको छ । बिहीबार राती नै महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।  साधारण लेखपढ मात्र भएका २३ वर्षीय मुन्नाले आफुलाई साहुको योजना केही थाहा नपाएको’ प्रहरी समक्ष बयान दिएका छन् ।

पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न  प्रहरीलाई निर्देशन दिएको छ । सीसीटीभी फूटेजको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । डल्लुमा मोहम्मद आलमको ब्याग कारखाना छ । त्यहाँका कामदार मुन्ना भारतीय नागरिक हुन् । आफूले बहिनी भन्ने गरेको परिचित युवतीलाई बाफलमा छाडेपछि आलम मोटरसाइकल लिएर कारखानामा आए । त्यहाँबाट मुन्नालाई लिएर बाफल चोक गए । रक्सीको बोतलमा भरिएको एसिड दिँदै उनले मुन्नालाई भने, ‘त्यो केटी आएपछि मुखमा लाग्नेगरी बोत्तलले हान्नु, अनि गाडी खुलेपछि भारत जानु ।’

साहुको निर्देशन अनुसार मुन्ना बाफलको रोडमा रहेको मकैबारीमा लुकेर बसे । मकैबारी नजिकै युवती बस्थिन् । आलमले भनेको युवती आएको देखेपछि उनले एसिड फ्याँके । उनी चिच्याउन थालिन् । आलम नजिकै बसेर सो घटना नियालिरहेका थिए । एसिड फ्याकेपछि उनले मुन्नालाई लिएर कारखानामा गए । राति ११ बजेतिर हामीले आक्रमणका योजनाकार सहित दुवैलाई नियन्त्रणमा लियौं, महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) दीपक थापाले भने, ‘मुन्नाले साहुकै योजनामा एसिड हानेको स्वीकारेका छन् ।’ एसिड आक्रमणका योजनाकार आलमले पीडित आफ्नो ‘बैनी जस्ती’ भएको बताएका छन् ।

राजधानीको पाँचतारे होटलमा एकाउन्टेन्ट रहेकी युवतीले पनि ‘आलम मेरो दाइजस्तो मान्छे’ भनेकी छिन् । उनको कीर्तिपुर अस्पतालमा उपचार भईरहेको छ । आलम ती युवतीलाई मन पराउँथे, तर भन्न सक्दैनथे । अर्थात आलम ती युवतीसँग एकतर्फी प्रेममा थिए । यहीबीचमा युवतीले अर्को केटालाई मन पराएपछि आलमले एसिड हान्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

-दीपशिखा शर्मा 

प्रतिक्रिया दिनुहोस्