Logo

भारतमा विद्युत् निर्यात गर्न सहमतिको पर्खाइमा नेपाल विद्युत् प्राधिकरण

कारोबार आज,  २०७७ साल साउन ८ गते बिहिवार,काठमाडौं – भारतमा विद्युत् निर्यातका लागि यसै साता मन्त्रिपरिषद्बाट पूर्वस्वीकृति पाएको नेपाल विद्युत् प्राधिकरण अब भारत सरकारको स्वीकृतिको पर्खाइमा छ । मन्त्रिपरिषद् बैठकले सोमबार प्राधिकरणलाई भारतसहितका छिमेकी मुलुकमा विद्युत् बिक्रीका लागि पूर्वस्वीकृति दिएको थियो । विद्युत् ऐन र नेपाल विद्युत् प्राधिकरण ऐनमा छिमेकी मुलुकमा विद्युत् निर्यातका लागि सरकारको स्वीकृति आवश्यक पर्ने प्रावधान छ । यसले प्राधिकरणलाई भारतसहित बंगलादेशसँग पनि विद्युत् आयातनिर्यातको अधिकार रहन्छ ।

भारतको इनर्जी एक्सचेञ्ज मार्केटमा विद्युत् बिक्रीका लागि प्राधिकरणले आफ्नो प्रतिनिधि कम्पनी तोक्नेसहितका सबै प्रक्रिया पूरा गरिसकेको र भारत सरकारबाट एउटा कानुनको स्वीकृतिको पर्खाइ मात्रै रहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । नेपालले सन् १९७१ देखि भारतबाट विद्युत् आयात गरिरहेको छ । नेपालसँग सीमा जोडिएका भारतीय राज्य बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट विद्युत् आयात भइरहेको छ । केही वर्षयता नेपालले पनि उत्पादन बढी भएको समयमा बिहारलाई विद्युत् दिँदै आएको छ ।

गत अक्टोबरमा भारतमा भएको दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा भारतले आफ्नो इनर्जी एक्सचेञ्ज मार्केटमा प्राधिकरणलाई विद्युत् बिक्रीका लागि पहुँच दिने सहमति जनाएको थियो । उक्त बैठकमा एक महिनाभित्रै प्राधिकरणले भारतीय बजारमा विद्युत् बिक्री गर्न सक्ने गरी काम गर्ने प्रतिबद्धता भए पनि कोभिड–१९ महामारीलगायत कारण ढिलाइ भएको हो ।

प्राधिकरणलाई आफ्नो बजारमा विद्युत् बिक्रीको पहुँच दिन भारतको सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटी (सीईए) ले कन्डक्ट अफ बिजनेस रुल (सीबीआर) तयार पारेको छ । सीईएले तयार पारेको यो कार्यविधि भारतको विद्युत् मन्त्रालयबाट स्वीकृत भएलगत्तै प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज बजारमा पहुँच पाउने बिज्ञहरुको दावी रहेको छ । कोभिड–१९ महामारीका कारण लकडाउन हुँदा नै नेपाल, भारत, भुटान र बंगलादेशका ऊर्जा सचिवहरूबीच भएको भर्चुअल बैठकमा ऊर्जा सचिव दिनेश घिमिरेले भारतीय समकक्षीलाई सीबीआर चाँडै स्वीकृत गर्न आग्रह गरेका थिए ।

भारतको डे अहेड मार्केटमा विद्युत् बिक्रीका लागि प्राधिकरणले भारतीय कम्पनी एनभीभीएन लिमिटेडसँग गत वर्ष नै सम्झौता गरिसकेको छ । उक्त कम्पनीले भारतीय बजारमा प्राधिकरणको प्रतिनिधि भर्ई विद्युत् बिक्री गर्नेछ । डे अहेड मार्केटमा विद्युत् बिक्रीका लागि एक दिनअघि नै आफूले दिन सक्ने विद्युत् परिमाण र मूल्यसहित प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

भारतीय बजारमा तत्काल पहुँच पाए अहिले नै दैनिक विभिन्न समयमा एक सयदेखि डेढ सय मेगावाट विद्युत् निर्यात गर्न सकिनेछ  । उनका अनुसार आगामी एक वर्षमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित निर्माणाधीन आयोजना पूरा हुँदा राष्ट्रिय प्रणालीमा एक हजार मेगावाट विद्युत् थपिनेछ ।

प्रतिक्रिया दिनुहोस्