Logo

लकडाउन अवधिमा उध्योग क्षेत्रमा ८ खर्ब नोक्सानी, पाँच लाखको जनताले रोजगारी गुमाए

कारोबार आज, श्रावण ६ गते मंगलवार, २०७७ ,काठमाडौँ– सरकारले काेराेना भाइरसकाे राेकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि गरेकाे लकडाउन चार महिनापछि अन्त्य भएकाे घोषणा गरेकाे छ । मंगलबार रातिदेखि लागु हुने गरी सरकारले लकडाउन अन्त्य गरेकाे हाे। सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै आगामी भदौ १ गते आन्तरिक तथा बाह्य उडान खुला गर्ने निर्णय गरेकाे छ।

लकडाउन अवधिमा औध्योगिक ,पर्यटन, यातायात, होटल व्यवसाय, निर्माण, उड्डयन लगायतका कैयाैँ क्षेत्रहरु प्रभावित भएका छन् । कोरोना भाइरसले यी विभिन्न क्षेत्रमा दीर्घकालीन असर पार्ने व्यवसायीहरुको भनाई रहेको छ । यसैबीच विज्ञहरुले कोरोना महामारीबीच लकडाउनका कारण व्यहाेर्नु परेको आर्थिक क्षतिको लेखाजाेखा गर्न सुरु गरेका छन्।

नेपाल उध्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गाेल्छाले बन्दाबन्दी अवधिमा उध्योग क्षेत्रमा करिब ८ खर्बको नोक्सानी भएको बताए। आर्थिक क्षतिसँगै लकडाउनकाे अवधिमा झण्डै पाँच लाख कामदार विस्थापित भएको उनकाे भनाइ छ।

‘लकडाउनका बेला ५ लाख कर्मचारी विस्थापित भए। १० लाख कर्मचारीहरुले कम तलबमा काम गरेका छन् , ‘सरकारले पूर्णरुपमा लकडाउन खोल्ने निर्णय गरेसँगै व्यापारमा पनि सुधार आउनुका सार्थ कर्मचारीहरुलाई पनि राहत हुने उनको भनाई छ । ’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले लकडाउनका कारणले निर्माण क्षेत्रमा करिब ६५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको बताए। बन्दाबन्दीले निर्माणधिन अवस्थामा रहेका साना तथा ठूला गरी पाँच हजार आयोजनाहरुलाई असर गरेको उनले जानकारी दिए। उनले भने, ‘पाँच हजार आयोजनाहरु मध्ये केही आयोजना अहिले पूरा भइसकेका हुन्थे भने केही निर्माणको अवस्थामा नै हुन्थे। तर अब विकास निमार्णका कार्यलाई निरन्तरता दिन समय लाग्छ।’

उनका अनुसार मंसिरपछि मात्र सहज रुपमा विकास निर्माणका कार्य गर्न मिल्छ। ‘मंसिरपछि मात्रै सहज रुपमा निर्माणका कार्य अगाडि बढाउन सकिन्छ’, उनले भने, ‘ अहिले बर्खा भरी काम हुँदैन। केही काम असोजबाट सुरु हुन्छ भने सहज रुपमा मंसिरबाट नै हुन्छ।’उनले कोभिड–१९ सँगै विकास निर्माणका कामहरु सञ्चालन गर्दै जानुपर्ने र यसले कामहरु पछाडि धकेलिएको बताए। जसले गर्दा निर्माण क्षेत्रमा संलग्न करिब १५ लाख श्रमिकको रोजगारी प्रभावित भएका उनले बताए। वार्षिक ८ खर्बको विकास निर्माण हुने भएपनि बन्दाबन्दीले गर्दा करिब ४ खर्बको मात्र काम भएको जानकारी दिए। ‘वार्षिक हाम्रो ८ खर्बको निर्माण काम हुन्थ्यो’, उनले भने, ‘तर यसवर्ष करिब सरकारी तथा निजी गरी करिब ४ अर्ब रुपैयाँ बराबरको काम भएको छ।’

निर्माण व्यवसायीहरुले तीन सय ४१ अर्ब बैंकको ऋण तिर्न बाँकी रहेको व्यवसायीहरुको भनाइ छ। यसैगरी निर्माण सम्बन्धी कच्चा पदार्थको पनि अभाव को कारण अहिले सप्लाइको मेसो नै बिग्रिएको छ। विदेशबाट पनि वस्तुहरु आयात हुन छाडेको छ। आन्तरिक रुपमा पनि अवस्था त्यस्तै छ ।

यस्तै ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदीले सरकारले कोरोना कहरबाट बचाउनका लागि गरेको बन्दाबन्दीले पर्यटन क्षेत्र नै ध्वस्त भएको बताएका छन्। उनले यस बन्दाबन्दीले ट्रेकिङ क्षेत्रमा करिब १५ अर्बको नोक्सानी हुनुका साथै साढे तीन लाखले रोजगारीबाट विस्थापित हुनु परेको पनि जानकारी दिए।

उनले अन्तर्राष्ट्रिय उडान सञ्चालनमा नआएसम्म पर्यटन क्षेत्र उभो नलाग्ने बताएका छन्। ‘जबसम्म अन्तर्राष्ट्रिय उडाउन सञ्चालनमा आउँदैनन् तबसम्म पर्यटन व्यवसाय उभो लाग्दैन’, उनले भने। लकडाउनका कारण व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेकाे उनको ठहर छ । ‘अहिले हाम्रो संघमा १९ सय ९० व्यवसायी आवद्ध छन्। यी मध्येबाट पनि कति त विस्थापित हुन लागिसकेका छन्’, उनले भने।

बन्दाबन्दीले प्रभावित भएको अर्को क्षेत्र हो होटल व्यवसाय। उक्त क्षेत्रले कोभिड–१९ का कारणले निकै नोक्सानी बेर्होनु परेको होटल एशोसियशन अफ नेपालका अध्यक्ष सिर्जना राणाले बताइन्। ‘केही होटल विदेशबाट उद्धार गरिएका नेपालीहरुका लागि क्वारेन्टिन र होल्डिङ सेन्टर बनाएर राखिए पनि अन्य होटलहरु भने बन्द अवस्थामा नै छन् , जसका कारणले लकडाउन अवधिमा धेरै नोक्सान भयो।’

लकडाउनका कारण कारोबारमा आएको गिरावटको असर दीर्घकालिन रुपमा रहने उनको भनाइ छ। उनले भनिन्, ‘हामी होटल व्यवसायीहरु २०२० को डिसेम्बरसम्मका लागि व्यापार हुँदैन भन्ने कुरामा तयार भइसकेको छौँ।’ विदेशी पर्यटक नआएसम्म होटल व्यवसाय उभो नलाग्ने उनले बताइन्। ‘हाम्रो व्यवसाय अनतर्राष्ट्रिय उडानमा नै भर पर्छ ,उडान सुचारु भएपनि कोभिड–१९ बाट बच्ने विभिन्न मापदण्डको पालना गर्दै पर्यटक ल्याउनु पर्ने हुन्छ।’

चार महिनाभन्दा लामो समयदेखि बन्द रहेको आन्तरिक तथा बाह्य हवाई उडान भदौ १ गतेदेखि खुला गर्ने सरकारले निर्णय गरेको छ।नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले बन्दाबन्दी अवधिमा करिब ४ अर्ब रुपैयाँ नोक्सानी भएको बताइन्। उनले सरकारले सबै उडान सञ्चालनमा ल्याउने निर्णयसँगै विभिन्न देशहरुले तोकेको मापदण्ड अनुसार नै उडान भर्ने बताइन्। ‘सरकारले अन्तर्राष्ट्रिय उडान भर्ने निर्णय गरेको छ र हामीले उडान गर्ने देशको कोरोना सम्बन्धी मापदण्ड हेरेर उडान गर्नुपर्छ’, उनको भनाई थियो ।

यातायात व्यवसायीहरुले पनि साउन ८ गतेदेखि स्थानीय, छोटो, मध्यम र लामो गरी चारै रुटमा यातायात सञ्चालन गर्ने निर्णय गरेका छन्। तैपनि सरकारले भने भदाै १ गतेबाट मात्रै लामाे दूरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेकाे छ। बन्दाबन्दी अवस्थामा सार्वजनिक यातायात सञ्चालन नहुँदा व्यवसायीहरुलेअर्बौंको क्षति व्यहाेरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए। उनले कोरोना महामारीले दीर्घकालिन असर पारेको बताए। ‘फाट्टफुट्ट सञ्चालनमा आएका सवारीसाधन घाटामा नै चलिरहेका छन्’, उनले भने। लकडाउनले चालक, सहचालक लगायत करीब १० लाख मजदूरहरू मारमा परेको कर्माचार्यको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्