Logo

संसदीय समितिद्दारा कोरोनाको बाहानामा पत्रकार निकाल्ने सञ्‍चारगृहमाथि कारबाही गर्न निर्देशन

कारोबार आज, श्रावण ६ गते मंगलवार, २०७७ ,काठमाडौँ– संसदको विकास तथा प्रविधि समितिले कोभिड – १९ का कारण श्रमजीवी ऐन विपरित श्रमजिवी कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कानून अनुसार कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ। मंगलबार सूचना तथा सञ्चार प्रविधि मन्त्री, पत्रकार महासंघ, मिडिया सोसाइटी, ब्रोडकास्टर्स एसोसियसन, अकोराब, न्यूनतम पारिश्रमिक निर्धारण समितिसँगको छलफलपछि कोरोनाको बाहाना बनाउँदै पत्रकार निकाल्ने, तलब नदिने सञ्चार माध्यमलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको हो।

कोरोना महामारीले सिर्जना गरेको सुरक्षाको असहज र जोखिमयुक्त अवस्थामा अहोरात्र खटेर सूचना प्रवाह गर्ने श्रमजीवी पत्रकार र कार्यरत कर्मचारीलाई जवरजस्ती रोजगारीबाट हटाउने सञ्चारगृहलाई कारवाही गर्न विकास तथा प्रविधि समितिले निर्देशन दिएको हो।  समिति सभापति कल्याणी कुमारी खड्काले बेतलबी विदामा राख्ने, तोकिएको पारिश्रमिक नदिने, सेवा सुविधा कटौती गर्नै, करार सम्झौता भंग गर्ने सञ्चारगृहलाई कारवाही गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको बताइन्।

समितिले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ,‘श्रमजिवी पत्रकार र सञ्चार गृहमा कार्यरत कर्मचारीहरुलाई जबजस्ती रोजगारीबाट हटाउने, बेतलबी बिदामा राख्ने, तोकिएको पारिश्रमिक नदिने, सेवा सुविधा कटौती गर्ने र करार सम्झौता भंग गर्ने जस्ता श्रमजिवी पत्रकार सम्बन्धी ऐन २०५१ विपरितका कार्यहरु हुन नदिन र भएको पाइएमा कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउन समिति नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन गर्दछ।’

कोरोना भाइरसका कारण आम्दानीमा असर परेको बताउँदै ठूला सञ्चारगृह नै पत्रकारहरुलाई निकाल्ने तबल नदिने जस्ता काम गरिरहेका छन्। त्यस्तै समितिले कोभिडका कारण सञ्चार क्षेत्रमा परेको असरबारे विस्तृत अध्ययन गर्न पनि आग्रह गरेको छ। महामारीका बेला सूचना प्रवाहमा पुर्याएको योगदानको मूल्यांकन गरी सहुलिय र राहत दिन पनि समितिले निर्देशन दिएको छ।

‘कोभिड–१९’ को प्रभावका बीच प्रकाशन प्रशारणलाई निरन्तरता दिई सूचना प्रवाहमा पुर्याएको योगदानको आधारमा त्यस्ता सञ्चार गृहलाई सहुलियत, राहत र सुरक्षाको प्रबन्ध मिलाउन समिति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन गर्दछ, समितिमा निर्देशनमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्