Logo

सहयोग गर्न धन होइन मन चाहिने रहेछ

 – रमेश बुढाथोकी 
विगत लामो समयदेखि युएइ को शार्झामा अलपत्र झैँ पर्नुभएका झापाका रमेश बुढाथोकी भिन्न मिडिया मार्फत आफ्ना पिडा राख्दै आफू हरूलाई खान बस्न देखि नेपाल फर्कने वातावरण बनाइदिन हारगुहार गर्दै आफ्ना पिडाहरू लेख्दै अनि सामाजिक सञ्जाल मार्फत व्यक्त गर्दै आउनुभएको थियो । लगभग १० महिना खाना बस्न अनि काम बिना विभिन्न सहयोगी संस्था तथा एनआरएन युएइ लगायत नेपाली राजदूतावास अबुधावि लगायतले खाने बस्ने व्यवस्था गरेर नेपालको म्यानपावरले टिकट उपलब्ध गराएर लगभग एक महिना अघिमात्र नेपाल सरकारको उद्धार फ्लाइट मार्फत नेपाल आएका थिए । नेपाल आएर पनि एयरपोर्टदेखि स्थानीय क्वारेन्टिनसम्म जाँदाको पिडा र बाटोमा गरिने ब्यवाहारको बारेमा पनि धेरै बिचारहरू रमेशले व्यक्त गरेका थिए भने क्वारेन्टिनमा रहँदाको अनुभव त्यहाँ गरिने व्यवहार पनि जस्ताको तस्तै उतारेका थिए ।

आफ्नो व्यवहारको तनाव अनि उनै रमेशसँग आश्रित परिवारको अवस्थाको तनाव र राम्रो कमाएर विदेशबाट सबै मिलाउछु भनेर गएको दिनदेखिको अर्को तनाव न खाने न बस्ने तनावै तनाव बिच पनि नेपाल आउन सफल उनी आफ्नो १४ दिनको क्वरेन्टिनको बसाइ सकेर आफ्नो घरमा बाँकी १४ दिनको लागि गएर हिजो मात्र १४ दिन को होम क्वारेन्टिन सकेर उनी आफू बसेको स्थानीय क्वारेन्टिन झापाको अर्जुनधारा नगरपालिका शनिश्चरे मा.बि. मा आफूसँगै क्वारेन्टिन बस्ने श्रेया गजमेरसँग पुगे र त्यहाँ रहेका ७२ जना लाई फलफूल वितरण गरेका छन् ।

श्रेया गजमेर पनि आफन्त भेट्न भारत गएकी तर अचानकको लकडाउनले उतै रोकिएर ३ महिना पश्चात् नेपाल आएकी थिइन ।रमेश र श्रेयाको त्यही क्वारेन्टिनमा नै भेट भएर सामान्य चिनजान भएको थियो र त्यसै बेलादेखि क्वारेन्टिनमा फलफूलको अभाव देखेर हामीले कुनै दिन वितरण गर्ने भनेर प्रतिबद्धता व्यक्त गरेर १५ दिन पहिले एकैदिन रिपोर्ट नेगेटिभ आएर उनीहरू होम क्वारेन्टिन गएका थिए । उनीहरू भन्छन् हामी भोको रहँदा कसैले खुवायो अब आज हामी आफ्नो ठाउँमा छौ सकेको सहयोग गरौँ धन धेरै नभएपनि मन त छ नि हामीसँग । सम्भव त क्वारेन्टिनबाट निस्केर पुन आफ्नै क्वारेन्टिनमा फलफूल वितरण गर्न गएको र वितरण गरेको नेपालमा नै पहिलोपटक होला र यस्ता हौसलापूर्ण कामहरू नेपालभरी भए क्वारेन्टिनमा बस्नेलाई अझ हौसला मिल्ने र सकारात्मक सोच बढ्न सक्छ भन्छिन् श्रेया गजमेर । साँच्चै नै देशै भर यस्तै माहौल बने आत्मीयता भाइचारा अनि सकारात्मक परिवर्तन आउन समय लाग्ने थिएन होला ।

प्रकाशित मिति ,२०७७ साल, श्रावण ४गते, आइतवार

प्रतिक्रिया दिनुहोस्