Logo

अयोध्याबारे टिप्पणी गर्दा विवादमा तानिए ओली

कारोबार आज,  २०७७ साल असार ३० गते , मंगलवार ,काठमाण्डौं – भानु जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि भारतमा नभई नेपालमै रहेको दावी गरेपछि नेपालमा मात्र नभएर भारतमा पनि यसको तिब्र आलोचना भएको छ । केहि समय अघिमात्र बेसारको प्रसंगमा विवादमा रहेका प्रधानमन्त्री ओली यसपटक भने पौराणिक प्रसंगको कारण विवादमा रहेका हुन् । अयोध्या खासमा नेपालमा नै भएको र राम नेपाली भएको अभिव्यक्ति दिएपछि भारत सरकारको नेतृत्व सम्हालेको दल भाजपाले पनि यसको कडा निन्दा गरेको छ ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठान ले भानु जयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ, मिचिएका छौँ, तथ्यहरुमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ, हामीले भारतका राजकुमार रामलाई सीता दियौँ । तर, भारतलाई होइन, अयोध्यालाई दियौँ । अयोध्या भनेको वीरगन्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो ।’

स्मरणीय छ, दुई वर्षअघि जनकपुरमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीका साथ संयुक्त रुपमा जनकपुर/अयोध्या मैत्रीबस उद्घाटन गरेका थिए । त्यतिबेला दुवै नेताले ‘रामायण सर्किट’ अघि बढाउने प्रतिवद्धता पनि जनाएका थिए । त्यतिबेला ओलीले मोदीका साथ उद्घाटन गरेको बस पर्साको ठोरी छेउमा रहेको अयोध्याका लागि थिएन । त्यो बस जनकपुरदेखि भारतको उत्तर प्रदेशस्थित अयोध्याका लागि थियो । दुई वर्षमै ओलीले राम जन्मभूमिबारे यति फरक अभिव्यक्ति किन दिए भन्नेबारे प्रश्न उठ्नु स्वाभाविक हो ।

अयोध्याबारे भारतमै विवाद

राम जन्मभूमि अयोध्याबारे भारतमै व्यापक विरोध छ । लामो समय अयोध्याको विवादित क्षेत्रमाथि अदालतले सुनुवाई गरेको छ । मुस्लिमहरुको प्रख्यात बाबरी मस्जिद र हिन्दूहरुको राम मन्दिरबारे लामो समय विवाद चल्यो । अदालतले तथ्य र प्रमाणको आधारमा भन्दा पनि बहुसंख्यकवादका आधारमा विवादास्पद भूमिको स्वामित्व विवाद सुल्झाएको भारतकै विज्ञहरुले बताउँदै आएका छन् । गत नोभेम्बरमा बीबीसी हिन्दीले प्रकाशित गरेको एक रिपोर्टअनुसार अयोध्या विवादमा सर्वोच्च अदालतले आफ्नो फैसलामा एक खास रिपोर्टलाई उल्लेख गरेको छ, जसमा बाबरी मस्जिदको तल कुनै हिन्दू मन्दिर थिएन भनिएको छ । प्रोफेसर सुरज भान, अतहर अली, आरएस शर्मार डिएन झाले ऐतिहासिक पुरातात्विक प्रमाणको अध्ययन, अनुसन्धान गरेर आफ्नो रिपोर्ट तयार पारेका थिए, जसमा बाबरी मस्जिदको तल हिन्दू मन्दिर छ भन्ने दावीलाई खारेज गरिएको थियो ।

भारतको सर्वोच्च अदालतले उक्त भूमिको विवादबारे फैसला सुनाएपछि भारतका चर्चित इतिहासकार प्रोफेसर डिएन झाले प्रतिक्रिया दिँदै ‘हिन्दूहरुको आस्थालाई महत्व दिइएको’ बताएका थिए । ‘दोषपूर्ण पुरातत्व विज्ञानलाई फैसलाको आधार बनाइएको छ,’ अदालतको फैसलाप्रति असहमति राख्दै उनले भनेका थिए । भारतीय पुरातत्व सर्वेक्षणले समेत सन्देहास्पद भूमिका निर्वाह गरेको प्रोफेसर झाको भनाइ थियो । ‘विध्वंस अघि हामीलाई प्राचीन वस्तुको जाँचका लागि त्यहाँ लगिएको बेला एउटा ट्रेन्चको साइट नोटबुक नै दिइएन, त्यसमा निकै महत्वपूर्ण प्रमाण थिए,’ भारतीय पुरातत्व सर्वेक्षणको भूमिकामा प्रश्न गर्दै उनले भने, ‘प्रष्ट रुपमा भन्नुपर्दा यो प्रमाणहरु दबाउने प्रयास थियो ।’ बाबरी मस्जिद विध्वंशपछि पुरातत्व सर्वेक्षणको टोलीले उत्खनन् गर्दा पनि पूर्वाग्रही मानसिकताका साथ काम गरेको उनको आरोप छ । ‘उनीहरुले ती प्रमाणलाई दबाए, जसले मन्दिरको ईतिहासलाई काट्दथे, तर कुनै ठाउँमा उत्खनन् गर्दा वैज्ञानिक मूल्य, मान्यतालाई हेरियोस् भन्ने हुन्छ, अयोध्याको मामिलामा त्यो भएन ।’

प्रकाशित मिति :२०७७ असार ३०गते, मंगलवार 

प्रतिक्रिया दिनुहोस्