Logo

भाषा बिगार्नेलाई नै भाषा शाखाको जिम्मेवारी दिन चलखेल,भाषाविद्हरू भन्छन् : भाषामाथि पुनः जघन्य अपराध हुँदैछ

स्तावेज ,असोज १५ गते सोमबार, २०७५, काठमाडौँ – २०६९ सालमा नेपाली भाषाको वर्ण विन्यास बिगार्नेखेलमा महत्वपूर्ण भूमिका खेलेका एक कर्मचारीलाई पुन पाठ्यक्रम विकास केन्द्रको भाषा शाखाको जिम्मेवारी दिन चलखेल शुरु भएको छ । कक्षा १ देखि १० सम्म नेपाली भाषा माध्यमका पाठ्यपुस्तकमा ‘वर्ण विन्यास’ परिवर्तन गर्ने नाममा २०६९ साउनमा कर्मचारीको टिप्पणी फाइलका भरमा पहिलाका वर्ण विन्यास परिवर्तन गरिएको थियो  तर पछि भाषाविद्हरूले यसमा चर्को विरोध गरेपछि शिक्षा मन्त्रालयले सो गल्ती सच्याउन बाध्य भएको थियो ।

पाठ्यक्रम विकास केन्द्रमा रहँदा सो वर्णविन्यास परिवर्तनका लागि नेतृत्वदायि भूमिका खेलेका उपसचिव गणेश भट्टराईलाई पुनः केन्द्रमै भाषा शाखाको जिम्मेवारी दिन शिक्षा मन्त्रालय हात धोएर लागेको छ । केन्द्रमा भाषा शाखाकै जिम्मेवारीमा रहेका बेला भट्टराईले तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्मालाई झुक्याएर वर्णविन्यास परिवर्तनको निर्णय राउन सफल भएपनि नेपाली भाषाको मानक निकाय नेपाल प्रज्ञा प्रतिष्ठान र त्रिभुवन विश्वविध्यालयको नेपाली विभाग र भाषा बचाऊ आन्दोलन समितिहरुले तुरुन्तै सच्याउन माग गर्दै विरोध गरेपछि शिक्षा मन्त्रालयले पुनः पुरानै वर्णविन्यास प्रयोग गर्ने निर्णय गरेको थियो । यसको विरोधमा शिक्षा पत्रकार समूहले वृहत अन्तर्कृया नै आयोजना गरेको थियो । तर, यो निर्णय भएको डेढ वर्ष बितिसक्दा पनि विध्यालयहरुमा ‘विध्यालय ’, ‘फुल,’ ‘तिन’लगायतका शब्दहरू सच्याउन पाठ्यक्रम विकास केन्द्रबाट ‘संशोधित गरिएको’ भनेर पाठ्यपुस्तकमा कुनै सूची वा निर्देशन पठाइएको पाइँदैन ।

लागू गरिएका नयाँ खाले वर्णविन्यास एकातिर पाठ्यपुस्तकमा रहिरहेका छन् भने अर्कोतिर त्यो वर्णविन्यास गलत थियो भनेर शिक्षा मन्त्रालय आफ्नै निर्णयबाट पछाडि फर्किसकेको अवस्था छ । तर, यस्तो अवस्थामा मन्त्रालय पुन नेपाली भाषा बिगार्ने उनै भट्टराईलाई पुन केन्द्रको भाषा शाखाको जिम्मेवारी दिन लागी परेको छ ।  उता, भाषाविद्हरूले भने भट्टराईलाई पुनः पाठ्यक्रम विकास केन्द्रमा भाषा शाखाको जिम्मेवारी दिए पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका महासचिव एवं त्रिभुवन विश्वविध्यालयका नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतम शिक्षा मन्त्रालयले पहिले भाषा बिगार्न भूमिका खेलेका कर्मचारीलाई पुनः पाठ्यक्रम विकास केन्द्रमा लग्ने तयारी गरी भाषामाथि जघन्य अपराध गर्न खोजिरहेको बताउँछन् ।

मन्त्रालयसँगको सम्झौता अनुसार तत्काल १ देखि ५ कक्षाका पाठ्यपुस्तक सच्याउने भनिएपनि कतिपय त्रुटिहरू यथावत रहेको भन्दै गौतमले यदि मन्त्रालयले भाषा बिगार्न भूमिका खेलेका पुरानै कर्मचारी पाठ्क्रम विकास केन्द्रमा लगे मन्त्रालयले फेरी ठूलो पराजय भोग्नुपर्ने चेतावनी दिए । भट्टराईलाई पाठ्यक्रम विकास केन्द्रमा लगे त्यो नेपाली भाषाका लागि मन्दविष बन्ने गौतम दाबी गर्छन् । मन्त्रालयको भाषामाथिको त्यो षड्यन्त्र कुनै हालतमा लागु हुन नदिने डा. गौतमले जिकिर गरे । उता, रत्नराज्यलक्ष्मी क्याम्पसकी सहायक प्राध्यापक डा. गीता त्रिपाठी पनि नेपाली भाषामाथिको कुनैपनि षड्यन्त्र आफूहरूलाई मान्य नहुने बताउँछिन् ।

चौँथो पटक केन्द्रमा ल्याउने तयारी

उपसचिव भट्टराई शुरुमा २०५६ सालमा केन्द्रमा आएका थिए । त्यतिबेलापनि एउटा अख्तियार काण्डमा फसेपछि उनलाई मन्त्रालयले मुद्रण विभागमा सरुवा गरेको थियो । उनी मुद्रण विभागबाट पाठ्यक्रम अधिकृत दरबन्दी सहित पुन केन्द्रमा आएका थिए । पछि फेरी मन्त्रालय बसेर उनी केन्द्रमा आए । हाल भाषा आयोगमा कार्यरत उपसचिव भट्टराईलाई पाठ्यक्रम विकास केन्द्रको भाषा शाखामै ल्याउने मन्त्रालयको तयारी छ ।

सचिवको सक्रियता

उपसचिव भट्टराईलाई भाषा आयोगबाट पाठ्यक्रम विकास केन्द्रको भाषा शाखामा ल्याउन शिक्षा सचिव खगराज बराल नै स्वयम् हात धोएर लागेको शिक्षा मन्त्रालय कर्मचारी स्रोत बताउँछ । वर्णविन्यास परिवर्तनका बेला केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका खगराज बराल शिक्षा सचिवको जिम्मेवारीमा आएसँगै पुन भट्टराईलाई केन्द्रमै भाषा शाखाको जिम्मेवारी दिन लागी परेका कर्मचारी स्रोत बताउँछ । बराल र भट्टराईकै नेतृत्वमा वर्णविन्यास परिवर्तन केन्द्रमार्फत भएको थियो । त्यसो त शिक्षा मन्त्रालयले वर्णविन्यास परिवर्तन फिर्ता लिने निर्णय प्रति सचिव बरालले सार्वजनिक रूपमै असन्तुष्टि प्रकट गर्दै आएका छन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको एक कार्यक्रममा सचिव बरालले पत्रकारहरूकै अगाडि भाषालाई सजिलो पार्न वर्णविन्यास परिवर्तन गर्न खोज्दा हुन नसकेकाले नै सिकाइ उपलब्धि घटेको बताएका थिए । अहिले उनै सचिव बरालले केन्द्रको भाषा शाखामा भट्टराईलाई सरुवा गर्न खोजेका हुन् ।

भट्टराईकै लागि शाखा खाली

शिक्षा मन्त्रालयले उपसचिवहरूको सरुवा गर्दा केन्द्रमा पनि कर्मचारहिरुको सरुवा गरेको भएपनि महानिर्देशक कृष्ण काप्रीले भाषा शाखामा भने कुनैपनि कर्मचारीको पदस्थापन गरेका छैनन् । स्रोतका अनुसार महानिर्देशकले भाषा शाखामा भट्टराईलाई नै ल्याउनका लागि नै खाली राखेका हुन् । भाषाको मानक बिगार्ने अगुवालाई नै पुन भाषा शाखामा ल्याउने तयारी प्रति भाषाप्रेमीहरू भने असन्तुष्ट देखिन्छन् ।

भाषा बिगार्ने खेल

नेपाली भाषा बचाउ आन्दोलन र शिक्षा मन्त्रालयबिच शुरुमा तत्काल १ देखि ५ कक्षाका पाठ्यपुस्तक परिवर्तन गर्ने र पछि अन्य पनि सुधार गर्दै जाने सहमति भएको थियो । तर, अझैपनि ती पाठ्यपुस्तकहरूमा पुरानै वर्णविन्यास भेटिन्छन् । केन्द्रले बनाउने ५० बढी विषयका पाठ्यपुस्तकमा हरेक वर्ष २÷४ वटा त्रुटिपूर्ण शब्द प्रयोग गर्ने र केन्द्रको वेबसाइट मार्फत त्रुटि सच्याउँदै गएजस्तो देखाएर पुरानै त्रुटिपूर्ण वर्णविन्यास लाई प्रयोगमा ल्याउने खेल भएको भन्दै मन्त्रालयको यस तयारी पनि सर्वत्र आलोचना शुरु भएको छ । नेपाली भाषा बचाउ अभियानले त मन्त्रालयमा ज्ञापनपत्र नै बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्