Logo

दक्षिण सुडानको मध्यभागको विमान दुर्घटनामा कम्तिमा १९ को मृत्यु, चार यात्रुको जीवितै उद्धार

स्तावेज,भाद्र २४ गते,आईतवार,२०७५,जुबा, दक्षिण सुडान –  नेपालमा हेलिकोप्टर दुर्घटनाबाट ६ जनाको ज्यान गएको घटना सेलाउन नपाउँदै दक्षिण सुडानमा एउटा हवाईजहाज दुर्घटनामा परेको छ। दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको मृत्यु भएको उक्त क्षेत्रका एक मन्त्रीले पुष्टि गरेका छन् । 

आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले बताए । घटनामा चारजनालाई सकुशल उद्धार गरिएको अगुकले बताए । 

उनले दुर्घटनामा इरोलका पादरी सिमोन एडटको पनि निधन भएको बताए । एक इटालीका एक नागरिकसहित दुई बालबालिकालाई भने जीवितै उद्धार गरिएको छ । घटनामा परेका एक जनाको अझै परिचय खुल्न सकेको छैन । दुर्घटनाग्रस्त विमान व्यवसायिक जहाज भएको मन्त्री अबेलले बताए । मृतकमध्ये अधिकांश इरोलका नागरिक रहेका छन् । दुर्घटनापछि इरोल शहर शोकमा डुबेको छ । विमान दुर्घटनापछि इरोल शहरका पसलहरू बन्द भएका छन् । विमान अवतरण हुने समय बाक्लो हुस्सु लागेको र विमान अवतरणका लागि राम्रो अवस्था नरहेको भन्ने रिपोर्ट आफुले पाएको सूचनामन्त्रीले बताए । 

संयुक्त राष्ट्रसंघद्दारा सञ्चालित रेडियो मिरायाले आफ्नो आधिकारिक ट्वीटर पेजमा विमानको भग्नाबशेष पानीमा डुबेको तस्विर सार्वजनिक गरेको छ । दक्षिण सुडानमा भारबहन क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने कुरा सामान्य रहँदै आएको गर्दा आइतबारको दुर्घटनाको कारण पनि यस्तै भएको हुनसक्ने विश्वास गरिएको छ । 

यस पहिले सन् २०१५ मा सोभियत संघ विघटनपूर्व बनेको एन्टोनोभ नामक विमान राजधानी जुबामा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको थियो । सन् २०१७ मा विमानसँग दमकल ठक्कर खाँदा धावनमार्गमा नै दुर्घटनाग्रस्त भएको थियो । तर विमानमा यात्रारत सबै ३७ जनालाई सकुशल उद्धार गरिएको थियो ।

एएफपी

प्रतिक्रिया दिनुहोस्