Logo

टीकापुर घटनाका साक्षीसँग बकपत्र लिने क्रम जारी

स्तावेज,भाद्र २४ गते,आईतवार,२०७५, धनगढी –  झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दाका साक्षीहरुको कैलाली जिल्ला अदालतमा बकपत्र लिने काम आजबाट शुरु भएको छ । आज तीन जना साक्षीको बकपत्र लिइएको जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताउनुभयो । यो मुद्दामा ८२ जनासँग बकपत्र लिनुपर्ने र बिदाको दिनबाहेक मुद्दाको विषयमा निरन्तर काम अघि बढ्न लागेको कठायतले बताउनुभयो ।

यसअघि पहिलो पटक गएको साउन ३० गते तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश अदालतले दिएको थियो । कैलाली जिल्ला अदालतका न्यायधीश पर्शुराम भट्टराईको इजलासमा टीकापुर घटनाको मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढेको हो । अदालतमा उक्त मुद्दाको सुनुवाइ प्रक्रिया शुरु भएपछि सर्वसाधारणको चासो समेत बढेको छ ।

टीकापुरमा भएको घटनासँग सम्बन्धित मुद्दा सरकारवादी फौजदारी हो । यही भदौ ७ गते टीकापुर घटना भएको तीन वर्ष पुगेर चौथो वर्ष लागेको छ । घटनाका अभियुक्तमध्य २३ जना पुर्पक्षका लागि कैलाली कारागारमा रहेकोमा एक जना(रेशमलाल चौधरी) केन्द्रीय कारागारमा रहेका छन् । अभियुक्तका आश्रित दुई बालकलाई पोखराको बाल सुधार गृहमा राखिएको छ ।

टीकापुर घटनाका ५८ जना अभियुक्त रहेकोमा २२ जना अझै फरार रहेका छन् । थरुहट/थारुवान राज्यको माग गर्दै भएको आन्दोलनको क्रममा विसं २०७२ भदौ ७ गते भएको झडप र हिंसामा परी एक नाबालक र सात प्रहरीको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्