Logo

बाँकेमा बढ्दै जवर्जस्ती करणीका घटना

स्तावेज, भाद्र १ गते शुक्रबार, २०७५ ,बाँके- बाँके  जिल्लामा जवर्जस्ती करणीका घटनामा वृद्धि भएको छ। गत आर्थिक वर्ष बाँके जिल्ला अदालतमा करणीसम्बन्धी १०३ वटा मुद्दा दायर भएका थिए भने आर्थिक वर्ष ०७३/०७४ मा करणीसम्बन्धी ८८ मुद्दा मात्र दर्ता भएको निमित्त श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिए।

करणीका घटनामा वृद्धि भए पनि जवरजस्ती करणीका घटनामा भने कमी आएको छ । गत आर्थिक वर्षमा जवरजस्ती करणीका ६३ मुद्दा दायर हुँदा आर्थिक वर्ष ०७३/०७४ जवरजस्ती करणीका ६४ मुद्दा दर्ता भएका छन् ।  गत आवमा हाडनाता करणीसम्बन्धी ६ र अन्य करणीसम्बन्धी ३४ मुद्दा परेको बताउँदै श्रेस्तेदार गिरीले आव ०७३/७४ मा हाडनाता करणीका तीन र अन्य करणीसम्बन्धी २१ मुद्दा बाँके जिल्ला अदालतमा दर्ता भएको जानकारी दिए। परिवारसँगसम्बन्धीत मुद्दामा पनि वृद्धि बाँकेमा परिवारसँगसम्बन्धीत मुद्दामा पनि वृद्धि भएको छ। गत आवमा परिवारसँग जोडिएका घटनाहरू धेरै भएका छन्।

अदालतमा दायर भएका मुद्दाको संख्याका आधारमा बाँकेमा पारिवारिक विखण्डन र परिवारमा हुने कलह अदालतसम्म पुग्न थालेका छन्। आर्थिक वर्ष ०७३/०७४ मा परिवारसँग जोडिएका एक हजार ४२६ मुद्दा दर्ता भएका थियो। तर आर्थिक वर्ष ०७४/०७५ मा बढेर एक हजार ६८४ मुद्दा दायर भएको बाँके जिल्ला अदालतका निमित्त श्रेस्तेदार गिरीले जानकारी दिए। उनले अंशसम्बन्धी ७४१ र माना चामलसम्बन्धी २६६ मुद्दा दायर भएको बताए। नाता कायम ३४, बहुविवाह गरेको ३३, बालविवाह तीन, अपूताली ८, धर्मपुत्र एक, अनमेल विवाह गरेको आरोपसहितका दुई मुद्दा दायर भएको बताए।

निमित्त श्रेस्तेदार गिरीका अनुसार, बाँके जिल्ला अदालतमा लेनदेनसम्बन्धी ७९८, बहाल भराउने १८ र करारसम्बन्धी नौ मुद्दा परेका छन्। जग्गासम्बन्धी ५८०, चोरीका १०७ तथा ज्यानसम्बन्धी १५६ तथा कुटपिटका ३३ मुद्दा पनि दायर भएको उनले जानकारी दिए। कुन–कुन मुद्दा कति दायर भए ? एक वर्षको अवधिमा लागु औषधका एक सय ९०, जालसाजीसम्बन्धी तीनसय ४०, जीउ मास्ने बेच्ने (मानव बेचविखन तथा ओसार पसार) का ३० वटा मुद्दा दायर भएको बाँके जिल्ला अदालतको तथ्यांकले देखाएको छ। निमित्त श्रेस्तेदार गिरीले अपहरण तथा शरीर बन्धकका १३ मुद्दा दायर भएको बताउँदै घरेलु हिंसासम्बन्धी ६५ मुद्दा अदालतमा दायर भएको जानकारी दिए।

बैदेशिक रोजगारी, भ्रष्टाचार, राजश्व, गैँडामारी खाग विक्री, मानव अंग प्रत्यारोपण, नोटरी पब्लिक, प्रतिलिपी अधिकार, राज्य विरुद्धको अपराध, निर्वाचन, जारी, डाँका चोरी, बालश्रम शोषण सम्बन्धी मुद्दा नपरेको जिल्ला अदालत बाँकेले जनाएको छ। तर, यातना क्षतिपूर्ति, नागरिकता, धर्म परिवर्तन, बैदेशिक मुद्रा अपचलन, औषधि ऐन, वन, प्राचिन स्मारक, बालबालिका, मिलापत्र/फैसला बदर, झुठो बकपत्रसम्बन्धी मुद्दा पनि अदालतमा दर्ता भएका छन्। एक वर्षको अवधिमा यातना क्षतिपूर्तिसम्बन्धी १३ मुद्दा परेकोमा छवटा मुद्दा किनारा लागेको अदालतले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस्