Logo

जापानी छात्रले बनाए हिरोशियामा हमलाको भर्चुअल भिडियो

स्तावेज, श्रावण २३ गते बुधबार,जापान – जापानको फुकुयामा टेक्निकल हाइस्कूलका केही छात्रले ७३ वर्ष पहिले हिरोशिमामा भएको परमाणु हमलाको भर्चुअल भिडियो बनाएका छन् । पाँच मिनेटका उक्त भिडियोलाई उनीहरुले स्लोगन दिएका छन् – तस्बिरहरु हेरेपछि हाम्रो पीडा आफैं बुझ्नुहुन्छ ।’ भिडियो तयार गर्नका लागि छात्रहरुले पीडितसँग कुरा गरेर उनीहरुको पुरानो तस्बिर र भिडियो पनि प्रयोग गरे । यसलाई बनाउन दुई वर्ष लागेको बताइएको छ ।

भिडियो बनाउने समूहमा संलग्न मेई ओकादाले उनको स्कूल हिरोशिमाभन्दा करिब सय किलोमिटर टाढा भएको र उनले ७३ वर्षअघि कस्तो खालको अन्याय भएको थियो भन्ने बारे संसारलाई जानकारी दिन चाहेको बताए ।१८ वर्षका यूही नाकागवा भन्छन्, ‘हाम्रो समूहका धेरैजसो विद्यार्थी परमाणु हमलाको ५० वर्षपछि जन्मिए । प्रोजेक्टको क्रममा त्यतिबेलाका धेरै फोटो हेर्यौं । त्यसपछि हामीलाई महसुस भयो कि जे भयो, त्यो ठिक थिएन । डाटा जुटाउने बेलामा हामीले यस्ता मानिसहरुलाई भेट्यौं जो परमाणु हमलामा बचेका थिए । उनीहरुको अवस्था अहिले पनि राम्रो छैन । धेरै समस्याबाट जुधिरहेका छन् ।

पाँच मिनेटको यो भिडियोमा सन् १९४५ अगस्ट ६ तारिख बिहान हिरोशिमाको आकाशमा एउटा हवाइजहाज यात्रा गर्यो त्यसपछि एउटा चम्किलो प्रकाश देखिएलगत्तै ठूलो बिस्फोटको आवाज आयो । भवन ढले र चारैतर्फ कालो धुँवा फैलियो । आगोको लप्का निकै माथिसम्म उठेको देखियो । उक्त हमलामा एक लाख ४० हजारको मृत्यु भयो । त्यसको तीन दिनपछि नागासाकीमा दोस्रो परमाणु बम फ्याँकिएको थियो जसमा ७० हजार मारिएका थिए । दुबै हमलाको ६ दिनपछि जापानले आत्मसमर्पण गर्यो । त्यसपछि दोस्रो विश्वयुद्ध समाप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्