Logo

बजेट -२०७५, कुन महानगरले कति पाए ?

 दस्तावेज, जेष्ठ १७ गते बिहिवार ,२०७५, काठमाण्डौं – सरकारले महानगरपालिकातर्फ सबैभन्दा धेरै बजेट पोखरा लेखनाथले र सबैभन्दा थोरै बजेट विराटनगरले पाएका छन् । हाल नेपालमा ६ महानगरपालिका छन् । सरकारले प्रदेशतर्फ भने एक नम्बर प्रदेशमा सबैभन्दा धेरै र चार नम्बर प्रदेशमा सबैभन्दा कम बजेट छुट्याएको थियो ।

प्रदेश ४ को अस्थायी राजधानी कास्कीको पोखरा लेखनाथ महानगरपालिकालाई १ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ बजेट सरकारले छुट्याएको छ । त्यसमध्ये वितीय समानीकरणतर्फ ६१ करोड ४४ लाख र सशर्त अनुदानतर्फ १ अर्ब २० करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ । पोखरापछि धेरै बजेट पाउने महानगरपालिका काठमाडौं हो । आर्थिक वर्ष २०७५/७६ मा काठमाडौं महानगरपालिकालाई १ अर्ब ७८ करोड ४ लाख रुपैयाँ बजेट छुट्याइएको छ । वित्तीय समानीकरणतर्फ ६७ करोड ७२ लाख र सशर्त अनुदानतर्फ १ अर्ब १० करोड करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका धेरै बजेट पाउनेमा महागरपालिकाको तेस्रो स्थानमा छ । भरतपुरले १ अर्ब २३ करोड ९३ लाख रुपैयाँ बजेट पाएको छ । वित्तिय समानीकरणतर्फ ४६ करोड ३५ लाख र सशर्त अनुदानतर्फ ७७ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ । वीरगञ्ज महानगरपालिकाको लागि ९८ करोड ११ लाख रुपैयाँ छुट्याइएको छ । वित्तिय समानीकरणतर्फ ४३ करोड १७ लाख र सशर्त अनुदानतर्फ ५४ करोड ९४ लाख रुपैयाँ छुट्याइएको छ ।

ललितपुर महानगरपालिकालाई ८९ करोड ७८ लाख र विराटनगरलाई ७८ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।ललितपुरले वित्तिय समानीकरणतर्फ ४७ करोड ६२ लाख र सशर्त अनुदानतर्फ ४२ करोड १६ लाख रुपैयाँ तथा विराटनगर महानगरपालिकाले वित्तिय समानीकरणतर्फ ३४ करोड २४ लाख र सशर्त अनुदानतर्फ ४३ करोड ९६ लाख रुपैयाँ बजेट पाएका छन् ।

अनलाईन खबर 

 

प्रतिक्रिया दिनुहोस्